site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महाधिवेशनको मुखैमा छुटेका ‘कोइराला परिवार’ भित्रै राजनीति गर्दैछन् देउवा !
SkywellSkywell

काठमाडौं । शेखर कोइराला निवासमा २०७८ कात्तिक मसान्तको रातभर भलाकुसारी गरी छुटेका डा. शशांक फेरि शेखर निवास फर्किएका छैनन् । नेपाली कांग्रेसको १४औँमहाधिवेशनको पूर्वसन्ध्यामा विभाजित कोइराला परिवारका सदस्यको अझै पुनर्मिलनतिर लम्किएको देखिन्न ।

रातभर कुराकानीपछि शशांक निवासमा पत्रकार सम्मेलन गर्ने सुजातालाई समेत बोलाउने निधो भएको थियो । पत्रकार सम्मेलन निम्ति डा. शेखर पनि शशांक निवास पुगे । तर, त्यो पत्रकार सम्मेलन अनौठो तरिकाले टारियो । र, त्यो दिनपछि शेखर पनि शशांक निवास फर्किएका छैनन् । त्यही दिनपछि कोइराला परिवार महाधिवेशनमा तीनतिर फर्किएका हुन् ।

गतवर्ष भदौमा बीपी साहित्य महोत्सवमा ‘परिवारले चिनेका बीपी’ शीर्षकको अन्तरसंवादमा सहभागी हुन पार्टी कार्यालयमा एउटै मञ्चमा देखिएका थिए । 

Dabur Nepal
NIC Asia

त्यहाँबाट छुटेका शेखर र शशांक सोमबार शैलजा आचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा एउटै लहरमा देखा परे । त्यो कार्यक्रममा सुजाता पनि पुग्ने जानकारी गराइएको थियो । तर, ‘अस्वस्थ’का कारण अघिल्लो दिनमात्र अस्पतालबाट डिस्चार्ज भएकी सुजाता कार्यक्रमस्थलमा पुगिनन् ।

कोइराला निकटहरू अझै अर्कैको खेलको शिकार बनिरहेको बताउँछन् । उनीहरूको बुझाईमा, शैलजा स्मृति प्रतिष्ठानको कार्यक्रम उनीहरूको वास्तविकता सम्झाइदिने एउटा मञ्च मात्र हो ।

“नेतृ शैलजा आचार्यजीलाई स्मरण गर्दै गर्दा कोइरालाहरूलाई एउटै मञ्चमा राख्दै पारिवारिक विरासत सम्झाइदिने काम भएको छ’’, कांग्रेसका युवा नेता प्रमोदहरि गुरागाईंले भने, ‘‘उहाँहरूले त्यसलाई मनन् गर्नुहुन्छ या गर्नुहुन्न उहाँहरूकै कुरा हो ।” 

गुरागाईं थप्छन्, “व्यक्तिगत ‘इगो’ले व्यक्ति स्वयम्लाई शिकार बनाउँछ भन्ने उहाँहरूले बुझ्नुभएको छ भन्ने हाम्रो विश्वास छ ।”

कोइराला परिवारका निकटमध्येका एक सिनियर नेता कोइरालाहरूबीच सहकार्य गर्नुपर्छ भन्ने चेत नआइसकेको बताउँछन् । उनीहरूबीच एकले अर्कालाई नगन्ने जुन संस्कार देखिँदैछ, त्यसले कोइरालाहरूलाई अस्तित्वको संकटतर्फ धकेलिरहेको छ । 

“शेखर र शशांक एउटै लहरमा बसे पनि आजको कार्यक्रमले कोइरालाहरू एक भए भन्ने अवस्था बनेको होइन,” ती नेताले भने, “यसको फोटोले कथा जोड्न मिल्ला । तर, मन अझै जोडिएको छैन ।” 

शेखर र शशांक दुवैसँग उत्तिकै उठबस भएका ती नेता दुई दाजुभाइबीच खास समस्या पनि नभएको र सँगै बस्ने उदारता पनि नदेखिएको बताउँछन् । केही समयअघि मात्र डा. शशांकले बाह्रखरीसँगको कुराकानीमा १५औँ महाधिवेशनमा कोइराला परिवारबाट एकजना मात्र उम्मेदवार हुने बताएका थिए । 

शेखर कोइराला आफ्नो दाजु भएको भन्दै उनीसँग कुरा गरेर अघि बढ्ने तयारीमा आफू रहेको शशांककाे भनाइ थियो । तर, उनले शेखर निवासमा वा अन्यत्र पुगेर भेटेका छैनन् । उनीहरू औपचारिक भेटघाटमा कुरा गर्छन् । अनि सम्बन्ध चिसो या तिक्ततापूर्ण पनि छैन । तर, आत्मीय भेटघाट व संवाद पनि भएका छैनन् ।

गत वर्ष साउनको केन्द्रीय समिति बैठकपछि शशांकले केन्द्रीय समितिका सदस्यसहितलाई चियापान आयोजना गरे । लैनचौरमा आयोजित चियापानमा नपुग्ने नेता कमै मात्र भए । त्यो चियापानमा अन्तिमतिर शेखर पनि पुगे । दुई दाजुभाइबीच औपचारिक कुराकानी मात्र भएको थियो ।

शेखरनिकट नेताहरूका भनाइमा ०७८ कात्तिक मसान्तमा शेखर निवासमा देखिएको दुई कोइरालाको ‘भातृ–प्रेम’ दोहोरिएको छैन । त्यसबीचमा उनीहरूबीच ‘वाक युद्ध’ पनि चलेको छैन ।

तर, उनीहरूबीच निकट भनिएकाहरूले नै शत्रुता बढाउने प्रयास निरन्तर रहेको टिकाटिप्पणी कांग्रेस वृत्तमा सुनिन्छ । “शेखर र कोइरालाका पछि लाग्ने सीमितबाहेक साझा नेता हुन्,” कांग्रेसजनको टिप्पणी छ, “शेखरको सम्पर्क कार्यालय वा निवासबाट फर्किएपछि त्यही व्यक्ति शशांकको निवासमा आइपुग्छ र भन्छन्, शेखरलाई कसरी नेता मान्न सकिन्छ, तपाईं हो, हाम्रो नेता ।”

२०७८ मा पत्रकार सम्मेलन ‘टारेर’ छुटेका शशांक १४औँमहाधिवेशनमा देउवा टिम र शेखर टिम दुवैको केन्द्रीय सदस्य सूचीमा एक नम्बरमा थिए । उनले महाधिवेशन अवधिभर शेखरलाई भेटेनन् । कतिसम्म भने सभापतिमा उमेदवारी दर्ताको दिन अनुपम फूडल्याण्डको हलमा शेखर र शशांकको संयुक्त पत्रकार सम्मेलन  भन्दै निम्ता गरियाे । जहाँ कार्यकर्ताले भरिभराऊ थियो ।

उद्घाेषण गरिरहेका महामन्त्रीका उमेदवार डा. मीनेन्द्र रिजाल अन्तिमसम्म डा. शशांक आउने बताइरहेका थिए । तर, अन्तिममा शशांक पुगेनन्, सभापतिका उमेदवार शेरबहादुर देउवाको सचिवालयले शशांक बालुवाटार पुगेको फोटो सार्वजनिक गर्‍यो । जतिखेर देउवा प्रधानमन्त्री पनि थिए ।

त्यसरी अन्तिमसम्म शशांक आउने उद्घोष गरिहरेका डा. रिजालले सोमबार शैलजा स्मृति प्रतिष्ठानको कार्यक्रममा शेखर र शशांकलाई अगाडि राखेर भाषण गरे । तर, ती दिन सम्झन चाहेनन् ।

उता सुजाता कोइराला भने शशांक देउवा निकट हुँदै गर्दा प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा उमेदवारी दिइन् । कोइराला परिवारकै सुजाता अर्कै प्यानलमा देखिएका बेला चुनावमा गएका डा. शेखर देउवासँगको प्रतिस्पर्धामा दोस्रो भए । 

उनी देउवासँग दोस्रो चरणको प्रतिस्पर्धामा उत्रिए । दोस्रो चरणमा केही भोट बढाउन सफल भएका शेखर चुनावमा पराजित भए पनि त्यो समूहको नेता बने । आगामी १५औँमहाधिवेशनमा कोइराला परिवार विरासत जोगाउन एक हुन्छ वा हुँदैन भन्ने बहस चलिनै रहेको छ । 

१४औँ महाधिवेशनमा सभापतिमा पराजित भएपछि शेखरले भनेका थिए– भाइबहिनी मिलाउन नसक्नु मेरो कमजोरी हो । त्योसँगै उनले बीपी कोइरालाले आफ्ना बाबु केशव कोइरालालाई लेखेको पत्र समेत सार्वजनिक गरेका थिए । उक्त पत्रमा आफ्ना छोराछोरीहरूले वास्ताविकता नबुझ्ने र विग्रह हुन सक्ने भन्दै सबैलाई मिलाएर लैजान सन्देश दिइएको थियो । त्यो पत्र आफ्नो कार्यकक्षमा फ्रेमिङ गरेर राखेका शेखरले भाइ शशांक र बहिनी सुजातालाई एक बनाउन ठोस पहल गरिसकेका छैनन् ।

डा. शेखर, डा. शशांक र सुजाता तीनैजना कोइराला परिवार एक हुने र १५औँ महाधिवेशनमा एकमात्र कोइराला सभापतिको उमेदवार हुँदा बाँकीले सघाउने बताउँछन् । तर, उनीहरूको एकता कसले गराइदिन्छ भन्ने आधार देखिएको छैन ।

“मैले त सक्रियता र नेता कार्यकर्तासँगको सम्बन्धले शेखर’दा अघि बढ्नुहोस् भनी सार्वजनिक रुपमै बोलिसकेँ,” सुजाता कोइरालाले बाह्रखरीसँग भनिन्, “तर, उहाँहरू कसरी अघि बढ्ने भनी सल्लाह गरिरहनुभएको छैन । अझै मिलेर जान गृहकार्य भएको पनि मैले पाएकी छैन ।”

डा. शशांक निकटमा एक नेता भने दुवै नेतालाई सभापति देउवाले खेलाइरहेको बताउँछन् । 

“देउवाले दुवैलाई मपछिको नेतृत्व तपाईंले लिने हो भनी उकासिरहेका छन्,” ती नेताले भने, “त्यही भएर उही व्यक्ति शेखरकहाँ पुगेर शशांक नेता होइन, तपाईं अघि बढ्नुस् भन्छ, त्यही व्यक्ति शशांकसँग पुगेर शेखरलाई नेता मान्न सकिँदैन तपाईं अघि बढ्नुस् भनिरहेका छन् ।”

उनी यी सबै काम देउवाको राजनीतिक स्वार्थसँग जोडिएको विश्लेषण गर्छन् । 

“हेर्नुहोला, कोइरालाहरूलाई मिल्न नदिन देउवा सफल भए भने दुईमध्ये एक कोइरालालाई उमेदवार बनाएर कार्यसमितिको ६० प्रतिशत हिस्सा आफ्नो बनाउँछन्,’’ ती नेता भन्छन्, “दुईमध्ये एक कोइराला देउवाको समर्थनमा सभापति त बन्न सक्लान् तर, त्यसपछि पछुताउने छन् ।”

दोस्रो पुस्ताका नेताहरू पनि आ–आफ्नो दाउमा लागेको ती नेताको बुझाइ छ । महामन्त्री गगन थापा सभापतिको दौडमा लागिसकेको र अर्का महामन्त्री विश्वप्रकाश शर्माले थापालाई फर्किन नसक्नेगरी हौस्याइरहेको उनी बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu