site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सीआईबीको खोजी सूचीकै चिनियाँ नागरिकबाट ६ किलो सुन र ४८ लाख बरामद

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धान थालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को खोजी सूचीमा रहेका थप एक चिनियाँ नागरिक पक्राउ परेका छन् । गए राति (असार २) काठमाडौंको बौद्धबाट उनलाई पक्राउ गरिएको हो । ती चिनियाँ नागरिकको साथबाट प्रहरीले ६ किलो सुन र ४८ लाख नेपाली रुपैयाँ बरामद गरेको छ ।

सुन प्रकरणमा जोडिएका केही आरोपित भारतबाट समेत पक्राउ परेको सीआईबीका प्रमुख एवं एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिए । उनले बाह्रखरीसित भने, “उनीहरू हाम्रो खोजीकै सूचीका व्यक्तिहरू हुन् । खोजतलास गर्दै जादा गएको राति फेला परेका हुन् ।”

उक्त सुन केही दिनअघि नेपाल भित्र्याइएको आशंका प्रहरीले गरेको छ ।

Dabur Nepal
NIC Asia

दोस्रो चरणको अनुसन्धानका क्रममा हालसम्म १० जनालाई पक्राउ गरिएको छ । तीमध्ये चार भारतीय व्यापारी समेत छन् । भारतको गुजरातका वैजनाथ महादत्त गोयल, प्रशान्त गणेश वजवलकर, भारतकै महाराष्ट्रका सिद्धार्थ भनिने सिद्धनाथ अशेक गायकवाड र सोही ठाउँका दिनेश भनिने धीरज दिनेश वैटेलाई पक्राउ गरिएको हो ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपालीमा पर्साको वीरगन्ज महानगरपालिकाका सुरेन्द्रमान श्रेष्ठ, भक्तपुरको सूर्यविनायक नगरपालिकाका राजु खत्री र काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका कान्छामान लामा छन् । एक तिब्बती नागरिकलाई समेत सीआईबीको टोलीले बौद्धबाट नियन्त्रणमा लिएको छ ।

सरकारद्वारा गठित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले दोस्रो चरणको अनुसन्धान थालेको थियो ।

गए राति पक्राउ परेका चिनियाँ नागरिक तस्करीको ‘माथिल्लो तह’का व्यक्ति रहेको एआईजी ज्ञवालीको दाबी छ । हाल सीआईबीले पक्राउ गरेका मध्ये अधिकांश लामो समयदेखि तस्करीमा लागेका व्यक्तिहरू भएको उनको भनाइ छ ।

गत वर्ष साउन २ गते सवारीसाधनको ‘ब्रेक सु’मार्फत हङकङ हुँदै नेपाल भित्र्याइएको ६० किलो सुन भन्सार पार गरेर बाहिरिँदै गर्दा सिनामंगलबाट राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो । पछि उक्त घटनाको अनुसन्धान गर्ने जिम्मेवारी सीआईबीले पाएको हो । पहिलो चरणको अनुसन्धान सकाएको सीआईबीले २९ जनालाई प्रतिवादी बनाएको थियो ।

अनुसन्धानका क्रममा सीआईबीले सोही समूहले रेडी ट्रेडसहित अरू विभिन्न ‘डमी’ कम्पनी खडा गरी ३६० किलोभन्दा बढी सुन तस्करी गरेको तथ्य खुलाएको थियो ।

पहिलो चरणमा पक्राउ परेकामाथि तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ रुपैयाँ बिगो कायम गरिएको थियो । पक्राउ गरिएकामा नौ चिनियाँ र २० नेपाली थिए । पुर्पक्षका निम्ति उनीहरूलाई जेल चलान गरिएको छ ।

तर, सीआईबीले पहिलो चरणको अनुसन्धानका क्रममा त्रुटि गरेको भन्दै जाँचबुझ आयोग गठन गरिएको थियो । पूर्वन्यायाधीश डिल्लीप्रसाद आचार्य नेतृत्वको आयोगले पाँच महिना लगाएर छानबिनको प्रतिवेदन चैत १ मा गृहमन्त्री रवि लामिछानेलाई बुझाएको थियो ।

उक्त प्रतिवेदनमा पहिलो चरणको अनुसन्धानमा त्रुटि गरेको औँल्याइएको थियो । प्रतिवेदनका आधारमा पहिलो चरणको अनुसन्धान गर्ने सीआईबीकी प्रमुख एवं एआईजी किरण बज्राचार्यसहितको टोलीलाई नै त्यहाँबाट हटाइएको थियो । त्यसपछि एआईजी ज्ञवालीलाई त्यहाँ पठाइएको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro