site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालको खेल प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई खेलकुद मन्त्रालयको अनुरोध

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले आईसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपमा नेपालको खेल हुँदा प्रत्यक्ष प्रसारण गर्न आवश्यक समन्वय र सहजीकरण गर्न देशभरका सबै स्थानीय तहलाई अनुरोध गरेको छ । 

मंगलबार मन्त्रालयको सचिवस्तरीय बैठकबाट देशभरका सबै स्थानीय तहमा विश्वकपका खेल प्रत्यक्ष प्रसारणका लागि समन्वय र सहजीकरण गर्न अनुरोध गर्ने निर्णय भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“प्रस्तुत विषयमा संयुक्त राज्य अमेरिका र वेष्ट इन्डिजमा मिति २०८१ जेठ २० देखि असार १५ (तदनुसार जुन २, २०२४ देखि जुन २९, २०२४) सम्म सञ्चालन हुने आईसीसी मेन्स टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेट खेलाडीहरूको समेत सहभागीता रहेको हुँदा नेपाली टोलीले प्रतिस्पर्धा गर्ने खेलको अवधिभर सबै स्थानीय तहहरूले सम्बन्धित स्थानीय तहमा उपलब्ध स्रोत र साधन बमोजिम उपयुक्त स्थानमा आईसीसी मेन्स टी–२० क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरी नेपाली खेलप्रेमीको हौसला बढाउने वातावरण बनाउन सबै स्थानीय तहमा पत्राचार गरी आवश्यक समन्वय र सहजीकरणको लागि मिति २०८१।२।२० को सचिवस्तरीय निर्णयानुसार अनुरोध छ,” मन्त्रालयबाट जारी भएको विज्ञप्तिमा उल्लेख छ । 

नेपालले आज विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । अमेरिकाको टेक्सासस्थित ड्यालसमा हुने यो खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘डी’ मा छ । 

यो समूहमा नेपालसँगै नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन् । दोस्रोपटक विश्वकपको मञ्चमा उक्लिएको नेपालले १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले यसअघि पहिलोपटक सन् २०१४ मा ट्वान्टी–२० विश्वकप खेलेको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्