site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

पञ्चायतकालमा ‘संविधानलाई ऐनले, ऐनलाई नियमले र नियमलाई परिपत्रले काट्छ’ भन्ने गरिन्थ्यो । यस्तो अभ्यास विधिको शासनको उपहास हो । आवरण जे भए पनि पञ्चायत राजाको निरङ्कुश शासन नै भएकाले उतिबेला संविधानलाई अन्ततः परिपत्रले निरस्त गर्ने प्रचलन अनौठो थिएन ।

विडम्बना, निरङ्कुश शासन व्यवस्था अन्त्य गरेर विधिको शासन स्थापनाका लागि नेपाली जनताले लामो सङ्घर्षपछि जननिर्वाचित संविधान सभाबाट नेपालको संविधान त बनाए तर शासनको हुकुमी शैली भने बदल्न सकेनन् । संवैधानिक परिषद् ऐनमा विचाराधीन संशोधन यही संविधानको मर्ममा प्रहार गर्ने निरङ्कुश प्रवृत्तिको उदाहरण हो ।

नेपालको संविधान, २०७२ को धारा २८४ मा संवैधानिक परिषद्को अध्यक्षता प्रधानमन्त्रीले गर्ने र प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख र उपसभामुख तथा विपक्षी दलका नेता एवं राष्ट्रिय सभाका अध्यक्ष सदस्य हुने व्यवस्था छ । परिषद्ले मूलतः प्रधान न्यायाधीशका साथै संवैधानिक निकायका प्रमुख एवं पदाधिकारीको नियुक्तिका लागि सिफारिस गर्छ ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

परिषद्को संरचनामा शासन संयन्त्रमा राज्यका सबै अङ्गको भूमिका तथा सत्तामा ‘नियन्त्रण र सन्तुलन’को प्रत्याभूति गर्ने उद्देश्य देखिन्छ । राज्यका तीनैवटा प्रमुख अङ्गहरूको मात्र होइन प्रतिनिधि सभामा विपक्षी दलका नेताको समेत राज्य सञ्चालनमा भूमिका र प्रभाव सुनिश्चित गर्ने संविधानको उद्देश्यको भने प्रायः उल्लङ्घन हुनेगरेको छ ।

पहिलो त भागबन्डाका आधारमा संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्ने अभ्यासले नै विकृति बढायो । तत्कालीन प्रधान न्यायाधीशमाथि समेत भाग खोजेको आरोप लाग्यो । भागबन्डामा परेका नियुक्ति ‘किनबेच’ गरिएको, नियुक्त हुन अयोग्य ठहर भएका पात्रहरू छानिएको तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा त बहालवाला आयुक्तमाथि नै मुद्दा चलेकोजस्ता विकृति देखिए ।  

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले असंवैधानिकरूपमा संसद् भङ्ग गरेकै बेला अध्यादेशद्वारा परिषद्को ऐन संशोधन गरी तत्कालीन सभामुख र विपक्षी दलका नेताको अनुपस्थितिमै संवैधानिक निकायका पदाधिकारी नियुक्त गरेर विकृतिलाई चरममा पुर्‍याएका थिए । अर्थात्, अहिलेसम्म संवैधानिक परिषद्को मर्ममा प्रहार हुँदैआएको छ ।

यस्तो अवस्थामा ऐनमा गरिने संशोधन परिषद्का पदाधिकारीलाई थप उत्तरदायी र निर्णय प्रक्रिया बढी पारदर्शी गर्न केन्द्रित हुनुपर्थ्यो । विडम्बना, राज्यका तीनै अङ्गको भूमिका सन्तुलित र प्रभावकारी बनाएर परिषद्को उद्देश्य चरितार्थ गर्नुको साटो प्रधानमन्त्रीको तजबिजी अधिकार बढाउनेगरी संशोधन अगाडि बढाइएको छ । 

संविधानको भावना ठीकविपरीत हुनेगरी कानुनमा गरिन लागेको संशोधनबाट संविधान  कमजोर हुँदै जान्छ । कुनै नेताको स्वार्थ पूरा गर्ने प्रपञ्चबाट पनि संविधान बलियो हुँदैन । संविधान अक्षर र भावना दुवैको सम्मान गरेमात्र संविधानको रक्षा हुन्छ । 

संविधानबाट पाएको सत्ता दुरुपयोग गरे संविधान कमजोर हुन्छ । रक्षा नगरिएको संविधानले देश र जनताको रक्षा गर्न सक्तैन । संसद्मा विचाराधीन भएकाले संवैधानिक परिषद्सम्बन्धी संशोधनलाई थप तजबिजी बन्न रोक्ने मौका सम्भवतः अझै बाँकी छ ।   
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro