काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगको उपाधि सर्लाहीको वाग्मती युवा क्लबले जितेको छ ।
बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालय सम्पन्न आफ्नो अन्तिम खेलमा पुल्चोक स्पोर्टस क्लबसँग गोलरहित बराबरीमा रोकिँदा एक अंक जोडेसँगै वाग्मतीले लिगको उपाधि सुनिश्चित गरेको हो ।
यो नतिजासँगै १३ खेलमा ३० अंक जोड्दै वाग्मती च्याम्पियन बनेको हो । समान खेलबाट २२ अंक जोडेको पुल्चोकले तेस्रो स्थानमा रहँदै लिगको अन्त्य गर्यो । वाग्मती ‘सी’ डिभिजनमा उक्लिएकै वर्ष च्याम्पियन बनेको हो ।
वाग्मतीले दोस्रो स्थानको आरसी ३२ फुटबल एकेडेमीलाई ४ अंकले पछि पार्यो । आरसी ३२ ले बुधबार नै लिगको अन्तिम खेलमा सानेपा क्लबसँग ३–२ को हार बेहोरेको थियो ।
यो सिजन लिगबाट बाजुराको रानीवन स्पोर्टस क्लब र सिरहाको गोलबजार स्पोर्टस क्लब रेलिगेसनमा परे ।