site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मीनको सपनाका पखेटामा हेलिकोप्टरको साथ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

यो संसारमा चलचित्र भन्ने कलाको एउटा विधा छ र हेरिन्छ भन्ने त परको कुरा, यसबारे जानकारी दिने पुस्तक पढ्ने कक्षामा समेत नउक्लिएका मिन (भाम)लाई अचानक आफ्नै आँखाले सिनेमाघर देख्दा कस्तो भयो होला ? सिनेमाघर मात्र होइन, चलचित्र नै हेर्दा कस्तो भयो होला ? त्यसमा पनि आफ्नै बुवाले सिनेमाघर खोल्दा र चलचित्र देखाउँदा मिनले कस्तो अनुभूति गरे होला ?  

सिनेमा भनेको थाहा थिएन । कसले, कसरी र किन बनाउँछ पत्तो थिएन । उमेरै सानो, थाहा हुने कुरा भएन । किन र केका लागि सिनेमा बनाइए त्यो त बनाउनेलाई थाहा हुने कुरा भयो । तर, त्यो बेला पाँचवर्षे बालक मिनलाई के हेरे र कुन सिनेमा मन पर्‍यो, स्मृतिको पानामा ताजै छ ।

‘१५ गते’, ‘के घर के डेरा’, शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, सरोज खनालका सिनेमा तथा महजोडीको भिडियो चलचित्रहरू  ‘बनपाले’ ‘१५ गते’ हलमा देखाइन्थे । भारतीय सिनेमा पनि हलमा लाग्थे । उमेर त्यस्तै साढे चार वर्षको हुँदो हो, मुगुमा मिनका बुवा जंगबहादुर भामले हाइभिजन हल खोल्दा । कहिल्यै थाहा नपाएको र नहेरेको सिनेमा हेरेपछि के भयो होला मिन र उनका दौँतरीलाई ?

KFC Island Ad
Dabur Nepal
NIC Asia

पाइन्टको तल्लो भाग काटिने थाले । हुँदाछँदाका सग्ला पाइन्टमा भिन्न रङका कपडा जोडिन थाले । सिनेमाका हिरोले लगाएजस्तै मिनसहित गाउँभरका केटाहरूका पाइन्ट बेलिबटम हुन थाले । जे देख्यो त्यही नक्कल त दैनिकी बन्न थाल्यो । मिथुनको जस्तो गाउँका केटाहरूका कपाल लामो हुन थाल्यो । सिनेमाका डाइलग बोल्नु र मिमिक्री त सामान्य हुने नै भयो ।

समय ०४७ तिरको हो । सिनेमाको टिकटको मूल्य ५ रुपैयाँ थियो ।  हेर्नेहरूको भीड हुन्थ्यो । सहरबाट मिनको गाउँ भामवाडा निकै टाढा थियो । त्यसैले एउटा सिनेमा लागेपछि अर्को परिवर्तन हुन कहिलेकाहीँ त महिना कुर्नुपर्थ्यो ।

Royal Enfield Island Ad

घरमै हल खुल्यो । सिनेमा घरमा आइपुग्न थाले । उमेर ५ वर्षको थियो । पंक्तिकारले मिनलाई प्रश्न गर्‍यो । हेरेको पहिलो सिनेमाको नाम याद छ ? एकछिन सम्झिएर भने– नेपालीचाहिँ ठ्याक्कै याद छैन, अंग्रेजी भने याद छ– द बास्केटबल डायरी । 

मिन इन्ट्रोभर्ट थिए/छन् । लजालु स्वभाव, अरूजस्तो हिरोको मिमिक्री गर्दै हिँड्न लाज लाग्ने । एक्लै हुँदा गर्नु छुट्टै कुरा । साथीहरू हिरोको मिमिक्री गर्दै हिँड्थे । उनको ध्यान अन्तै थियो । 

केमा ? 

“म हामीले सिनेमामा देख्ने मान्छेले कसरी यसरी बोलिरहेका छन्, आफैँ गरिरहेका छन् कि कसैले सिकाइरहेका छन् ? आफैँ त पक्कै गरिरहेका छैनन् होला भन्ने लाग्थ्यो,” मिन भन्छन्, “मैले मेरो स्कुलसँग तुलना गरेँ । हामीलाई शिक्षकले पढाउनुहुन्छ, लेख्न र पढ्न लगाउनुहुन्छ, परीक्षा लिनुहुन्छ, सिकाउनुहुन्छ, त्यस्तै त होला भन्ने लाग्यो ।”

चलचित्र हेर्न थालेको एक/दुई महिनापछि सिनेमा बनाउने मान्छे को होला भन्ने खुलदुलीले मनमा घर गर्न थाल्यो । चार/पाँच वर्षको उमेर क्रेडिटलाइन हेर्ने र बुझ्ने कुरा भएन । त्यसको अर्थ र जिम्मेवारी थाहा पाउनु परेको कुरा । “सिनेमा हेर्न थालेको केही महिनापछि यिनीहरूलाई कसै न कसैले सिकाइरहेको छ र यस्तो यस्तो गर भनेर मिलाएर मालाजस्तै उनेर चलचित्र बनाइरहेको छ, म पनि जिन्दगीमा यस्तै मान्छे बन्ने हो भन्ने मनमनै प्रतिज्ञा गरेँ,” मिन अतीतका दिनतिर फर्किए । बालापनमा अनजानकै रहरलाई फर्किएर फेरि एकपटक नियाले ।

लुकीलुकी सिनेमा
बुवा पढाइमा कडिकडाउ गर्थे । चलचित्र हेर्दा पढाइ बिग्रिन्छ भन्ने उनको सोच थियो । बरु, पढाइ बिग्रियोस्, सिनेमा त हेर्ने हो, भोलिका दिनमा यस्तै बनाउने मान्छे हुने हो भन्ने मिनको संकल्प थियो । तर, खोजेका कुरा सबै कहाँ पाइन्छ ! उमेरअनुसार करबलमा पनि त परिन्छ । शुक्रबार चाँडै छुट्टी हुन्थ्यो, त्यो दिन सिनेमा हेर्न पाउँथे । गाउँ हो, खेतीकिसानी हुन्थ्यो नै । शनिबार घाँसदाउरा र गाईब्राख्रा चराएर बचेको समयमा सिनेमा हेर्थे । त्यो पनि बुवाले देखे गाली गर्थे । यसबाट बच्ने मिनसँग जुक्ति थियो ।

कस्तो ?

“साथीभाइ बोलायो, १२/१५ जना भइन्थ्यो । हलको भित्ता प्वाल पारेर त्यसबाट बाहिरबाटै हेर्ने हो,” मिन बालापनको उटपट्याङ सुनाउँछन्, “बुवा त सधैँ आउनु हुन्नथ्यो, ठूलीआमाको छोरा दाइलाई जिम्मा लगाउनुभएको थियो । उहाँले देख्नुभयो भने कुरा लगाइदिनुहोला भन्ने डर हुन्थ्यो । त्यसैले उहाँ आइहाले १२/१५ जनाको बीच्चमा बसेर दौडियो । म सबैभन्दा फुच्चे थिएँ । त्यसैले हुलमुलमा को हो को हो भन्ने हुन्छ भन्ने थियो ।”

मिन साथीभाइको बीचमा बसेर उनीहरूको आँट लिएर सिनेमा हेर्थे । उनीहरू साहुजीको छोराले नै बोलाएर ल्याएको भनेर ढुक्कले हेर्थे । भलै, बुवा र दाइले देखेको खण्डमा भाग्न उनीहरू तयार हुन्थे ।

खोइ के बुझे र के देखे थाहा छैन, तर त्यो बेला नेपाली कलाकारमा हरिवंश आचार्य मिनलाई खुब मन पर्थ्यो । कुनै हिरोबाट प्रभावित नभएका मिन हरिवंशप्रति भने मोहित भएका थिए । ‘१५ गते’, ‘वनपाले’लगायत सिरियलमा हरिवंश हेर्दा उनलाई उधुम मन परेको थियो ।

“सिनेमा हलमा प्रवेश गर्ने र पैसा उठाउँदासम्म हलमा ट्रेलर भनेर अर्कै कुनै सिनेमा १५ मिनेट जति देखाउने चलन थियो । त्यस्तो समयमा प्रायः महजोडीका भिडियो चलचित्रहरू लगाइन्थ्यो,” उनी भन्छन्, “त्यस्तो समयमा हरिवंशका भिडियो चलचित्र दर्जनौँपटक हेरेको छु । हरिवंशको अभिनय मन परेर नै हो । म हल गएको बेला ट्रेलर देखाउने समयमा दाइलाई फकाएर ‘१५ गते’, ‘वनपाले’ लगाइदिन भन्थेँ ।”

सिनेमा कसरी बनाउने, कसले बनाउँछ ? र, कहाँ बन्छ भन्ने थाहा थिएन । तर, मिनले रेडियोमा गीत र नाटकसँगै रचना भन्ने शब्द सुन्न थालेका थिए । त्यसैले म पनि सिनेमा रचना गर्ने मान्छे बन्ने हो भन्ने निष्कर्षमा पुगिसकेका थिए । त्यो बेला उनको उमेर ८ वर्षको थियो ।

...अनि आकाशवाणीको सूचना
त्यसपछि उनी सूचनामा लोभिन थाले । बुवा आकाशवाणीमा काम गर्थे । देश–विदेशमा रहेका मानिसले सन्देश पठाउँथे । उनका बुवाको काम ती सन्देश टिप्नु थियो । मिनले सन्देश लुकीलुकी पढ्न थाले । त्यसले उनलाई देश–विदेशका सूचना थाहा हुन थाल्यो ।

रेडियो सुन्थे । त्यहाँबाट समाचार, नाटक र गीतसंगीतबारे थाहा पाउन थाले । ढिलो नै सही, ‘गोरखापत्र’ पुग्थ्यो । त्यसको अक्षरअक्षर केलाउँथे । सूचना र विज्ञापनसम्म उनलाई कण्ठ हुन्थ्यो । त्यति मात्र होइन, आफूलाई श्रद्धाञ्जली समेत कण्ठ हुने गरेको मिन सुनाउँछन् । त्यसबाट आफूलाई नेपालको कुन क्षेत्रमा कस्तो संस्कार र संस्कृति, भाषा र साहित्य छ भन्ने जानकारी भएको उनी सम्झिन्छन् । कुन क्षेत्रमा कुन समुदायको बाहुल्यता छ भन्ने जानकारी पाए । श्रद्धाञ्जली पढ्दा कुन क्षेत्रमा मान्छेले धेरै र थोरै सन्तान जन्माउँछन् भन्ने उनले थाहा पाए ।

आकाशवाणी, रेडियो, पत्रिका र नाटकबाट उनले रचनाकारबारे जानकारी पाएका थिए । “मलाई त्यो बेला निर्देशक भन्ने थाहा थिएन । त्यसैले फिल्म बनाउने मान्छे बन्छु भन्ने थियो । त्यो बेला बनाउने भनेको फिल्म रचना गर्ने भन्ने मेरो दिमागमा थियो,” मिन पुराना दिन र त्यति बेलाको बुझाइ कोट्ट्याउँछन्, “अहिले सम्झिँदा मैले त्यो बेला देखेको सपना सिनेमा मेकर बन्ने रहेछ भनेर बुझिरहेको छु ।”

सिनेमा हेर्न नेपालगन्ज 
बुवाको जागिर जताजता सरुवा भयो, मिन त्यतैत्यतै पुगे । जुम्ला, नेपालगन्ज, सुर्खेत, डोल्पा, जाजरकोटलगायत ठाउँ पुगे मिन । कहिले बुवा बस्ने क्वार्टरमा बसे, कहिले होस्टेलमा । तर, आफ्नो घरजस्तो उनलाई कतै लागेन । नेपालगन्ज पठाउँदा भने उनी खुसी नै थिए ।

कारण ?

०५२ सालमा फर्किए मिन । नेपालगन्जमा सिनेमा हल थिए, मिनमा सिनेमा हेर्ने रहर । त्यसैले उनलाई लाग्यो, त्यहाँ गए सिनेमा हेर्न पाइन्छ । जानुपर्छ । जोस्सिएर ४ कक्षामा पढ्न नेपालगन्ज झरे । ५ पुग्दा कक्षा टप गरे । ५ बाट एकैपटक ८ मा जम्प गरे ।

नेपालगन्जमा सिनेमा हेर्दा फरक अनुभव भयो । ठूलो हल, सयौँ सिट । ठूलो पर्दा, सफा साउन्ड सिस्टम । हलमा ठूलो क्राउड । फिल्मको छनोट, बेग्लै लाग्यो मिनलाई नेपालगन्ज । कहाँ ‘रंगीला’ चल्न थालिसकेको नेपालगन्ज, कहाँ मिनका बुवाले जे नेपालगन्जका सिनेमा वितरकले जे पठायो त्यही मात्र लगाउने मुगुको हाइभिजन हल ! हेलिकोप्टर र भरियाबाट रिलमा आइपुग्ने पुराना सिनेमा हेरिरहेका थिए, अब नयाँनयाँ फिल्म हेर्न थाले ।

गोप्य योजना
डेढ वर्ष बसेर दसैँमा घर गएका मिन नेपालगन्ज फर्किन मानेनन् । कारण, पढाइको प्रेसर थियो । फिल्म हेर्न पनि भनेजति नपाइने ! उनले योजना बनाए, मुगु गएर स्कुल टप गरेँ भने क्लास जम्प गर्न पाइन्छ । त्यसै गरे । यसको रहस्य थियो, जति छिटो एसएलसी पास गरेर कलेज पढ्न गयो, त्यति चाँडै मनलाग्दी सिनेमा हेर्न पाइन्छ । ‘साधना’, ‘कामना’, ‘मधुपर्क’, ‘वेभ’ जस्ता पत्रिकाका ग्राहक बने । यसबाट पनि जानकारी र सूचना लिन थाले । सिनेमाका जानकारीका लागि ‘कामना’ र ‘साधना’ क्याप्सुल बन्न थाले मिनका निम्ति ।

कलिउड आर्टस एन्ड एकेडेमी, साधना कला केन्द्रलगायत संस्थाका विज्ञापन हुन्थे । अभिनय सिकाइन्छ भन्ने सूचना हुन्थ्यो । मिन नछुटाइ पढ्थे । ०५४ सालतिर आकाशवाणको अन्त्यसँगै मुगुमा सेटलाइट फोन सुरु भएको थियो । बुवाको अफिसको फोन खाली हुनेबित्तिकै फोन दाब्थे । रेडियो नेपालमा पाण्डव सुनुवारका ‘फोनइन’ कार्यक्रमदेखि मदनदास श्रेष्ठका रेडियो नाटक र ‘दिन प्रतिदिन’सम्म नछुटाई सुन्थे । बिहानको शंखध्वनिदेखि रातिको राष्ट्रियगान नबज्दासम्म सुनेको सम्झिन्छन् उनी । यो सूचनाको संग्रह गर्ने माध्यम थियो । जसले मिन आफ्नो संसार फराकिलो बनाउँदै थिए । 

आकाशवाणीबाट मान्छेका पर्सनल स्टोरी थाहा पाए । पत्रिकाबाट सूचना र घटना । कसैका कस्ता कथा कसैका कस्ता ! सुनेर उनलाई लेखक बन्न मन लाग्यो । सिनेमा मेकर बन्ने त पहिलो पहिलोपटक चलचित्र हेर्दा लहडमै निर्णय गरिसकेका थिए । 

कविता लेख्दै बगाउँदै 
विगत फर्किएर हेर्दा मिनलाई अचम्म लाग्छ– ओहो, बालवयमा पनि बच्चा भए बाँचिएनछ ! उनलाई कहिल्यै गुच्चा खुलेको र कुनै दसैँमा चंगा उडाएको याद छैन । कारण १ – आफ्नै इन्ट्रोभट स्वभाव बाधक बन्यो । २ – बुढाबुढीसँग संगत गर्न रुचाउँथे । कारण, उनीहरूले कथा सुनाउँथे । दन्त्यकथा र बुढाहरूका चाखलाग्दा घटना सुन्न उनी हुरुक्क हुन्थे ।

मिन कविता लेख्न थालिसकेका थिए । कविता कस्ता हुन्थे, राम्रा कि नराम्रा ? आफ्नै उमेरका साथीसँगीले मन पराउँथे कि उमेर ढल्किएका बुढापाकाले ? खोइ कसले मन पराउँथे ! मिनलाई अहिले पनि थाहा छैन ।

किन ? 

उनलाई यति लाज लाग्थ्यो कि सुनाउन सक्दैनथे । सुनाएनन् । कविता लेख्थे । खोला किनारमा जान्थे र बालुवामा गाड्थे । खोलामा बगाइदिन्थे । अग्लो ठाउँमा पुगेर फाइटर बनाएर उडाइदिन्थे । रुखमा बाँधिदिन्थे ।  धेरैचाहिँ जलाउने र बगाउने काम गरे । त्यसपछि उनलाई लाग्यो, मेरो कविता अरूले पनि पढ्नुपर्छ । उनले कवितामा नाम नलेखी डाँडाबाट उडाउन थाले चरा बनाएर । उद्देश्य अरूले कसले लेखेको भन्ने थाहा नपाऊन्, तर पढून् भन्ने थियो । पछि उनले कथा पनि लेख्न थाले ।

हेलिकोप्टर चढेर भागे 
एसएलसी जति नजिकिँदै थियो, त्यति नै उनको मनमा डरको चस्का पस्दै थियो । कारण, एसएलसी दिएपछि रिजल्ट नआएसम्म गाउँ छोड्न दिँदैन थिए । अर्को, जिल्लाकै राम्रो विद्यार्थी थिए । सके जिल्लाकै टपर हुने सम्भावना पनि थियो । राम्रो विद्यार्थीले साइन्स, साइन्स नसके कर्मस पढ्नुपर्छ भन्ने मानक नै बनिसकेको थियो । जबकि, उनलाई साइन्स वा कमर्स पढ्न मन थिएन । एक्जाम गजब भएको थियो । जिल्लाकै फर्स्ट वा सेकेन्ड हुन्छु भन्ने आत्मविश्वास थियो ।

९ कक्षादेखि नै उनलाई डर लाग्न थालिसकेको थियो । त्यसपछि उनले पैसा जम्मा गर्न थाले । दसैँमा टीका लगाएकोदेखि पसल जाँदा बचेको पैसासम्म भेला गरे । एसएलसी दिँदासम्म २९ सय रुपैयाँ जम्मा भएको थियो । त्यो बेला मुगु–सुर्खेत हेलिकोप्टरको भाडा ६७५ थियो । मुगु–नेपालगन्ज ८२५ पर्थ्यो । कार्गो लिएर गएका हेलिकोप्टरले यति पैसामा प्यासेन्जर चढाउँथे ।

सपना देख्न न पैसा लाग्छ न समय । तर, सपना भेट्टाउन समय र पैसा दुवै लाग्छ । मिहिनेत र डेडिकेसन पनि चाहिन्छ । त्यसका निम्ति पनि अवसर फेला पार्नुपर्छ । अवसरको खोजीमा आफैँ लाग्नुपर्छ । अन्यथा, सपनाको अवसान आफैँ हुन्छ । त्यसैले मामाको छोरालाई फकाए । एसएलसी दिएको एक हप्तापछि मिन मुगुबाट नेपालगन्जको हेलिकोप्टर चढे, ८२५ रुपैयाँमा ।

नेपालगन्ज आएपछि सुरु भयो सिनेमा हेर्ने काम । मर्निङदेखि रातिको अन्तिम शोसम्म हेर्न थाले । नेपालगन्जमा वागेश्वरी र सृष्टि हल थिए । तीन घण्टाको फिल्म बिहानदेखि बेलुकासम्म हेर्थे । एक हप्ता एउटा हलमा अर्को हप्ता अर्कोमा । नेपालमा मात्र नभएर रुपैडिया, खजुरा गएर सिनेमा हेरे । सिनेमा हेर्नकै लागि बर्दिया र सुर्खेतसम्म पुगे ।

मामाको छोरासँग स्टेसनरी पसल बेचेको १० हजार रुपैयाँ रहेछ । कलेज पढ्ने दाइको कोठामा बस्थे । बस्न पैसा परेन । सिनेमा हेर्न पैसा छेलोखेलो भयो ।

घर फर्कन सर्त
एसएलसीको नतिजा आयो । जिल्लाकै थर्ड टपर भए । साउने संक्रान्ति आउँदै थियो । उनलाई घर जान मन लाग्यो । तर, रिजल्ट राम्रो आएकाले साइन्स पढ्न दबाब दिन्छन् भन्ने उनलाई थाहा थियो । त्यसपछि उनले फोन गरेर सर्त राखे– १, काठमाडौं पढ्न जान दिने । २, साइन्स होइन, मानविकी संकाय पढ्न दिने भए मात्र घर आउने । परिवारले भन्यो– हुन्छ, आइज ।

घर पुग्दा माहोल त उस्तै छ, बुवाको जंगबहादुर शैली किन परिवर्तन हुन्थ्यो र ! अमृत साइन्स क्याम्पसमा पढ्ने आफन्त थिए, उनीसँग सोधपुछ गरिरहेका थिए बुवाले । मिनलाई लाग्यो– साइन्स त जसरी पनि पढाउने नै भए ।

निर्णय गरे, फेरि नभागे उपाय छैन । 

काकाको छोरालाई कमर्स पढाउने कुरा थियो । उनलाई यसै पठाउँदै नै थिए । उसले कहिल्यै गाउँ नछोडेको । मिन नेपालगन्जमा लोकलजस्तै भइसकेका थिए । उनले भने– तलार्ईं यसै पठाउँदै छन्, म पनि भाग्छु । तर, फरकफरक बाटा भएर जाऔँ ।

उसले मिनको प्रस्ताव स्वीकार गर्‍यो । मिन भागे । नेपालगन्जमा भेट भयो । 

२०२ रुपैयाँमा काठमाडौं 
नेपालगन्जबाट मिन २०२ रुपैयाँ तिरेर साझा यातायात चढे, काठमाडौंका लागि । मिन र उनका दाइ एउटै गाडी त चढे, तर सिट एकैठाउँमा पाइएन । मिनको छेउमा बसेको मान्छे सरकारी कर्मचारीजस्ता थिए । सेतो कलरको चेक सर्टको खल्तीमा पैसाको बिटो थियो । मिनले गाउँमा छँदै सहरमा पैसा हराएका घटना र लुकाउने थुप्रै किस्सा सुनेका थिए । त्यसैले उनले ठाउँठाउँमा पैसा बाँधेर लुकाइसकेका थिए । आफ्नोभन्दा मिनलाई ती व्यक्तिको पैसाले तनाव दियो ।

“झ्यालको छेउमा बसेका ती मानिस निदाए । खल्तीमा पैसा छ । उनको पैसा यदि कसैले चोर्‍यो भने त्यसको आरोप त मलाई आउँछ । त्यो डरले म रातभर आँखा झिपिक्क नगरी बसेँ,” मिन भन्छन्, “मैले काकाको छोरालाई पनि यस्तोयस्तो छ, नसुत् है, कसैले चोर्‍यो भने हामीलाई दोष आउन सक्छ भनेर भनेको थिएँ ।”

कृष्णभीरमा पहिरो गएको रहेछ । एक दिन त्यहीँ जाम भयो । तनाव झन् लम्बियो । धन्न निद्रा परेन । पैसा चोरी भएन । दोष खेप्नु परेन ।

एकैपटक साइन्स र कमर्स
काठमाडौंमा दाइले अमृत साइन्स क्याम्पसको होस्टेलमा बस्ने व्यवस्था मिलाइसकेका थिए । भर्ना भए । तर, साइन्समा दिलचस्पी थिएन । त्यसपछि सरस्वती क्याम्पसमा भर्ना भए । पढ्ने मन त उनलाई सिनेमा थियो, तर पढाइ हुँदैन थियो । त्यसैले सिनेमासँग अलि नजिक हुने भएकाले ललितकला क्याम्पसमा चित्रकला पढ्ने रहर थियो । तर, विभिन्न कारणले त्यहाँ जान पाएनन् । उनले त्यही समय कमर्समा पनि भर्ना गरे । दोस्रो वर्षमा पुगेपछि बल्ल थाहा पाए, प्राइभेट पनि पढ्न पाइँदो रहेछ । त्यसपछि आर्ट्समा भर्ना गरे । यसरी सबैतिर भर्ना गरेर पढ्दा मिनलाई फाइदा पनि भयो । स्नातक तीन विषयमा र दुई विषयमा स्नातकोत्तर गरे । घरमा देखाउन एउटा र आफ्नै रहरले अर्को पढ्दाको फाइदा डबल डिग्री भयो । मिनले बुद्धिजम र राजनीतिशास्त्रमा स्नाताकोत्तर गरे ।

नाचघरमा भर्नाको किस्सा 
मुगु हुँदै मिनलाई थाहा थियो, काठमाडौंको नाचघरमा अभिनयको कक्षा सञ्चालन हुन्छ । त्यसैले माघदेखि नै उनले ‘गोरखापत्र’का सूचना हरेक दिन हेर्न थालेका थिए । काठमाडौंमा आएको आठ महिना बितिसकेकाले उनमा छटपटी सुरु भएको थियो ।

किताब किन्न पैसा हुँदैन थियो । उनी हरेक दिन कीर्तिपुर लाइब्रेरी पुग्थे । पत्रिका किन्न नसक्नु पनि अर्को कारण थियो, हरेक दिन कीर्तिपुर पुग्नुको । कलेजमा पत्रिका पढ्ने पालो आउँदैन थियो । त्यसैले पनि उनी दैनिक कीर्तिपुर पुग्थे । कलेजमा आफ्नो पालो आउँदासम्म विज्ञापन र सूचना काटेर चोक्टाचोक्टी मात्र हुन्थ्यो ! त्यसैले सूचना हेर्न कीर्तिपुर जानुको विकल्प थिएन ।

गाडीमा पत्रिका पढिसकेर बेरेर हातमा बोकेका यात्रुसँग मागेर पनि पढ्न पाइन्थ्यो । पत्रिका पसलमा पाँच मिनेटभन्दा धेरै पढ्न पाइँदैन थियो । पत्रिका र कोर्स बाहिरका किताब पनि पढ्न पाइने भएकाले उनी प्रायः हरेक दिन कीर्तिपुर जान्थे । 

त्यो विज्ञापन 
चैत महिनाका एक दिन त्यस्तै भयो । त्यस्तै ५ जति बजेको थियो । बल्खुमा गाडीमा यात्रुले फोल्ड गरेको पत्रिका मागे । सेकेन्ड लास्ट पेजमा नाचघरको विज्ञापन थियो । लेखिएको थियो– आज अन्तिम मिति ।

सिधै नाचघर पुगे । त्यहाँ पुगेपछि पो उनले थाहा पाए – फर्म भर्ने होइन, अन्तर्वार्ता दिने अन्तिम दिन रहेछ । पहिलो चरणको छनोट समेत सकिइसकेको रहेछ । उनी पुग्दा अन्तर्वार्ता लिइसकेर भित्रबाट निर्णायकहरू बाहिर निस्किरहेका थिए । अनुहारले त उनले त्यो बेला चिनेनन्, पछि थाहा पाए – मदनदास श्रेष्ठ, सुनील पोखरेल, नीर शाह र हरिहर शर्मा रहेछन् । अनुप बराल पहिल्यै निस्किइसकेका रहेछन् । हरिहर नाचघरका जीएम थिए ।

“मैले गेटमा हात जोडेँ । बिन्ती गरेँ । एकजनाले नमानेपछि अरूसँग पनि । तर, कसैले मानेन । आधा घण्टाभन्दा धेरै म त्यतै छट्पटिरहेको देखेपछि मलाई त्यहाँका सुब्बा सुदेश शर्मा (गायक)ले बोलाएर भन्नुभयो– मैले पठाएको भनेर नभन्नू, गेटमा कोही थिएन, त्यसैले सुटुक्क आएको भन्नू । माथि जीएम हुनुहुन्छ, उहाँले चाहनुभयो भने हुन्छ । नत्र तिम्रो काम हुँदैन,” मिन सम्झिन्छन्, “माथि पुगेर भनेँ– म मुगुबाट आएको, मलाई अभिनय सिक्ने एकदम रहर छ । मैले आज थाहा पाएँ । तर, मलाई जसरी पनि यो क्लास लिनु छ ।”

“नागरिकता छ ?”

“छैन ।”

“शैक्षिक प्रमाणपत्र छ ?”

“छैन ।”

हरिहरले सुनील र नीरलाई भित्र बोलाए । मिनलाई बाहिर पठाए ।

एकछिनपछि आवश्यक कागजात पछि ल्याउने सर्तमा कागज गराएर भने, “हेर भाइ, तिमीलाई छनोट गरेको होइन, दुर्गम जिल्लाबाट आएकाले छुटेको भनेर निवेदन लियौँ । तिम्रो अन्तर्वार्ता आजै लिन्छौँ ।”

मिनले फोटो, मार्कसिट, नागरिकता पछि ल्याउँछु भनेर कागज गरे । अन्तर्वार्ता दिए ।

त्यसपछि सुरु भयो नतिजाको प्रतीक्षा । अहिलेको जस्तो अनलाइन र सामाजिक सञ्जालको सुविधा थिएन । सूचनापाटी वा ‘गोरखापत्र’मा नतिजा हेर्नुपर्‍यो । मिन हरेक दिन नाचघर पुग्न थाले । कीर्तिपुर जाँदा र फर्कंदा दिनको दुईपटक पुग्थे । नौ दिनका दिन नतिजा निस्कियो । त्यो दिनको खुसीको पारो केले नाप्न सक्थ्यो होला र ! 

जनयुद्ध बन्यो बाधक 
जिन्दगी वक्ररेखाको यात्रा हो । कहिले उकालो कहिले ओरालो । कहिले मोड त कहिले सिधा बाटोको यात्रा । माओवादी युद्ध उत्कर्षमा पुग्दै थियो । काठमाडौंमा भन्दा यसको प्रभाव गाउँमा बढी थियो । दसैँमा घर गएका मिन उतै अड्किए । प्लेन नचल्ने, हिँडेर आउँदा माओवादीले कहाँ कसलाई लैजान्थे थाहै हुँदैन थियो । गाउँमै डेढ महिना लुकेर बस्नुपर्ने अवस्था आयो । कक्षामा नियमित भएनन् । सर्टिफिकेट हात पार्न सकेनन् ।

अभिनय उनको लक्ष्य थिएन । लक्ष्य नभएपछि त्यही ‘गोल’ हुने कुरा भएन । सिनेमा कलेज नभएपछि रंगमञ्चमार्फत अभिनय नै भए पनि सिक्छु भनेर जोडबलले भर्ना भएका थिए ।

“म अभिनेता हुन्नँ भन्नेमा जति क्लियर थिएँ, त्यति नै नाटक गर्नु छैन भन्नेमा पनि क्लियर थिएँ,” उनी भन्छन्, “फिल्म बनाउने प्रोसेसमा जेजे भेटिन्छ, त्यो नछोड्ने भन्ने मैले नीति नै बनाएको थिएँ । म अन्ततः जाने सिनेमामा नै हो, सिनेमाको कोर्ष केही छैन भनेपछि म यसैले टार्नुपर्छ भन्नेमा थिएँ ।”

यसमा पनि परिस्थितिले ङ्याक्यो । समयले साथ दिएन । ओरालो यात्रा सुरु भयो । स्कुलका टपर मिन नाचघरको मात्र होइन, फिल्म कलेजमा पनि कक्षाकै कमजोर विद्यार्थीमा गनिन थाले । भलै, उनले स्नातकोत्तरमा नेपाल टप गरेर शैक्षिक यात्रामा बीचमा गुमेको साख फर्काए ।

विडम्बना !

०६१ सालतिर ‘हिमालखबर’ पत्रिकामा सिनेमा बन्दै छ भनेर सूचना छापियो । सिनेमा कलेज ‘कलेज अफ फिल्म स्टडिज’ खुल्दै छ भनेर सूचना आयो । मिनको खुसीले धरहराको टुप्पो नाघ्यो । सूचनाका एकएक कटिङ राखे । पहिलो ब्याचमै पढ्ने निधो गरे । तयारी सुरु गरे ।

विडम्बाना, आफ्नै पढाइले फेरि धोका दियो ।

कस्तो धोका ?

कक्षा–१२ को परीक्षामा उनी फेल भए । ब्याचलर्स लेभलबाट सिनेमाको कलेज खुलेको थियो । मिन १२ मै फेल भएपछि सपनामा ठेस लाग्यो । पढ्न पाएनन् । तर अर्को वर्ष १२ पास गत भए । तर विद्यार्थी नपुगेर भर्ना फिर्ता भयो । सपना लम्बियो । 

पढ्न त पाएनन्, तर उनी कलेज गइरहन्थे । त्यहीँ फिडेलसँग भेट भयो । विनोद पौडेलसँग चिनजान भयो । पौडेल पहिलो ब्याचका विद्यार्थी थिए । उनीहरू सिनेमा पढ्थे । मिन नाटक गर्थे । एकेडेमीले नाटक डिरेक्सनका निम्ति आह्वान गर्‍यो । त्यहाँ पनि छानिए । नाटक निर्देशन गरे । भेटमा नाटक र सिनेमाबारे गफ गर्थे । एकार्काका अनुभव साट्थे । यसले सिनेमाबारे आफूलाई थप फराकिलो बनाउला कि भन्ने लोभ थियो ।

नाटकतिर
०६३ सालमा नाचघरपछि मिन अनुप बरालको एक्टर्स स्टुडियो पुगे । कारण, सिनेमा र नाटकबीच केही कुरामा समानता हुन्छ । त्यो उनलाई थाहा थियो । त्यसले पनि सिनेमा निर्माणलाई सहयोग गर्छ भन्ने उनको अपेक्षा थियो । ‘गुरुकुल’ सुरु भएको थियो । उनी नाटक हेर्न जान थालेका थिए । उनले थाहा पाएका थिए, नाटकको जग भए सिनेमालाई फाइदा गर्छ । त्यसैले वर्कसपमा भाग लिन जान थाले । केही नाटक निर्माणमा सहभागी पनि भए ।

“म गुरुकुलमै बस्थेँ पनि होला, तर त्यहाँ एउटा नियम थियो । गुरुकुल प्रवेश गरेपछि त्यहाँ नाटक वा अरु कुनै प्रोजेक्ट चलिरहँदा बाहिरको काम छोड्नु पर्थ्यो । तर, मलाई मास्टर्स सक्नु थियो । घरमा जसरी पनि मास्टर्स गरेर देखाउनु थियो । गुरुकुलमा धेरै साथीको पढाइ प्रभावित भएको देखेको थिएँ,” उनी भन्छन्, “बस्न जाने रहर थियो । त्यहाँको विद्यार्थी हुने भयंकर रहर थियो । त्यहाँको विद्यार्थीको इज्जत नै बेग्लै थियो । तर, त्यहाँभित्र बसेर नाटक लिएर भारत वा अन्य कतै जाँदा यता परीक्षा छुटेको मैले देखेको थिएँ । त्यो डरले मैले गुरुकुलको विद्यार्थी हुने आँट गरिनँ ।”

पछि स्नातक सकाएपश्चात् उनी गुरुकुल गए । त्यसमा पनि उनका दुई सर्त थिए । एउटा, स्यालरी नलिने । अर्को, कलेज र परीक्षा नछोड्ने । सिनियर ब्याचलाई ३५ सय र जुनियरलाई महिनाको २५ सय स्यालरी थियो । २५ सय त्यो बेलाको ठूलै रकम थियो । तर, उनी त्यसमा लोभिएनन् । विश्वविद्यालको शिक्षा पनि चाहिन्छ भन्ने थियो ।

थिएटरमा रहेर सिनेमाको माहोल
त्यहाँ रहँदा झन् उनी क्लियर भइसकेका थिए ।

के ?

सिनेमामा जाने भनेर । सिनेमाको माहोल नै बनाउन थालिसकेका थिए । ‘सिने शंकिपा’ भनेर मिन, फिडेल देवकोटा, प्रवेश गुरुङ, बलबहादुर थापालगायत व्यक्ति भएर हरेक शनिबार अल्टरनेटिभ सिनेमा भनेर चलचित्र देखाउन थालिसकेका थिए । एक्सपेरिमेन्टल फिचर सिनेमा देखाउँथे । त्यसको कोअर्डिनेटर फिडेल थिए ।

“फिडेल र म त्यही समयदेखिको साथी हौँ । सिनेमा क्षेत्रको साथी भने पनि गुरु भने पनि उही नै हो मेरो । आर्ट हाउस सिनेमाको भोक जगाउने काम फिडेलले नै गरेको हो,” मिन भन्छन्, “मसँग सिनेमा मेकर नै हुन्छु भन्ने त थियो, अहिले जस्तो टेस्ट छ, त्यतै नै थिएँ । अझै एक्सपेरिमेन्टल सिनेमामा बिगर ड्रिम जगाउने काम भने फिडेलकै हो । यो यात्रामा मेरो जग बसाउने काम फिडेलले नै गरेको हो ।”

०६७ सालमा फेरि फिल्म कलेज खुलेपछि मिन सिनेमा पढ्न गए । सपनाको बाटो लागे । 

मिनमा केही हठ पनि थियो । जस्तै – १, सुटिङको अनुभव नलिई सिनेमा बनाउँछु । २, कसैको असिस्ट नगरी चलचित्र बनाउँछु । ३, सिनेमाका मान्छेसँग मरिमेटेर संगत गर्दिनँ । “सिनेमाका मान्छेसँग त यसै पनि ठोक्किनुपर्छ नै, त्यसैले सिनेमाबाहिरका मान्छेसँग संगत गर्‍यो भने बाहिरी संसार अनुभव गर्न र बुझ्न पाइन्छ भन्ने लोभ थियो,” उनी भन्छन्, “त्यसैले अहिले पनि उमेर, संगत, सम्बन्धका हिसाबले मेरा साथी धेरै डक्टर, राजनीतिज्ञ र अरु फरकफरक क्षेत्रका अधिक छन् ।”

सायद उनमा केही अहंकार पनि थियो । सिनेमाका मान्छेसँगै संगत गर्ने हो भने नवीन सुब्बा, छिरिङ रितार शेर्पाजस्ता दिग्गजसँग गर्ने नि, अरूसँग के गर्नु भन्ने हठ थियो । अहिले मिन यसलाई अहंकार भन्छन् । भलै, यसले उनलाई समाजको विविधता बुझ्न सहयोग गर्‍यो । पछि उनले त्यही पनि गरे । फिचर फिल्मको सुटिङ अनुभव नगरी र कसैको असिस्टबिनै चलचित्र बनाए ।

“बरु, म भोको पेट बस्छु, अभावमा बाँच्छु, हिँडेरै कीर्तिपुर आउजाउ गर्छु, तर अरूको प्रोजेक्टमा काम गर्दिनँ भन्ने थियो । कारण, म गलत कुरा सिक्छु कि भन्ने थियो । र, त्यतै लहसिन्छु कि भन्ने डर थियो,” मिन भन्छन्, “दुईचार पैसा आउँछ, त्यसमै अलमलिन्छु र कम्फर्ट जोनमै रमाउँछु कि भन्ने थियो । त्यसैले कम्फर्ट जोन बनाउनु हुँदैन भन्नेमा प्रस्ट थिएँ । सुविधाको छनोटले मलाई ढाक्छ र पूरै छोप्छ भन्ने थियो ।”

मिन नवीनको चलचित्र ‘गुडबाई काठमाडौं’को सुटिङ हेर्न गए । एयरपोर्टको रोयल गल्फ क्लबमा सुटिङ भइरहेको थियो । “माथिबाट सुटिङ हेरेँ, तल छायांकन भइरहेको थियो । चराजत्रा मान्छे देखिन्थे । त्यतिमै चित्त बुझाएर फर्किएँ,” मिनले संघर्ष र सपनाका दिन सम्झिए ।

फिचर फिल्मका लागि उनले एकखालको कन्सेप्ट लेखिसकेका थिए । दशकअगाडिदेखि नै उनले कथा लेख्न थालेका थिए । त्यसको कन्सेप्ट स्पष्ट थियो । “‘कालो पोथी’को कथा ६/७ कक्षादेखि नै थियो । हीरा बिजुली नेपालीको इन्स्पिरेसनमा कहिले कविता त कहिले कथाको फर्ममा, कहिले वान लाइनरको फर्ममा विकास हुँदै पछिल्लो समय स्क्रिप्टको ड्राफ्टमा थियो,” उनी भन्छन्, “पछि त्यसमा परिमार्जन हुँदै गयो । समयानुसार केही थपघट भयो । आवश्यकताअनुसार परिवर्तन गर्ने काम भयो । सिनेमाको स्ट्रक्चरमा ल्याउँदा थपघट भयो ।”

निश्चलसँगको भेट 
परीक्षा भर्खर सकिएको थियो । योङ टिचरका रूपमा पढाउन आफैँ पढेको कलेज – कलेज अफ फिल्म स्टडिज (हाल ओस्कार इन्टरनेसनल कलेज)ले अफर गरिरहेको थियो । उनले पढाउन थाले । निश्चल बस्नेत नयाँ ब्याचका निम्ति भर्ना हुन आइपुगे । निश्चल र मिन नजिकिए । नजिकिनुका कारण थिए । १, निश्चलको मामाघर जुम्ला थियो । पछि थाहा भयो, उनीहरू नाता पर्दा रहेछन् । मितेरी साइनोले निश्चल मिनको फुपूको छोरो । २, कलेजमा ‘सूर्यलाइट’ तान्ने कम थिए । अरू ‘रेड’ तान्थे, मिन र निश्चल ‘लाइट’ । त्यहीँबाट टर्म मिल्यो ।

एक दिन कलेजअगाडि चिया पिइरहेका बेला निश्चलले अचानक भने– दाइ, एउटा स्क्रिप्ट हेरिदिनु न ।

आठ/नौ पेजको प्रिन्टेड स्क्रिप्ट मिनले त्यहीँ पढे । भने– सर्ट फिल्म बनाउन लागेको हो तिमीले ?

‘हो ।’

‘बजेट कति हो ?’

‘१२/१५ लाख ।’

‘लेन्थ ?’

‘३५ मिनेट ।’

‘किन बनाउन लागेको ?’

‘विदेशी फेस्टिभलमा जान ।’

मिनले भनिदिए, ‘यी तीनवटै चिज रङ भयो । पहिलो कुरा त, फेस्टिभलमा जान्छ जस्तो कन्टेन मलाई लागेन । दोस्रो, ३५ मिनेट लेन्थ लामो भयो । यति लामो सिनेमा सर्ट मुभी विधामा हम्मेसी लिँदैनन् । १२/१५ लाख किन सर्ट फिल्ममा हाल्छौ ? तीनवटै कुरामा तिमी फेलियर छौ ।’

‘पैसा कसले हाल्छ ?’

‘म आफैँले ।’

‘यत्रो पैसा किन खेर फाल्छौ ?’

‘होइन दाइ, आजबाट सुटिङमा जाने हो ! आज सुटिङको पहिलो दिन हो ।’

‘हुँदैन निश्चल ! प्लिज, यो नगर ।’

‘के गर्ने त ?’

त्यही बेला मिनको क्लासको बेस्टफ्रेन्ड निगम श्रेष्ठ आइपुगे । उनलाई भने, ‘निगम, निश्चललाई रोक । यो सही बाटो होइन । सिक्नलाई गर्ने हो भने १२ लाख खर्च गरेर किन सिक्ने ? सानो क्यामेराले खिच, एकदुई लाखको सिनेमा बनाऊ ।’

निश्चल ‘होइन, बनाउने नै हो’ भनेर जोस्सिन थाले ।

‘त्यसो भए म एउटा सल्लाह दिन्छु ।’

‘कस्तो सल्लाह ?’

‘१५ लाख तिमी हाल्छौ भने यसलाई बढाएर ३० लाख बनाऔँ ।’

‘३० लाखमा फिचर फिल्म बन्छ होला र ?’

‘पाँच लाख म हाल्दिन्छु, पाँच लाख निगमले हाल्दिन्छ । पाँच लाख मेरो दिदीलाई भनेर म हाल्न लगाउँछु । फिचर फिल्म बनाऊ । हलमा चलाऊ ।’

‘हो त !’

‘हो ।’

त्यहीँबाट निश्चल, मिन, निगम र अर्को एकजना साथी सस्तो होटेल खोज्दै गंगालाल अस्पतालको छेउमा पुगे । होटेलको नाम त उनले अहिले भुले, तर रुम अझै याद छ । तीन दिन रातदिन त्यहीँ बसेर ३५ पेजको स्क्रिप्ट तयार पारे । निश्चलकै आइडियामा बसेर त्यसलाई कसरी तन्काउने भन्नेमा मिन र निगमले सहयोग गरे ।

तीन दिनको बसाइ र फिचर फिल्मको स्क्रिप्ट तयार भएपछि आत्मविश्वासको पारो उचालियो । मिन गुरुकुलमा काम गर्थे । दयाहाङ राई, कर्मा उनका साथी थिए । सिनेमा खेल्ने रहर उनीहरूमा पनि थियो ।

‘कर्मालाई त म भन्न सक्तिनँ, उसको सिनेमा सानो संसार हिट भइसकेको छ । तिमीसम्म ल्याउने मेरो जिम्मा, पैसाचाहिँ तिमीहरू डिल गर । अरूलाई पैसासहित म डिल गर्छु । अब पैसाका लागि मेरो दिदीकोमा जाऊँ,’ मिनले भने, “चौथो दिन घर नगई हामी मेरो दिदीकोमा गयौँ । उहाँले पाँच लाख रुपैयाँ हाल्छु भन्नुभयो ।”

त्यसै दिन सौगात मल्ल, दयाहाङ राई, प्रवीण खतिवडालगायत मुख्य कलाकार भेटेर लक्ड गरे । त्यसरी बनाइएको थियो, ‘लुट’ । सिनेमा बनाएर मात्र हुँदैन, बजार पनि खोज्नुपर्छ भनेर माधव वाग्ले र नरेन्द्र महर्जनसम्म पुगे । अविनाशविक्रम शाहले माधव वाग्लेसँग भेट गराइदिएका थिए । सिनेमा बनेन मात्रै चल्यो पनि । चलेन मात्रै पनि नेपाली सिनेमा उद्योगमा नयाँ ट्रेन्ड सेट नै गरिदियो ।

झोलाभरि पैसा लिएर निश्चल...
चलचित्र ‘छड्के’को कास्टिङ हेरिरहेका मिन चितवन जाने तयारीमा थिए । निश्चलले फोन गरेर भने– एकछिन रोक्नु है, म त्यहाँ आउँदै छु । ‘छड्के’को अफिस तल छेउमा बोलाएर निश्चलले स्कुटरको डिकी खोले । मिनले देखे, डिकीमा झोला र झोलाभरि पैसा ।

‘यो पैसा राख ।’

‘किन ?’

‘तिमीले त्यसरी एक्टर जुटाइदियौ, थोरैमा रेट मिलायौ । फिल्म राम्रो चल्यो । डिस्टिब्युटरले सबै हिसाब मिलाउन बाँकी नै छ, म त पछि लिइहाल्छु । यो पैसा तिम्रै हातले देऊ,’ मिन नोस्टाल्जिक हुन्छन्, “निश्चल कस्तो राम्रो मान्छे होला, सबै एक्टरलाई साइन गरेको भन्दा पनि थपेर पैसा दिएको हो, त्यो पनि मेरै हातले ।”

‘बाँसुल्ली’मा निश्चलको सयोग
त्यसपछि निश्चलले मिनलाई सिनेमा बनाउन सहयोग गर्ने वचन दिए । ‘तिमीले उक्साएर मैले लुट बनाएँ । चल्यो पनि । पैसा आउँदै छ । तिमी सिनेमा बनाऊ, म इन्भेस्ट गर्छु,’ मिनले निश्चललाई भने, ‘फिचर फिल्म लेखिरहेको छु, अहिले नबनाऊँ होला । सर्ट मुभी बनाउन मन छ ।”

एकै वचनमा निश्चलले भने, ‘तिमी बनाऊ, म पैसा हाल्छु ।’ दुई लाख रुपैयाँ लगानी गरे । पोस्टको काममा समेत उनले सहयोग गरे । “लुटको न्युजिल्यान्डको राइट्सवापत आएको साइनइन अमाउन्ट २०० युरो पनि निश्चल आफैँ मलाई दिन राति आएको अहिले पनि भुलेको छैन,” मिन निश्चलप्रति अनुगृहीत सुनिए ।

निश्चलसहित अविनास शाह, अनुप पौडेल, हिराबिजुली नेपाली, सुरज, पवन, प्रज्ज्वल, अरुण, विनय र निमेश श्रेष्ठहरूको साथ र सहयोगले उनले ‘बाँसुल्ली’ बनाउने सपना पूरा गरे । 

यसरी बनाइएको ‘बाँसुल्ली’ मिनकै शब्दमा सिनेमाजगत्मा उनको आइरन गेट बन्यो । त्यसले मिनलाई सिनेमाजगत्मा प्रवेश गरायो । सानो सर्कल नै सही, पहिचान दियो । सिनेकर्मीसँग सम्बन्ध बनाइदियो ।

त्यसैले मिन भन्छन्, “मैले सिनेमा बनाउन त्यति संघर्ष गर्नु परेन, जति पढाइका लागि पापड बेल्नुपर्‍यो ।”

सिनेमाका निम्ति फाउन्डेसन बनाउन कठिन भयो । उनको रोजाइले उनलाई दुःख दियो । अहंकारले संघर्षको बाटो देखायो । मास्टर्स नगरी सिनेमा बनाउँदिनँ भन्ने संकल्प गरेका थिए । त्यसमा पनि अभावमै पहिलो सिनेमा बनाउनुपर्छ भन्ने भूतले दुःख दिएको थियो ।

आफैँले बनाएको कठोर लक्ष्मणरेखा 
‘बाँसुल्ली’ बनाएपछि मिनमा अब तात्तातै फिचर फिल्म बनाउनुपर्छ भन्ने बुझाइ भयो । जे जति सिकेको छु, त्यसकै जगमा कथानक चलचित्र बनाइहाल्नुपर्छ भन्ने थियो । स्क्रिप्ट लेखेकै वर्ष आमाले मिनलाई यो संसारबाट सधैँका लागि हात हल्लाइन् । त्यसले धेरै समय उनी एकोहोरिए । अझै मैले समय खोजेँ भने समय झनै धकेलिन्छ भन्नेमा थिए । त्योभन्दा पनि मिनलाई २९ वर्ष नकट्दै आफूले रोजेको क्षेत्रमा पहिचान बनाइसक्नुपर्छ भन्ने हेक्का दिमागमा गहिरो गरी बसेको थियो ।

पत्रकार तथा स्क्रिप्टराइटर सुष्मा जोशीले ठमेलमा एक दिनको चिया गफमा भनेकी थिइन्, “केटामान्छेको भाग्यको पिक पोइन्ट २८ देखि २९ वर्ष हो । भाग्यमा विश्वास नै गरेर त होइन, तर मलाई पनि त्यो कुरा लागिरहेको थियो,” मिन भन्छन्, “म आफैँ कडा अनुशासन बनाएर त्यसमै हिँड्ने मान्छे । मैले के निर्णय गरेको थिएँ भने, ३० वर्ष पुग्नु अगाडि नै मैले सिनेमा बनाउन सकिनँ भने सिनेमा नै बनाउदिनँ । बनाउँथेँ वा बनाउँदिन थिएँ थाहा छैन । तर, नियमचाहिँ कठोर बनाउँथे । त्यसभित्र रहेर हिँड्ने प्रयास गर्थेँ ।”

२८ वर्षमा सुटिङ गरेर २९ मा रिलिज गर्नुपर्छ भन्ने रोडम्याप बनाएका थिए । स्क्रिप्ट लक्ड भएको अर्को हप्ता लोकेसनमा थिए । नभन्दै त्यस्तै भयो, ‘कालो पोथी’ उनी २८ वर्षको हुँदा छायांकन भयो, २९ हुँदा रिलिज । आफैँले कोरेको लक्ष्मणरेखाभित्र बसे । अनुशासनभित्रै रहेर काम गरे ।  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro