site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गर्न मिल्छ कि मिल्दैन सरकारले जवाफ दिनुपर्छ : सांसद खतिवडा
फाइल तस्बिर

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपतिले कुनै पनि पार्टीको सदस्यता नवीकरण गरेपछि पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिइरहन मिल्छ वा मिल्दैन भन्ने कुराको सरकारसँग जवाफ माग गरेका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेकाे भन्ने समाचारप्रति इंगित गर्दै पार्टी सदस्यता नवीकरणपछि पनि पूर्वराष्ट्रपतिको हैसियतमा सेवा सुविधा लिन मिल्छ वा मिल्दैन भन्नेबारे सरकारको जवाफ माग गरेका हुन् । 

Argakhachi Cement Island Ad

उनले संविधानतः पार्टी सदस्यता नवीकरण गर्न पाइन्छ कि पाइँदैन भन्नेबारेमा सरकारले संसद्लाई जवाफ दिनुपर्ने बताए । 

“पूर्वराष्ट्रपतिले एउटा कुनै पार्टीको सदस्य नवीकरण गरेको समाचार सुन्नमा आयो । पार्टीको सदस्य नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ मिल्दैन, राज्यले त्योबारे के सोचेको छ । सरकारले त्यसको जवाफ देओस् । संविधानमा के छ ? त्यो सरकारले जवाफ देओस् भनेर म माग गर्न चाहन्छु,” उनले भने । 

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न सत्तारुढ दलमा रस्साकस्सी भएको भन्दै सांसद खतिवडाले भने, “कानुनी प्रक्रिया नपुर्‍याइकन नियुक्ति गर्ने प्रक्रियाअघि बढ्यो भन्ने आएको छ । त्यसको बारेमा सरकारले जवाफ दिइयोस् ।”
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्