site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
दुई घण्टामा यसरी लेखिएको थियो ‘राई माइला’  

काठमाडौं । खोजेजस्तो शिक्षा, स्वास्थ्य भएन । न त रोजगारी नै । राज्यको नीति र नेतृत्वकर्ताको सुझबुझ हेर्दा निकट भविष्य पनि गाउँमा फूल्ने देखिएन । सुदूर भविष्यको आशामा को बसोस् गाउँमा । बसेनन् । सक्नेजति बसेनन् । सहर पस्न सक्ने आर्थिक हैसियत भएकाले गाउँ छाडे । गाउँमै बनिबुतो गरेर हातमुख जोड्नेहरूले पनि गाउँ छोडे । छोडिरहेका छन् । सहर पसिरहेका छन् । यति देखेपछि गीतकारलाई के चाहियो ? त्यसमा पनि आफू पनि त्यही कित्तामा परेपछि आफ्नै अनुभव पनि मिसाउन पाइयो । अलिकति आफैँले भोगेको, कलिकति देखेको अनि केही रुमानी कल्पना गीत लेख्न के गाह्रो थियो र श्रवण (मुकारुङ)लाई । 

निर्देशक नवीन सुब्बाले भनेका थिए– मलाई एउटा गीत चाहियो । नवीनले गीत मागेका थिए सिनेमाका लागि । प्रेम भावको गीत चाहिएको उनले बताएका थिए । श्रवणले हुन्छ भनेका थिए । तर, श्रवणलाई समयले साथ दिएन । बिरामी परे । गीतको गेडो फुरेन । प्रयास पनि गरेनन् । जबरजस्ती लेख्ने उनको बानी छैन । 

० ० ०

Dabur Nepal
NIC Asia

सिनेमा बन्यो । नवीन फिल्म लिएर टोरन्टो, बुसानलगायत फेस्टिभल पुगे । प्रशंसा बटुलेर फर्किए । तर, श्रवणले गीत लेखेकै थिएनन् । नवीन पनि रामबाबु गुरुङको बाँसुरी फिल्म्ससँग जोडिए । रामबाबुले भने– नवीन दाइले पनि भनिरहनु भएको थियो, एउटा प्रेम गीत त चाहियो ।  

श्रवण पनि बिरामीबाट तंग्रिसकेका थिए । नवीनसँग पनि धेरै समय बाँकी थिएन । (प्रोमोस्नल) सिनेमा पब्लिसिटीका लागि गीत चाहिएको थियो । वण अरुले दिएको थिमभित्र बस्नु परेन । स्वच्छन्द गीत लेख्न स्वतन्त्र भए । भलै सिनेमाको नाम थाहा छैँदे थियो– गाउँ आएको बाटो । वानलाइन स्टोरी पनि थाहा थियो । 

० ० ०

व्यक्तिअनुसार साहित्य सिर्जना गर्ने तरिका फरक–फरक होला । कसैलाई एकान्त चाहिएला । कसैलाई रमरम नसाले साथ दिएला । कसैलाई रात वा बिहानमध्ये कुनै एक समय चाहिएला । कसैलाई घटना विशेषले दिमागमा हिर्काउनुपर्ला । श्रवणको पनि आफ्नै तरिका छ । विषयलाई दिमागमा राख्नुपर्छ । त्यसका रौँ चिरा दिमागले केलाउनुपर्छ । उनकै शब्दमा दिमागमा पाक्नुपर्छ । 

“जब दिमागमा मैले लेख्न खोजेको विषय पाक्छ, त्यसपछि मलाई धामीलाई काँप छुटेजस्तो हुन्छ,” श्रवण भन्छन्, “अनि म लेख्न बस्छु । एकै बसाइँमा लेख्छु । अरुजस्तो किस्ता किस्तामा लेख्न सक्दिनँ ।” 

उनलाई नवीन र रामबाबुले थिम दिएको समय अब बाँकी थिएन । प्रेमगीत मात्रै भनेका थिए । त्यसैले उनले गाउँको कथा गीतमा लेख्ने निधो गरे । माइला पात्र टिपे । गाउँमा उसले रोजीरोटी गुमाउँदै गरेको परिकल्पना गरे । कतिपटक गाउँ जाँदा देखेकै पनि हो । उसले गाउँ छोड्दा गाउँले के–के गुमाउँछ ? छिमेकीले के–के गुमाउँछन् ? सँगै घर टाँसिएको, मर्दापर्दा साथ दिने, खेतीकिसानीमा अर्मपर्म गर्ने माइलालाई फर्काउने हृदयहरू पनि त गाउँमा होलान् । दिमागमा यस्तै यस्तै कुरा पाके । श्रवणलाई काँप छुटेजस्तो भयो । छिप्पिदो साँझमा लेख्न बसे । दुई घण्टामा दिमागबाट गीतका सम्पूर्ण हरफ कागजको सेतो पानामा उत्रिए । त्यसलाई थोरबहुत चलाए । उनलाई लाग्यो– अब यही नै ठिक छ । अर्को दिन गीत बुझाइदिए ।   

० ० ०

श्रवण वि.स. २०४० मा भोजपुरको दिल्पाबाट सहर पसेका हुन् । ४० वर्ष भइसक्यो । कहिलेकाहीँ रहर र सानोतिनो कामले गाउँ पुग्नु छुट्टै कुरा भयो । तर, अब गाउँमै थातथलो बनाउँला भनेर उनी फेरि फर्किएर दिल्पा पुगेका छैनन् । 

“रहर त होला नि । तर, अब म कहाँ गाउँ फर्किन सक्छु र ? गाउँमा बसेर परिवारको जीविकोपार्जन गराउनै सक्दिनँ नि !,” श्रवण भन्छन्, “म जस्ता मेरा समकालीनहरूले गाउँ छोडे । यो क्रम अहिले पनि तीव्र नै छ । मनभरी गाउँको माया हुँदाहुँदै चाहेर पनि कोही फर्किने अवस्था छैन । यो त हाम्रो जीवनशैली नै बनिसक्यो ।” 

शिक्षा, स्वास्थ्य र रोजगारीको अभावमा नचाहँदा नचाहँदै पनि गाउँ छोड्नेको लर्को देखेका श्रवणले ‘राई माइला’मा त्यही लेखे । आम नेपालीको जीवनशैली उतारे । छोटो गीतमा गाउँको जीवनशैली उतार्नु श्रवणको खुबी हो । यसका लागि उनले स्रोताबाट माया पाउलान् । उनको सिर्जना अजर होला । तर, यो जीवनशैली देशका लागि भने ठूलो नोक्सान हो । गाउँ छोडेर सहर प्रवेश गर्नु यथार्थमा नोक्सान हो । राज्यका लागि घाटा हो । ओरालोको यात्रा हो । ओरालो लाग्दै गरेको देशको संकेत हो ।  

श्रवणको गीतमा एउटा लाइन छ– 
एउटा मान्छे जाँदा
एक्लै कहाँ जान्छ
उसले गाउँदै हिँड्ने
गीत पनि लान्छ । 
बिन्ती रोक उसलाई ! 
घडी फूलले भन्छ
राई माइलाले...

कुनै एउटा व्यक्ति मात्रैले घर छोडेर हिँड्दा ऊसँगै त्यो गाउँको संस्कार, संस्कृति र सभ्यता पनि जाने गीतको यो लाइनको अर्थ हो । गाउँमा व्यक्तिको संख्यासँगै संस्कार, सभ्यता र संस्कृतिमा पनि पलायन हुन्छ । यसमा पनि गाउँ गरिब हुन्छ भन्ने अर्थमा यी शब्द गीतमा राखिएको श्रवण सुनाउँछन् । 

बसाइँसराइसँगै नेपाली सभ्यतामा नै ठूलो नोक्सान राज्यले व्यहोरिरहेको छ भन्ने थिममा आफूले ‘राई माइला’ लेखेको उनले स्मरण गरे ।

“राज्यको नीति नै जो जहाँ छ त्यसलाई त्यहीँ राख्ने बनाउनुपर्छ । त्यो भनेको शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर व्यक्ति बसेकै ठाउँमा भयो भने सम्भव छ,” श्रवण भन्छन्, “त्यसो त मेरै गीतमा थोरै विरोधाभास छ । मेरो गीतले राई माइलालाई रोक भन्छ । तर, त्यो मैले रोक्न सक्दिनँ । यो त सर्जकको भावना मात्रै हो । बसाइँ सर्नेलाई त राज्यको नीतिले रोक्ने हो । अवसर र सुविधाले रोक्ने हो ।” 

गीतमार्फत सर्जकले चेतना मात्र फैल्याउन सक्ने उनको भनाइ छ । “काम गर्ने त राज्यले हो नि । नीति नियम बनाउने र अवसरको सम्मानजनक वितरण गर्ने काम त राज्यको हो नि !,” उनी भन्छन् । 

रचनाले के भइरहेको छ भनेर समाजको चित्रण गरिदिने हो तर, त्यसलाई ठिक ठाउँमा ल्याउने काम राज्यको भएको श्रवणको तर्क छ । “मैले चाहेको अवस्थामा गाउँमा गएर बस्नसक्ने अवस्था राज्यले बनाउनुपर्छ,” उनी भन्छन्, “हरेक व्यक्ति आफू जन्मिएकै ठाउँमा बस्ने वातावरण बनाउनु राज्यको दायित्व पनि हो ।” राज्यकै अव्यवस्थाका कारण गाउँ रित्तिँदै गएको सन्दर्भ आफूले गीतमार्फत उठाएको उनी सुनाउँछन् । 

० ० ० 

सिनेमाको वानलाइन स्टोरी थाहा पाए पनि निश्चित विषय र सीमा उनलाई दिइएको थिएन । तर, वानलाइन सम्झिएर आम नेपाली गाउँले जनजीवन उतार्दा सिनेमाको कथासँग गीत मिलेको श्रवण बताउँछन् ।  

गीतमा श्रवण बसाइँ सर्ने राई माइलालाई कसैलाई फर्काइदिन आग्रह गर्छन् । गाउँ छोडेको माइला कुन मोडमा कुन गाडी चढेर गयो होला भन्दै ढाट राखेर रोक्न आग्रह गर्छन् । राई माइलाको पूरै हुलिया बताउँदै गाउँ छोडेर जानेले पनि गाउँका आफ्ना आफन्त र छिमेकीलाई सम्झिएर रुनुपर्ला भन्दै सचेत गराउँछन् । 

बसाइँ सरेर जाँदा एउटा व्यक्ति मात्र होइन ऊसँगै धेरै कुरा जाने यथार्थलाई गीतले झक्झक्याएको छ । एउटा व्यक्ति गाउँ छोडेर जाँदा खलिया र हली घट्छ । जन्ती र मलामी घट्छ । बिरामी हुँदा कस्तो छ भनेर सोधखोज गर्दा व्यक्ति घट्छ । समग्रमा गाउँ नै शून्य हुन्छ । गाउँको संस्कार र संकृतिसँगै पलायन हुने यथार्थलाई चित्रण गर्दै श्रवण अरुण खोला तर्न नदेऊ भन्छन् । 

उनका शब्दलाई मारुनी भाकाको जगमा बसेर कालीप्रसाद बाँस्कोटाले पूर्वेलीपन दिएका छन् । संगीता थेगिमले शब्द र भाकालाई न्याय गरेकी छन् । पञ्जेबाजा र पूर्वेली लोकबाजाले श्रवणको गीत श्रवणीय बनेको छ । 

० ० ० 

गीत

राई माइलाले गाउँ छोड्यो रे  !
बाटो छेकिदेऊ न ! 
कुन गाडीमा चढ्यो होला ?
कुन घुम्ती काट्यो होला ?
ढाट राखिदेऊ न !
फर्क भनिदेऊ न !
शिरमा ढाका टोपी
कुममा काने झोला
गोलो चिम्सो आँखा
खुकुरी नि होला
नाम सोधे उसलाई 
फूलझैँ हाँसिदेला
कोटको गोजीभित्र
हाम्रो फोटो होला
त्यही फोटो हेर्दै
भोलि माइला रोला !
बिन्ती तर्न नदेऊ 
उल्लाई अरुण खोला
राई माइलाले...
ऊ गइगयोभने
खेत कल्ले खन्छ !
सन्चो–बिसन्चोमा
के छ कल्ले भन्छ !
को कलिया बन्छ
को मलामी हुन्छ
एउटा मान्छे जाँदा 
एक्लै कहाँ जान्छ
उल्ले गाउँदै हिँड्ने
गीत पनि लान्छ
बिन्ती रोक उसलाई !
घडी फूलले भन्छ
राई माइलाले...

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro