काठमाडौं । चेक गणतन्त्रविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै पोर्चुगलले युरो–२०२४ मा विजयी सुरुआत गरेको छ । मंगलबार राति जर्मनीको रेड बुल एरिना लाइपजिगमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन फ्रान्सिस्को कोन्सेइकाओले गोल गरे ।
पोर्चुगलले पहिलो गोल भने चेक गणतन्त्रका खेलाडीबाट आत्मघाती रूपमा पाएको थियो । चेकका लुकास प्रोभोडले गोल गरेका थिए । खेलको ६२औँ मिनेटमा प्रोभोडले गोल गर्दै चेकलाई अग्रतामा राखेका थिए । तर, चेकको यो अग्रता लामो समय टिक्न भने सकेन ।
६९औँ मिनेटमा चेकका रोबिन रानाकबाट भएको आत्मघाती गोलबाट पोर्चुगल खेलमा फर्किएको थियो । यस्तै, इन्जुरी समयमा कोन्सेइकाओले गोल गरेपछि पोर्चुगलले पहिलो खेलमा तीन अंक सुनिश्चित गरेको हो ।
प्रतियोगिताको समूह ‘एफ’ मा पहिलो खेलबाट तीन अंक जोडेको पोर्चुगल तालिकाको दोस्रो स्थानमा छ । आफ्नो पहिलो खेलमै हार बेहोरेको चेक भने तालिकाको तेस्रो स्थानमा छ । यो समूहको शीर्ष स्थानमा टर्किया र पुछारमा जर्जिया छन् । मंगलबार राति नै भएको समूहको पहिलो खेलमा जर्जियाविरुद्ध ३–१ को जित निकाल्दै टर्किया शीर्ष स्थानमा उक्लिएको हो ।