site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

राजनीति गर्नेहरूले पदमा पुग्न र टिक्न चाहनु अन्यथा होइन । तर, सत्तामा पुग्न र टिक्नकै लागि नेपालका अहिलेका नेताहरूले जसरी लाज, डर, घीन सबै त्यागेर र्‍मरिहत्ते गर्नु भने लाजमर्दो प्रवृत्ति हो । 

हालै प्रदेशहरूमा राजनीतिका नाममा यस्तै लज्जास्पद अभ्यासहरू गरिएका छन् । कोसी र गण्डकी प्रदेशमा देखिएका यस्ता विकृतिलाई सर्वोच्च अदालतले सच्याएको पनि थियो । विडम्बना, मधेस प्रदेशमा पनि त्यस्तै विकृत अभ्यास दोहोर्‍याउन खोजिएको छ । 

मधेस प्रदेशमा सरकारको नेतृत्व गर्ने जनता समाजवादी पार्टी (नेपाल) सत्तारुढ गठबन्धनमै थियो । तर, गठबन्धनका मूल नाइकेहरूलाई केमा चित्त बुझेन जसपा नेपाल फुटाइदिए । लगत्तै गठबन्धन र सरकारबाट पनि जसपा नेपाल हट्यो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसको धक्का मधेस प्रदेशको सरकारमा पनि पर्ने नै भयो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिए । फलस्वरूप, मधेस सरकारका मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने भयो ।

यही जेठ २३ गते विश्वासको मत लिनका लागि २१ गते प्रदेश सभाको बैठक बोलाउन मुख्यमन्त्रीले अनुरोध गरे । यतिसम्म राजनीतिक घटनाक्रम सहज र स्वाभाविक गतिमा अगाडि बढेको देखिन्छ । तर, अलिकति टेढो पनि नभए के नेपालको राजनीति ?

मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नेबित्तिकै सरकारबाट भर्खरै बाहिरिएकाहरू छटपटिन थाले । मुख्यमन्त्रीलाई विश्वासको मत लिनै नदिएर हटाउने प्रपञ्च रच्दै बहुमत सदस्य पुगेको देखाएर सरकार गठन गर्ने दाबी प्रदेश प्रमुख समक्ष पेस गर्न हस्ताक्षर सङ्कलनमा लागे ।

सम्भवतः यसरी गरिएको कथित हस्ताक्षर सङ्कलनमा स्पष्ट बहुमत नपुगेपछि आइतवार बुझाउने भनिएको पत्र प्रदेश प्रमुखलाई बुझाइएको भने छैन । प्रदेश सभाको बैठक २१ गतेका लागि बोलाइएको सूचना प्रकाशित भइसकेकाले सायद अब संविधान मिच्ने अर्को प्रपञ्च रच्न समय पनि नहोला !

मुख्यमन्त्रीलाई विश्वासको मत लिन नदिने असंवैधानिक र अराजनीतिक षड्यन्त्र सफल भने भएन । प्रदेश सभाको बैठक बोलाइएकाले संविधानअनुसारै मुख्यमन्त्रीको शक्ति परीक्षण हुने अपेक्षा गर्न सकिन्छ । सत्तामा पुग्ने हतारमा गण्डकी र कोसीमा भएको संविधान मिच्ने विकृत अभ्यास मधेसमा नदोहोरिएला कि  ?

कोसीमा पहिले सभामुखलाई सत्ता पक्षमा गणना गरेर असंवैधानिक कार्य गरिएको थियो भने पछिल्लोपटक प्रदेश प्रमुखसँग हुँदैनभएको अधिकार प्रयोग गरेर मुख्यमन्त्री नियुक्त गरिएको छ । गण्डकीमा संविधानमा लेखिएअनुसारको सङ्ख्या नपुग्दा पनि विश्वासको मत पाएको घोषणा गरिएको थियो ।

कोसीको पछिल्लो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । गण्डकीमा मुख्यमन्त्रीले पाएको भनिएको विश्वासको बदर गरी परमादेशअनुसार अर्को सरकार गठन भएको छ ।

राजनीतिक दलका नेताहरूको ध्यान सत्तामा जानु अस्वाभाविक होइन तर विधि र प्रक्रिया मिच्न वा जालझेल गर्न तम्सनु भने अराजनितिक र अनैतिक प्रवृत्ति हो ।  मुख्यमन्त्रीले विश्वासको मत लिने समयसम्म पनि कुर्ने धैर्य नगर्नेहरू भने लोकतान्त्रिक अभ्यासका लागि नैतिकरूपमा अयोग्य हुन् ।  

 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro