site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

भारतमा अप्रिल १७ देखि जुन १ सम्म सात चरणमा भएको निर्वाचनको जुन ४ तारिखमा आएको परिणामले भारतीय जनता पार्टीलाई सबैभन्दा ठूलो दल बनाएर लगातार तेस्रोपटक शासन गर्ने जनादेश  दिएको छ । तर, प्रधानमन्त्री नरेन्द्र मोदीको ४०० भन्दा बढी संसदीय सीटमा विजयी भएर एकछत्र राज गर्ने मनसुबालाई भने मतदाताले अस्वीकार गरिदिएका छन् । 

भारतीय जनता पार्टीले नेतृत्व गरेको एनडीए (नेसनल डेमोक्र्याटिक एलायन्स)ले कुल ५४३ मध्ये २८६ स्थानमा विजयी भएर सरकारलाई निरन्तरता दिने अवसर पाए पनि मोदीको भारतीय जनता पार्टी (भाजपा) भने सन् २०१९ को भन्दा ६४ कम अर्थात् २४० सिटमा मात्र विजयी भएको छ । यसअघि सन् २०१९ को निर्वाचनमा भाजपा एक्लैले ३०३ सिट जितेर सरकार चलाउन चाहिने न्यूनतम बहुमत २७३ सिटभन्दा निकै माथि उक्लेको थियो । एनडीएमा भाजपाका सहयोगी दलहरू उति भरपर्दा भने छैनन् । उनीहरूमध्ये केही मोदीको हिन्दु राष्ट्रवादका समर्थक पनि होइनन् । यसैले भाजपा छाडेर अर्को गठबन्धनमा सामेल हुन पनि असम्भव छैन तर तिनको विजयमा पनि मोदीकै प्रभाव प्रमुख कारक भएकाले सम्भवतः निर्वाचनपूर्वको गठबन्धन कायमै रहनेछ । 

यसपटकको भारतीय निर्वाचन संसारकै सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास थियो । यस अभ्यासमा भाग लिँदै सम्पूर्ण भारतीय मतदाताले जनता जनार्दन हुन् भन्ने तथ्यलाई पुनर्पुष्टि गरेका छन् । निर्वाचनअघि सत्ताधारी भाजपाले एकलौटी गरेको कारण यस निर्वाचनपश्चात भारतमा हिन्दु राष्ट्रवादी शक्ति सधैँ सत्तामा टिकिरहन्छन् र आवधिक निर्वाचनको जरुरत पनि समाप्त भएर जान्छ भन्ने जुन सोच विकसित भएको थियो त्यसलाई पनि जनताले गलत साबित गरिदिएका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

एक तवरले हेर्दा यो निर्वाचन भाजपाको पराजय नभई कट्टर हिन्दु राष्ट्रवादको मात्र पराजय हो भनेर बुझ्न सकिन्छ । जनताले भाजपालाई कम सिट दिएका मात्र होइन भाजपाले हिन्दु राष्ट्रवादको जगको रूपमा प्रयोग गरेको उत्तर प्रदेशमा समेत निर्मम ढंगले हराइदिएका छन् । त्यसमाथि पनि विश्वभर प्रचार गरेर बनाइएको राम मन्दिर रहेको अयोध्यामा समेत भाजपाका उमेदवारले हार बेहोरेका छन् ।

पचहत्तर वर्षको स्वतन्त्र भारतको इतिहासमा भारतीय जनताले एक जना चिया पसलेका पुत्र र जनताको नेतालाई लगातार तेस्रोपल्ट प्रधानमन्त्रीको सिटमा विराजमान गराएर उनले देशको विकासका लागि गरेको मेहनतका लागि पुरस्कृत गरेका छन् । भारत स्वतन्त्र हुँदाको बखत स्वतन्त्रता आन्दोलन हाँकेका जवाहरलाल नेहरुमात्र भारतमा अहिलेसम्म लगातार तीन पटक निर्वाचन जितेर प्रधानमन्त्रीको कुर्सीमा बसेका थिए । नेहरु एक उच्च कुलीन घरानाका भएका हुनाले नरेन्द्र मोदीलाई नै तीनपटक लगातार प्रधानमन्त्री हुन सफल पहिलो जनसाधारण भन्नु अत्युक्ति हुँदैन । 

