काठमाडौं । मन्त्रालयगत विभिन्न शीर्षकको खर्च घटाएर एक रूपैयाँ कायम गरियोस् भनि सांसदहरूले खर्च कटौती प्रस्ताव दर्ता गराएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयको खर्च कटौती गर्नुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका हुन् ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे ।
यस्तै, स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनि प्रस्ताव दर्ता गराएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अजय कुमार चौरसियाले विनियोजन विधेयक, २०८१ अन्तर्गत सहरी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे । सोही पार्टीका सांसद राजेन्द्र कुमार केसीले रक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे ।
प्रतिपक्ष दल नेपाली कांग्रेसकै सांसद समेत रहेका पूर्वमन्त्री सुरेन्द्रराज आचार्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे । यस्तै सांसद जीवन परियारले बजेटअन्तर्गत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे ।
बुधबारको जारी बैठकमा बजेटमाथि मन्त्रालयगत छलफल भइरहेको हो । बैठकमा सहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमाथिको छलफल जारी छ ।