देशमा पर्यटक आगमन कोभिड-१९ को महामारीभन्दा पहिलेकै स्तरमा पुगे पनि विश्वविख्यात पर्यटन स्थल लुम्बिनीमा भने पुग्न सकेको छैन । लुम्बिनी विकास कोषका अनुसार त त्यहाँ जाने पर्यटकको सङ्ख्या घट्दैगएको छ ।
सन् २०१९ पूर्व वार्षिक १० लाख पर्यटक गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आएका थिए । अहिले त्यहाँ पुग्ने सडकको दुरवस्थाका कारण गत वर्ष मुस्किलले ६ लाख पर्यटकमात्र लुम्बिनी भ्रमणमा गए ।
लुम्बिनी वा गौतम बुद्धप्रति विश्व समुदायमा आकर्षण घटेका कारण नेपाल आउने पर्यटक त्यहाँ नगएका पक्कै होइनन् । मूलतः नेपालका अरू प्रमुख पर्यटन स्थल काठमाडौं र पोखराबाट लुम्बिनी जाने सडकको दुरवस्थाले नै त्यहाँ पर्यटक नगएका हुन् ।
भैरहवामा ठूला विमान उडान र अवतरण हुनसक्ने गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाइए पनि चलाउन सकिएको छैन । यसैले नेपाली र भारतीयमात्र होइन अरू देशका पर्यटक पनि लुम्बिनी पुग्ने मुख्य माध्यम अहिलेसम्म सडक नै हो ।
लुम्बिनी पुग्ने सडकहरू भने वर्षौंदेखि स्तरोन्नतिका नाममा भत्काएर धराप बनाइएको छ । काठमाडौंबाट चितवन हुँदै लुम्बिनी जाने मुख्य सडक नारायणगढ-बुटवल खण्ड सम्भवतः कुव्यवस्थाको विश्वस्तरकै उदाहरण हो ।
यस्तै पोखराबाट पाल्पा हुँदै लुम्बिनी जाने सडक पनि दीर्घरोगी छ । दुर्घटनाको जोखिमका कारण ‘यमद्वार’ कहलिने सडकबाट पर्यटक लुम्बिनी जान पक्कै हौसिँदैनन् । त्यसो त काठमाडौं-पोखरा सडकको पनि स्तरोन्नतिका नाममा वर्षौंदेखि दुर्दशा भएको छ ।
काठमाडौं र पोखरा पुगेका पर्यटकलाई हवाईमार्गबाट लुम्बिनी जानआउन विशेष सहुलियत दिए पनि सम्भवतः पर्यटकको आकर्षण बढ्ने थियो । तर, नेपालमा त विदेशी पर्यटकले हवाई यात्रामा पनि बढी भाडा तिर्नुपर्ने नियम छ ।
महत्त्वपूर्ण सडकहरूसमेत भत्काएर लथालिङ्ग बनाइहाल्ने तर बनाउन हेलचेक्य्राइँ गर्ने ‘पप्पु प्रवृत्ति’ अधिकांश ठेकेदारमा छ । तर, सरकारले भने नारायणगढ-बुटवल, काठमाडौं-पोखरा र सिद्धार्थ राजमार्गमा भत्काइएको सडकको मर्मत बेलैमा गराउन खासै ध्यान र दबाब दिएको देखिँदैन ।
अहिले भत्काइएका सडकलाई यथाशीघ्र सम्पन्न गराउन ठेकेदारलाई सहजीकरण र दबाब दुवै दिन सरकार अग्रसर हुनुपर्छ भने अब ठेक्का लगाउँदा निर्माण कार्यमा ढिलाइ नहुने सुनिश्चित गर्नुपर्छ । अहिलेको नीति तथा कार्यविधिमा परिमार्जन गरेर निर्माण कार्यको ठेक्कापट्टालाई बढी प्रभावकारी बनाएमात्र सुधार हुनसक्छ ।
उदाहरणका लागि महिना दिनमा बनाइसकिने खण्डमात्र भत्काएर बनाइहाल्ने र त्यसपछि थप सडक भत्काउने गरे यात्रुले खासै कठिनाइ अनुभव गर्ने थिएनन् । यसले यात्रामा विलम्ब हुने थिएन भने पर्यटकहरू पनि तर्सिने थिएनन् ।
यसैले सरकारले पर्यटनलाई प्राथमिकता दिएकै हो भने कम्तीमा काठमाडौं आइपुगेका पर्यटकलाई पोखरा, लुम्बिनीलगायतका पर्यटक केन्द्रसम्म जानआउन सस्तो र सुविधाजनक बनाउनुपर्छ । नत्र भने ‘पप्पु’ ठेकेदारका कमिसनमा सत्ताधारीहरू रमाइरहुन्जेल लुम्बिनीमा जस्तै पर्यटक आगमन अन्यत्र पनि घट्दै जानेछ ।