मोदीले आफ्नो अघिल्ला दुई कार्यकालमा धेरै यस्ता निर्णयहरू गरेका छन् जसको मूल्यांकन जनताले गरेका रहेछन् भन्ने पनि अहिलेको निर्वाचन परिणामले स्पष्ट पारेको छ । भारतमा पुरानो हजार र पाँचसयको नोटलाई रातारात नचल्ने बनाउनु, जम्मु काश्मिरलाई संविधानको धारा ३७०ले दिएको विशेष अधिकार खारेज गरिदिनु, लद्दाखलाई छुट्टै केन्द्र शासित प्रदेश बनाउनु, आतंककारीसँग सशक्त ढंगले जुध्नु आदि कार्यलाई जनताले सराहना गरेको देखिन्छ । 

त्यस्तै, मोदीको कार्यकालमा भएका निर्माण कार्य र बाटोको विस्तारलाई पनि सकारात्मक कदम मानेको देखिन्छ । यसै क्रममा भारत विश्वको पाँचौ ठूलो अर्थतन्त्र हुनु, विश्व राजनीतिमा मोदीको प्रभाव बढेर जानुलाई पनि भारतीय जनताले पुरस्कृत गरेका छन् । तथापि, मोदीको कार्यकालमा अडानी, अम्बानीजस्ता ठूला व्यापारिक समूहको अभूतपूर्व प्रगति हुनु र आफ्ना आलोचक मिडिया हुन् वा राजनीतिक नेता तिनको खोइरो खन्ने प्रवृति भने गैरलोकतान्त्रिक देखिएको थियो । 

हुनत कुनै पनि व्यक्ति भगवान हुन सक्दैन । गुण र दोष नभएको कुनै मानिस हुँदैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि एक मानव हुन र उनको उदय र पतन दुवै अवश्यंभावी छ भनेर पनि भारतीय जनताको जनादेशले प्रमाणित गरेको छ । जनताले दिएको सन्देशलाई मनन गर्दै चाटुकारले बनाएको भगवानको स्थानबाट ओर्लेर मोदीले आफूलाई पुनः एक जनताको सेवकको रूपमा राख्नुपर्ने अवस्था आएको छ ।

नेपालको परिप्रेक्ष्यमा पनि भारतीय निर्वाचनले केही सन्देश दिएको छ । गत एक दशकमा भारतसँग कुनै पनि विषयमा तोलमोल गर्न नसक्ने अवस्थामा नेपाल पुगेको थियो । भारतसँगको सम्बन्ध कुनै देशसँग भन्दा एक व्यक्ति र उनका आसेपासेसँग मात्र केन्द्रित भएको थियो । आजको भारतमा प्रतिपक्ष सशक्त भएको छ । नेपालले आफ्नो हितका विषयमा भारतीय जनताको समर्थन पाउन सकेको खण्डमा सम्बोधन हुनसक्ने अवस्था आएको छ । 

नेपाल एक सार्वभौम राष्ट्र र भारतको निकटस्थ छिमेकी भएको नाताले पनि यत्रो ठूलो लोकतान्त्रिक निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टी, भारतीय निर्वाचन आयोग, विपक्षी दलहरू र सम्पूर्ण भारतीय जनतालाई हार्दिक बधाई दिन्छौ । साथै यो निर्वाचनले लोकतान्त्रिक निर्वाचनको महत्त्व र गरिमा बढाएकाले सम्बन्धित सबैमा हार्दिक धन्यवाद पनि व्यक्त गर्छौं । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro