site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
नवीन सुब्बाको साख नजोगाउने सिनेमा

काठमाडौं । सानो मान्छे (सन्दर्भअनुसार कमजोर आर्थिक अवस्था)को सपना पनि अक्सर सानै हुन्छ । तर, त्यही सानो सपना भेट्टाउन कति कठिन हुन्छ ? यही प्रश्नको जवाफ दिने चलचित्र हो, ‘गाउँ आएको बाटो’ । मान्छेको आर्थिक तथा सामाजिक अवस्थाअनुसारका सपना हुन्छन् । ती सपना पूरा गर्न गर्ने संघर्ष र त्यसक्रममा देखिने अवरोधको वरिपरि चलचित्रको कथा घुम्छ ।

पूर्वी पहाड भोजपुरको दुर्गम गाउँमा एउटा परिवार छ । परिवारमा बाउआमा र एउटा छोरा छन् । छोराको सपना छ । छोराका सपना पूरा गर्न बाउले गर्ने संघर्ष छ । छोराको त्यस्तो ठूलो सपना छैन । तर, परिवारको आर्थिक अवस्था कमजोर छ । त्यही कमजोर अवस्था पनि थप ओरालो लागेपछि छोराको सपना पूरा गर्न बाउले केके गर्छ ? आफ्नो सपना पूरा गर्न छोराले कसरी दबाब दिन्छ ? यसलाई भन्ने प्रयास चलचित्र ‘गाउँ आएको बाटो’ले गरेको छ ।

गाउँमा आर्थिक अभाव छ । तर, सपनाको अभाव छैन । सपना पूरा गर्ने आँट छ । तर, सहज छैन । पैसा कमाउने हातमा सीप छ । तर, बजार छैन । यस्तैयस्तै कथा छ, चलचित्रमा । छिमेकी आफन्तको घरमा विदेशीले टेलिभिजन लिएर आएपछि विन्दे्र (प्रसन राई)लाई त्यसले लोभ्याउँछ । तर, छुकछुके र चकचके उसलाई छिमेकीले टेलिभिजन नहेर्न भन्दै घर फर्काइदिन्छन् । त्यसपछि उसले बाउ (राई माइला)लाई टेलिभिजन किनेर ल्याउन भन्छ । नल्याए पढ्दिनँ भन्दै घुर्क्याउँछ । माइलाको मनमा पनि इख जन्मिसकेको छ । त्यसपछि माइलाका बुढाबुढी लाग्छन्, टेलिभिजन किन्न पैसा जोहो गर्नतर्फ ।

Dabur Nepal
NIC Asia

वि.सं. २०६० को दशकको मध्यतिरको टाइमफ्रेममा निर्देशकले कथा भन्छन् । कालो चस्मा, मोजामा कागज र टाला कोचेर बल बनाएर खेलिने फुटबल, अर्काको घरमा गएर टेलिभिजन हेर्ने चलन, गाउँमा पहिलोपटक गाडी आउँदा फूलमाला लगाएर गरिएको स्वागत सिनेमामा छ । यस्ता दृश्यले नोस्टाल्जिक बनाउँछ । आफ्नै कथा सिनेमाले भनेझैँ लाग्छ । आजसम्म सिनेमाले नउठाएको कथा होइन यो । सिनेमाले उठाइसकेको कथा हो । तर पनि आफ्नै गाउँठाउँको कथा देख्दा दर्शकलाई बाल्यकालीन सम्झनामा पुर्‍याउँछ ।

यति हुँदाहुँदै पनि कथामा कमजोरी छ । टाइमजोनानुसारका घटना र डाइलगमा तादात्म्य छैन । १० वर्षे जनयुद्धको जगमा लोकतन्त्र र गणतन्त्र ल्याएको माओवादीको स्थानीय नेताले एमालेको नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बोल्छ । त्यो पनि एक दशकपछि क्वाइन भएको नारा । टाइमजोनानुसार माइलाले बुनेको फिपीको मूल्य राखेको पाइँदैन । उसको आवश्कताका परिपूर्ति गर्न कति पैसा चाहिन्छ ? त्यसका आधारमा लेखकले मूल्य निर्धारण गरेका छन् । 

गाउँमा सडक पुग्नुअगाडि माइलाको परिवार कति सहजताका साथ बसेको/बाँचेको थियो ? उसको हातमा रहेको चोयाको सीपले परिवारको जीविकोपार्जन गर्न कति सहज थियो भन्ने लेखकले देखाउन आवश्यक ठानेका छैनन् । सडक पुगेपछि उसको पेसा कसरी संकटमा पर्‍यो भन्ने देखाउन समय खर्चन नसक्दा कथाको मुख्य आइडिया नै बेवास्तामा परेको छ ।

एउटा बत्ती त्यो पनि एकाध घण्टा मात्र बाल्ने माइलाले चार महिनाको बिजुलीको बिल तिर्न बाँकी छ । राष्ट्रिय प्रसारणलाइन होइन, स्थानीयले स्थानीयसँगै पैसा उठाएर बनाएको आयोजना छ । त्यसैले मानौँ, महँगै छ । तर, महिनामा चार डिजिटभन्दा बढी बिल त पक्कै नउठाउलान् ! त्यसमा पनि दुई महिनाको बिल होल्ड गर्न पाइने नियम छ । तर, त्यति पैसा तिरिदिँदा लाहुरेले ट्याक्टर नै किन्न सक्दैन ? हाकाहाकी बोल्ने र सँगै बस्ने/खाने माइला यसमा किन बोल्दैन ? प्रश्न गर्ने ठाउँ छ ।

कथाको जग बलियो भए चलचित्र राम्रो हुने हो । निर्देशकले कथा छनोटमा कमजोरी गरेको देखिन्छ । कमजोर कथाभित्र बाँधिएको परिणाम हुनसक्छ, क्लाइमेक्स पनि सशक्त बनाउन सकेका छैनन् । सिनेमामा केही मेटाफोर त छन्, तर धेरै चलचित्रमा प्रयोग भइसकेका । त्यसैले नवीनले ‘गाउँ आएको बाटो’मा नवीनतम प्रयोग गर्न सकेका छैनन् ।

‘गाउँ आएको बाटो’मा बाउछोराको ‘इमोसनल’ कथा हो । त्यो देखाउने प्रयास पनि निर्देशकले गरेका छन् । तर, त्यो सिनेमा सबल र अब्बल हुन्छ, जब पात्रको इमोसन दर्शकमा ‘ट्रान्सफर्म’ भएको अनुभूति हुन्छ । इमोसन ‘ट्रान्सफर्म’ गराउन नै निर्देशकले सकेका छैनन् ।

यद्यपि, पूर्वी पहाडको राई समुदायको कथा चलचित्रमा आएको छ । यो समुदायको संस्कार, संस्कृति र रहनसहन देखाइएको छ । अवसरको अभावमा घर छोडेर विदेशिन बाध्य गाउँको यथार्थ सिनेमाले पस्किएको छ । मौलिक कथा भनेको छ । यो नवीनको ‘सिग्नेचर ट्युन’ हो । ‘सिग्नेचर ट्युन’बाट नवीन विचलित भएका छैनन् । यो चलचित्रको सबल पक्ष हो ।

चलचित्रमा माइलाको भूमिकामा रहेका दयाहाङ राईले वर्षौँदेखि आफूलाई लाग्दै आएको आरोपबाट मुक्त गराएका छन् । राम्रो टिम र निर्देशक पाए विविधता दिन सक्छु भनेर उनले यो चलचित्रबाट प्रमाणित गरेका छन् । गेटअप होस् वा कलरटोन उनले बदलेका छन् । एकैखालको डाइलग डेलिभरी र मुभमेन्टलाई यो चलचित्रमार्फत दयाहाङले विश्राम दिएका छन् ।

तर, उनी यो चरित्र निभाइरहँदा कति ठाउँमा कन्ट्युनिटी दिन सक्दैनन् । चरित्रानुसार उनको जिब्रो मोटो छ । ओठ जोडिँदैन । कतिपय ठाउँमा यसमा कन्ट्युनिटी ब्रेक हुन्छ । हिँडाइको चालमा पनि एकाध ठाउँमा यो समस्या देखिन्छ । उनको बोली टाठो छैन । फड्कारिएको स्वर आउँदैन । तर, गाली गरेको ठाउँमा उनको जिब्रो फड्कारिन्छ । माइला चरित्रको स्वर हराउँछ ।

माइलीको भूमिकामा रहेकी पशुपति राईले आफूलाई खरो उतारेकी छन् । खोट लगाउने ठाउँ छोडेकी छैनन् । विन्द्रेको भूमिकामा रहेका प्रसन राईले चरित्रलाई न्याय गरेका छन् । उनले आफूतिर ध्यान खिचिरहन्छन् । नन् एक्टरलाई नवीनले ट्रेन्ड गराउन सकेका छैनन् । नन् एक्टरबाट कमजोर काम आएको छ ।

ब्याकग्राउन्ड स्कोर ‘गाउँ आएको बाटो’को सबैभन्दा राम्रो पक्ष हो । लोभलाग्दो ब्याकग्राउन्डस्कोर छ । कथाअनुसार कतै म्युट कतै लो, कतै हाई । शब्दशब्द र दृश्यदृश्यमा ब्याकग्राउन्ड स्कोरले साथ दिएको छ । अधिकांश नेपाली सिनेमाको ब्याकग्राउन्डस्कोर विलो एभ्रेज हुन्छ । तर, यो चलचित्रको ब्याकग्राउन्डस्कोर अब्बल छ । कतै नवीन ध्वनि कतै मौलिक । अरू मेकरले पनि सिक्नुपर्ने गरी ब्याकग्राउन्डस्कोरमा काम गरिएको छ । ब्याकग्राउन्डस्कोर चलचित्रको कथालाई अवरोध गर्न होइन, थप सुन्दर बनाउन हो भन्ने मेकरले यो सिनेमाबाट सिक्नुपर्छ ।

सिनेमेटोग्राफी ‘गाउँ आएको बाटो’मा उत्कृष्ट छैन । जसरी ब्याकग्राउन्डस्कोरमा निर्देशकले पर्याप्त ध्यान दिए, सिनेमेटोग्राफीमा दिएका छैनन् । क्यामेरा वर्क कमजोर छ । निर्देशकले पात्रको मुड र चरित्रानुसार काम गर्न खोजेका छन् । संघर्षको कथालाई त्यहीअनुसारको रङ र फ्रेम दिएका छन् । तर, कमजोर क्यामेरा वर्कले सिनेमेटोग्राफीलाई छायामा पारिदिएको छ । कतिपय ठाउँमा आँखै खाने क्यामेरा वर्क छ । यसले सिनेमाको स्तर खस्काउने काम गरेको प्रस्टै देखिन्छ ।

मौलिक कथा छनोट गर्ने नवीन प्रशंसाका हकदार हुन् । ब्याकग्राउन्डस्कोरमा गरेको मिहिनेत उदाहरणीय भएकाले यसको जस उनलाई जान्छ । तर, नेपाली चलचित्र उद्योगमा जति उनको नाम र छवि छ, त्यसको अनुपातमा यो कमजोर सिनेमा हो । नवीनबाट अपेक्षा गरिएको सिनेमा ‘गाउँ आएको बाटो’ होइन । यो चलचित्रले उनको साख उकालो लगाउँदैन । 

० ० ०

चलचित्र : गाउँ आएको बाटो 
निर्देशक : नवीन सुब्बा
लेखक : महेश राई/नवीन सुब्बा
कलाकार : दयाहाङ राई, पशुपति राई, प्रसन राई, प्रेम सुब्बा आदि । 
जानरा : सोसल ड्रामा
लेन्थ : १०८ मिनेट
ब्यानर : मेन्छ्याम पिक्चर्स/बाँसुरी फिल्म्स

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  ०८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro