site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
'बन्दुके धङधङी'बाट निर्देशित शासन

माओवादीको दशक लामो हिंसात्मक विद्रोहको एउटा प्रबल प्रवृत्ति थियो— समाजका सबै तह, वर्ग, पेसा र व्यवसायका लागेकालाई आतङ्कित तुल्याउनु र आफ्नो राजनीतिक, आर्थिक, सामरिक स्थार्थ पूरा गर्नु । चाहे चन्दा असुल्न होस् वा अन्य लाभका लागि समाजमा भय सृजना गर्नुपर्छ भन्ने रणनीतिमा तत्कालीन माओवादी अभ्यस्त थियो । त्यही रणनीतिअनुसार माओवादीले छानीछानी आफूसँग असहमत हुनेहरूलाई नियन्त्रणमा लिन्थ्यो ।

कतिपयलाई यातना दिएर छोड्थ्यो भने कतिपयको उनीहरूका शब्दमा ‘सफाया’ अर्थात् हत्या हुन्थ्यो । राजनीतिक शक्ति केन्द्रीकृत थियो जो सुकैमाथि आरोप लगाउने, फैसला गर्ने र दण्ड सजाय दिने एउटै प्राधिकार हुन्थ्यो । जताततै भय सृजना गरेर लाभ लिने रणनीतिमा माओवादी निकै हदसम्म सफल बनेको थियो । सर्वत्र डर व्याप्त जो थियो । 

माओवादी ‘जनयुद्ध’ का सुप्रिम कमाण्डर 'प्रचण्ड' उर्फ पुष्पकमल दाहाल थिए जो अहिले मुलुकका प्रधानमन्त्री छन् । र, देशमा संघीय लोकतान्त्रिक शासन व्यवस्था छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

माओवादी काल त्यसपछिका अनेक राजनीतिक आरोह अवरोहकासाथ संविधान सभाले संविधान बनायो । अहिले त संघीय नेपालमा दुईवटा आम निर्वाचनसमेत भइसकेका छन् । विधिअनुरूप शासन चलाउन संविधान र ऐन कानून बनेका छन् । लोकतन्त्रमा संवैधानिकता शासन गर्ने मूल आधार मानिन्छ तर व्यवहारमा के भइरहेको छ त ? पछिल्लो पुष्पकमल दाहाल नेतृत्वका पछिल्ला ९- १० महिना यता सरकारको बहादुरीका रूपमा ठूलो प्रचार गरिएका केही उदाहरण हेरौँ । 

ती मामिला केलाउँदा सरकार समाजका सबै तह, तप्का र पेसाकर्मीमा भय प्रसार गर्न अगाडि बढेको देखिन्छ । ‘हामी जे पनि गर्न सक्छौँ’ भन्ने मानसिकताबाट ग्रसित देखिन्छन् सरकारका जिम्मेवार पदाधिकारीहरू । घटनाहरूले त्यस्तै संकेत दिइरहेका छन् र त्यस्तै सन्देश प्रवाहित गरिएको देखिन्छ । 

Royal Enfield Island Ad

पछिल्लो घटना कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफतारीलाई नै लिऊँ । उनीमाथि नागरिकता अपचलन गरेको आरोप सरकारले लगाएको छ । नेपालको प्रमुख संचार माध्यमका अध्यक्षलाई मिडिया हाउसबाटै हतियारधारी प्रहरीले नियन्त्रणमा लिइएको र प्रहरी नियन्त्रणमै राखेर अदालती कारवाही चलाइएको घटनाको चौतर्फी आचोचना, विरोध भइरहेको छ । सिरोहिया प्रकरणलाई राम्रोसँग हेर्दा सरकार नियोजितरूपले उनीमाथि जाइलागेको देखिन्छ । 

तीव्र गतिमा  सम्पन्न यो प्रकरण 'अतिनाटकीय' पनि छ । र, यस प्रकरणमा सरकारको गृह मन्त्रालय, उस मातहतको प्रहरीसँग धनुषा जिल्ला अदालतसमेत जोडिन पुगेको देखिएको छ । अदालतका निर्णयमा सामान्यतः प्रश्न उठ्ने गर्दैन ।

यहाँ विचारणीय पक्ष के हो भने सिरोहियाको नागरिकता सम्बन्धमा वैशाख दोस्रो साता उजुरी परेको थियो र सोही उजुरीको आधारमा जेठ ८ गते प्रहरीको मागअनुसार अदालतले गिरफ्तार गरी कारबाही चलाउने अनुमति दिएको हो । अदालतको आदेशको आडमा सिरोहियालाई गिरफतारी गर्न  गृह प्रशासनले उच्च प्राथमिकता दियो । जनकपुरमा बिहान १० बजेपछि आदेश भयो, सोही दिन साँझमा सिरोहियालाई काठमाडौंमा गिरफ्तार गरियो र तात्तात्तै जनकपुर पुर्‍याइयो । 

प्रहरीको यस्तो तदारुकताका पछाडि गृहमन्त्री रवि लामिछानेको चाहनाले काम गरेको मानिएको छ । कान्तिपुरले पछिल्ला केही महिनादेखि सहकारीको ठूलो रकम अपचलनमा गृहमन्त्रीको संलग्नता पुष्टि हुने समाचार महत्त्वकासाथ प्रकाशित गर्दैआएको थियो ।

कान्तिपुरलगायतका संचार माध्यमले सहकारीबारे समाचार दिँदैआएका र प्रम्रुख विपक्षीले सहकारी अपचलनबारे गृहमन्त्री लामिछानेलाई केन्द्रमा राखेर संसद् अवरोध गरिरहेको पृष्ठभूमिमा उनले ‘देखाइदिने’ मानसिकताबाट ग्रसित भएर सिरोहिया प्रकरणको बीजारोपण गरेको स्पष्ट हुँदैआएको छ ।

कान्तिपुरलाई ‘ठेगान लगाउने’ अभिप्रायबाट उत्पन्न गराइएको यस प्रकरणमा गृहमन्त्री लामिछाने सतहमा देखिएका पात्र हुन् भने प्रधानमन्त्री पुष्पकमल दाहाद र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली (जो सरकारका संरक्षक हुन्) को पनि उस्तै चाहना अन्तर्निहित देखिन्छ । 

सिरोहिया प्रहरी नियन्त्रणबाट चाडै मुक्त होलान् तर यो प्रकरण जटिल हुने संकेत देखिदैँछन् । विडम्बना, सिरोहियाको नागरिकतामाथि औँलो उठाउने गृहमन्त्री आफैँ नागरिकता अपचलन मुद्दामा अदालतबाट कसुरदार ठहरिए पनि सजाय नपाएका व्यक्ति हुन् ।

दाहाल र ओलीको वरदानमा प्राप्त सत्ता राजनीतिको कवचले जोगिएका लामिछानेको दोहोरो राहदानी दुरुपयोगको मामला भने फौजदारी अभियोग हो । त्यो पनि सर्वोच्च अदालतको पछिल्लो फैसलापछि बल्झिने संभावना बलियो हुँदैगएको छ । सत्ता राजनीतिको अंक गणितमा  शेरको भूमिकामा रहेका रवि लामिछाने ओलीको शब्दमा भँगेराको हैसियतमा पुगेका छन् ।

ओलीले रविलाई कुन हदसम्म जोगाउन सक्ने हुन् ?  त्यो प्रकट हुँदै जाला तर यतिखेर राजनीतिक दृश्यमा उनको राजनीतिक ओज ओइलाउँदै गएको देखिँदै छ । त्यसो त नागरिकता प्रकरणमा संसद्का महासचिव  पद्मप्रसाद पाण्डेले 'उन्मुक्ति' पाएका छन् । ओलीका विश्वासपात्र पाण्डेमाथि कारवाही गर्ने आँट कसले गर्ने ? 

आफु र आफ्नालाई जोगाउने, विरोधी र आलोचकलाई प्रहरी डण्डा लगाउने सरकारको नीति छिपेको छैन । केही साताअघि सतहमा आएको बालमन्दिरको जमिन र बृहस्पती स्कुलको विवाद अहिले सामसुम छ । बालमन्दिरको जमिनको अपचलनसँग सम्बन्धित वर्षौंदेखिको विवाद सतहमा ल्याइयो । कारबाहीको तहमा ल्याउने ओलीकै कार्यकर्ता थिए, अहिले त्यसलाई सामसुम बनाउन पर्ने दायित्व ओलीकै काँधमा आइलाग्यो । प्रहरीले यो प्रकरणमा दुई साता अघि २० जनाविरुद्ध प्रक्राउ पुर्जी जारी गरेको थियो । प्रकाउ पुर्जी जारी हुनेमा ओलीका विश्वासिला विशाल ग्रुपका सदस्यहरू पनि परेपछि बालकोटको सिग्नलमा यस प्रकरणलाई थाती राख्न बाध्य भएको गाइँगुइँ सुनिएको छ । 

बाँसबारी छाला जुत्ता कम्पनीको जमिनसँग सम्बन्धित मामला २०८० माघ तेस्रो साता सतहमा ल्याइयो र  चौधरी ग्रुपका सदस्य अरुण चौधरी तथा तत्कालीन  महाप्रबन्धक अजितनारायण सिंह थापालगायतलाई प्रकाउ गरेर प्रहरी नियन्त्रणमा लिइयो ।

लामो समय अदालनतबाट म्याद थपेर प्रहरी हिरासतमा दुःख दिने षड्यन्त्रमा भने काठमाडौं जिल्ला अदालतले साथ दिएन । सरोकारवाला निकायले वर्षौं पुरानो यस मामिलामा लामो समयदेखि अध्ययन गर्दैआएको देखिन्छ । अध्ययन प्रतिवेदनहरू भने त्यत्तिकै थन्किएका थिए । प्रहरीबाट पनि अनुसन्धान भएको थियो ।

विगतमा गलत मनसायले र्चौधरी ग्रुपलाई जमिन दिइएको थियो भने सरोकारवाला निकायले नीतिगत निर्णय गरेर अदालती कारवाही अगाडि बढाउनु पर्थ्यो । अदालतले दोषी ठहर गरेको अवस्थामा मात्र प्रहरीको काम हुन्थ्यो अलालतको आदेश पालन गराउन सहयोगी बन्नु ।

तर, ऐन नियमअनुसारका न्यायका बाटा बन्द गरियो र प्रहरी नियन्त्रणमा राख्ने अनि अनुसन्धान गर्ने भनियो । नागरिकको व्यक्तिगत स्वतन्त्रता, सामाजिक मान प्रतिष्ठा खुइल्याउने, जनमानसमा आतङ्क फैलाउने, भयभीत बनाउने नियत राखेरै प्रहरी परिचालन गरिएको देखियो । यो मामला अहिले अदालतमा विचाराधीन छ । 

एउटा उद्देश्यका लागि ठूलो परिणाममा जमिन लिने र पछि त्यसलाई विभिन्न प्रयोजनमा प्रयोग गर्ने प्रवृत्ति नयाँ होइन । बाँसबारी छाला जुत्ता कम्पनीमात्र त्यस्ता अरू पनि धेरै छन् चर्चामा आएका । हयात होटल र तारागाँउ विकास समिति, गिरीबन्धु् टी स्टेटलगायत थुप्रै उदाहरण छन् । अध्ययन, अनुसन्धान गरेर यस्ता मामिलाको सम्बोधन कसरी गर्ने भन्ने नीतिगत स्पष्टता आवश्यक थियो । तर, यहाँ कसैलाई कारवाही कसैलाई संरक्षण गर्ने काममा मात्रै यस्ता घटना प्रयोग भएको देखिँदैछ ।

राज्य सबै नागरिकको अभिभावक हो र हुनुपर्छ । सरकारले गलत गर्ने र दोषीलाई नियमसम्मत कारवाही गर्नुपर्छ प्रहरी नियन्त्रणमा राखेर ‘ठीक’ पार्ने सोचमा कसैलाई दुःख दिने होइन । अदालतले बाहेक कोही कसैलाई सरकार आफैँले अपराधी ठहर गर्न मिल्दैन । अधिनायकवादी शासनसत्तामा मात्र यस्ता अभ्यास हुन्छन् । 

गत साउनमा ललिता निवास प्रकरणमा भाटभटेनी व्यापारिक समूहका मीनबहादुर गुरुङ्गलगायतलाई नियन्त्रणमा लिइयो र लामो समयसम्म प्रहरी नियन्त्रणमा राखियो । ललिता निवास प्रकरण पनि नयाँ होइन । वर्षौंदेखि सार्वजनिक बहसमा आएको, मुद्दा मामिला र अदालती कारवाही  भइरहेको विषयलाई प्रहरीले संगठित अपराधको आवरण दिएर गुरुङ्ग लगायतलाई नियन्त्रणमा लियो ।

भूमिसुधार मन्त्रालयका प्रतिवेदन, प्रहरी अनुसन्धान, महान्यायाधिवत्ता कार्यालयका नीतिगत निर्णयहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएका मुद्दाको  पृष्ठभूमिबीच ललिता निवास प्रकरणलाई यसरी बिउँताउने काम किन गरियो ? तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलै काम गरेको  प्रचार पछाडिको राजनीतिक स्वार्थको के थियो ? प्रश्नहरू अनुत्तरित छन् ।

उद्यमी व्यवसायीको मानर्दन गर्ने, उनीहरूको सार्वजनिक मान प्रतिष्ठामा आधात पुर्‍याउने र अपराधी करार गर्ने उद्यममा सरकार लागि पर्न मिल्दैन । ललिता निवास प्रकरणमा मीनबहादुर लगायतको मुद्दा अदालतमा विचाराधीन छन् ।  अदालतले धरौटी राखेर मुद्दा लड्न पाउने सुविधा दिएको छ ।

अख्तियारले चलाएको मुद्दा सुनुवाइकै क्रममा रहेको छ । यही मामलालाई फेरि उछाल्नुको तात्पर्य  ‘ठेगान’ लगाउने नियतबाहेक अरू देखिँदैन । पुष्पकमल दाहालमा ‘जनवाद’ वा माओवादी विचारअनुसार शासन चलाउने धोको हुनसक्छ तर वास्तविकता के हो भने उनी अहिले संसदीय राजनीतिक प्रणालीको अनुसार शासन गर्नुपर्ने जिम्मेवारीमा छन् । उनीबाट लोकतान्त्रिक पद्धतिअनुरूपको आचरणको अपेक्षा गरिन्छ ।

तर, पछिल्लो सिरोहिया प्रकरणलगायत केही घटनाले एकैपटक धेरै प्रश्न उब्जाएका छन् । निजी मिडिया पनि सरकारको अरनखटनमा चल्नुपर्छ भन्ने सरकारी मन सतहमा छरपस्ट भएको छ । प्रेसलाई नियन्त्रणमा राख्ने र ‘ठेगान’ लगाउने सोच आफैँमा प्रतिक्रियावादी हो । लोकतन्त्रमा यस्ता सोच, चिन्तनबाट सबै माथि उठ्न सक्नुपर्छ ।   

शासनमा बन्दुके धङधङी विगत ९ - १० महिनादेखि नै देखिँदैआएको भए पनि अहिले सिरोहिया गिरफ्तारी प्रकरण बढी चर्चामा छ । सरकारको रबैयाको चौतर्फी आलोचना भइरहेको छ । यसै प्रकरणमा प्रकाशित एउटा विज्ञप्तिको चर्चा गरौँ । 

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिषद् र नेपाल चेम्बर अफ कमर्सको सिरोहिया प्रकरणसम्बन्धी संयुक्त प्रेस विज्ञप्तमा लेखिएको छ —  ‘ थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकोले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारवाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न हामी आग्रह गर्दछौँ ।’ विज्ञप्तीको अर्को हरफ यस्तो छ ‘पहिला सुन्ने र गल्ती देखिएपछि मात्रै थुन्ने हो । तर, यहाँ पहिला थुन्ने अनि सुन्ने देखियो । यो गलत हो ।’ 

सामान्यतः यस्ता विषयमा बोल्न नरुचाउने उद्यमी, व्यवसायीले समेत अब खुलेरै सरकारी कारवाहीलाई गलत भन्दै औँलो उठाउन थालेका छन् । राजनीतिक वृत्तमा पनि सरकार निरंकुशतातर्फ उन्मुख भएको भन्दै खबरदारी सुरु भएको छ । अति भएपछि खती हुन्छ नै । भय प्रसार गरेर शासन गर्ने सोच बैलैमा परित्याग गरे दाहाल, ओली, लामिछाने सबैको कल्याण हुन्छ । बेलैमा सोचौँ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro