site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हकप्रदको नाममा यसरी ठगिदैछन् सर्वसाधारण 
SkywellSkywell

काठमाडौं । विद्युत नियमन आयोगले बुद्धभूमि हाइड्रोपावर कम्पनी लिमिटेडलाई १ः१ हकप्रद सेयर जारी गर्न सहमति दिएको छ । 

यसको अर्थ हाल ४० करोड रुपैयाँ चुक्तापुँजी भएको यो कम्पनीलाई सर्वसाधारण सेयरधनीबाट थप ४० करोड रुपैयाँ उठाउन पाउने बाटो खुला भएको हो । 

यसरी हकप्रद जारी गर्दा सर्वसाधारण लगानीकर्ताले केही पाउँदैनन् । झन् उनीहरूलाई आर्थिक भार बढ्छ ।  उनीहरूले आफूले प्रतिकित्ता १०० रुपैयाँमा पाउने सेयर पैसा नभएकै कारण गुमाउनुपर्ने पनि हुन सक्छ । 
यसका साथै हकप्रद जारी गर्नु भनेको कम्पनीले कमाएर सर्वसाधारणलाई दिन सक्ने अवस्था छैन भन्ने पनि हो । 

Dabur Nepal
NIC Asia

हकप्रद जारी गर्ने कम्पनीका प्रमोटर सेयरधनीहरू नै धनी हुने हुन् । उनीहरूले हकप्रदको नाममा महँगो सेयर सोझा लगानीकर्तालाई भिडाउन सक्छन् ।

बुद्धभूमिले ४.९९३ मेगावाट क्षमताको तल्लो तादी खोला जलविद्युत् आयोजना निर्माण गर्न आयोगसँग १५० प्रतिशत हकप्रद सेयर जारी गर्न प्रस्ताव गरेको थियो । 

तर, आयोगको वैशाख २४ गतेको बैठकले चुक्तापुँजीको १०० प्रतिशत हकप्रद सेयर जारी गर्न सहमति दिएको हो । 

यही सहमति बाहिरिएसँगै यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

यो कम्पनीको सेयर मूल्य बुधबार प्रतिकित्ता १० प्रतिशतले वृद्धि भएर ६७१ रुपैयाँ कायम भएको थियो । आइतबार भने समाचार तयार पार्दासम्म घटेर ६११ रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार यो कम्पनीको प्रतिसेयर आम्दानी ३४ पैसा छ । 

यसको मतलब कम्पनीको प्रतिसेयर कमाइ ३४ पैसा हो । 

त्यस्तै प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ २७ पैसा छ । यो भनेको अहिले कुनै सेयरधनीले ६७१ रुपैयाँ लगानी गरेमा कम्पनी बन्द भयो भने ९१ रुपैयाँ प्राप्त गर्न सक्छ । 

तर, १ः१ हकप्रद सेयर दियो भने यो कम्पनीले लगानीकर्ताको सम्पत्ति घट्छ । 

अहिले नै १०० रुपैयाँभन्दा कम सम्पत्ति भएको कम्पनीमा ६७१ रुपैयाँ लगानी गर्न सेयरधनी तयार छन् । 

हकप्रद जारी गर्दा सर्वसाधारणलाई फाइदा हुँदैन । बरू उनीहरूलाई बोझ थपिन्छ । उनीहरूसँग जति सेयर छ त्यति नै प्रतिकित्ता १०० रुपैयाँमा खरिद गर्न पाए पनि हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज हुँदा मूल्य समायोजन हुन्छ । 

त्यो समयमा यो कम्पनीको सेयर मूल्य घट्छ । तर, कतिपयले थाहा नपाएर हल्लाको पछाडि लाग्दा ठूला र बजार बुझेका लगानीकर्ताबाट फस्ने गरेका छन् । 

सेयर लगानीकर्ता तिलक कोइराला पनि कम्पनीले हकप्रद सेयर जारी गर्नु भनेको कम्पनीसँग सेयरधनीलाई दिन केही नभएर व्यवसाय वृद्धि गर्न वा अन्य प्रयोजनका लागि लगानीकर्तालाई नै दायित्व बोकाएको भन्ने बुझ्नुपर्ने बताउँछन् ।

तर, लगानीकर्ताहरू हकप्रदकै हल्लामा लागेर महँगोमा सेयर किनिरहेका हुन्छन् । 

अन्तर्राष्ट्रिय अभ्यासमा हकप्रद सेयर जारी गर्ने कुरा आउँदा त्यो कम्पनीको सेयर मूल्य घट्ने कोइराला बताउँछन् ।  नेपालमा भने हकप्रदकै कारण कम्पनीको सेयर मूल्य दैनिक सर्किट ब्रेक लाग्ने गरेको छ । 

“हकप्रद सेयर महँगोमा किनेर लगानीकर्ताले कमाउन सक्दैनन् । कम्पनीले उनीहरूलाई थप आर्थिक बोझ बोकाएको हो,” उनले भने, “आफूले आईपीओबाट पाएको सेयर छ भने हकप्रद खरिद गर्नु ठिकै हो । त्यो पनि राम्रो कम्पनी छ भने । वर्षाैदेखि प्रतिफल नदिने कम्पनीमा हकप्रद भर्नु राम्रो हैन । यस्ता कम्पनीको सेयर मूल्य बढेको समयमा बेच्नु नै राम्रो हुन्छ ।”  

कुनै कम्पनीको पुँजी वृद्धि हुनु भनेको बजारमा सेयरको सप्लाई बढी आउनु हो । 

त्यसले कम्पनीको सेयर मूल्यमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । हकप्रद आउने हल्ला बढ्दा जुनसुकै कम्पनीको सेयर मूल्य लगातार बढ्छ । 

बुद्धभूमि हाइड्रोपावर एक उदाहरण मात्र हो । यसअघि पनि हकप्रद सेयर जारी गर्ने कम्पनीहरू माथिल्लो तामाकोसी, हाइड्रोइलेक्टीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल), राधी विद्युत् कम्पनीलगायतको हकप्रद सेयरको हल्लाले गर्दा सेयर मूल्य अधिक बढेको थियो । यी कम्पनीमा सेयर मूल्य उच्च हुँदा लगानी गर्नेहरूले अहिलेसम्म फिर्ता पाउन सकेका छैनन् । हुन त धितोपत्र बजार जोखिम युक्त हुन्छ । यसमा लगानी गर्नु अध्ययन बढी चाहिन्छ ।

हल्लाको भरमा लगानी गर्नु हुँदैन । सेयर मूल्य उच्च हुँदै गर्दा एकथरी लगानीकर्ताले कमाउँछन् भने एक थरी लगानीकर्ताले गुमाउँछन् । त्यसलाई जोखिम कति लिने भनेर लगानीकर्ता आफैले निर्णय लिनुपर्ने हुन्छ ।  

राधी विद्युत् कम्पनी 

राधीले लाभांश र हकप्रदको हल्ला चलाएर सेयर मूल्य १३ सयसम्म पुर्‍याएको थियो । हकप्रद जारी गर्ने समयसम्म यो कम्पनीको सेयर मूल्य घटेको थियो । 

पछि यो कम्पनीको सेयर मूल्य हकप्रद जारी हुने मितिसम्म प्रतिकित्ता ५४९ रुपैयाँसम्म झरेको थियो । 

१ः१.४७५२ प्रतिशत हकप्रद सेयर समयोजन हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८१ रुपैयाँ ४० पैसा कायम भएको थियो । यो कम्पनीको प्रतिकित्ता १३ सय रुपैयाँमा सेयर खरिद गरेका लगानीकर्ताले घाटा व्यहोर्नुपरेको छ । 

यसरी एकथरीले घाटा व्यहोर्दा एक थरीले १३ सय रुपैयाँमा सेयर बिक्री गरेर कमाएका पनि छन् । 

हकप्रद जारी गर्दा कम्पनीको चुक्तापुँजी ६४ करोड ६४ लाख चार हजार ६२२ कित्ता थियो । अहिले यो कम्पनीको चुक्तापुँजी एक अर्ब ७५ करोड ५५ लाख ८९ हजार रुपैयाँ छ । पुँजी बढेसँगै यो कम्पनीको सेयर सप्लाई बढ्न पुग्यो । 

अहिले यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४५ रुपैयाँ छ । पछिल्लो एक वर्षमा यो कम्पनीको उच्च मूल्य ३०१ रुपैयाँसम्म पुगेको थियो । 

एचआईडीसीएल 
यो कम्पनीमा पनि धेरै लगानीकर्ता फसेका छन् । हकप्रदको हल्ला चलाएर कम्पनीको सेयर मूल्य ७०० रुपैयाँसम्म पुर्‍याइएको थियो । पछि हकप्रदका लागि बुक क्लोज गर्दा कम्पनीको सेयर मूल्य ५८६ रुपैयाँ कायम थियो । 

उक्त मूल्यका आधारमा कम्पनीले जारी गरेको १०० प्रतिशत हकप्रद सेयर समायोजन गर्दा प्रतिकित्ता ३४३ रुपैयाँ कायम भएको थियो । 

अहिले यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७० रुपैयाँ छ । यो मूल्य पछिल्लो एक वर्षदेखि यति नै छ । एक वर्षको अन्तरालमा यो कम्पनीको सेयर मूल्य २१२ रुपैयाँसम्म पुगेको थियो । 

हकप्रद सेयर जारी गर्दा यो कम्पनीको चुक्तापुँजी ११ अर्ब रुपैयाँ थियो । १ः१ मा हकप्रद जारी गरेपछि कम्पनीको सेयर बढेको हो । अहिले २२ अर्ब ८७ करोड ३९ लाख ८ हजार ४०० रुपैयाँ छ । 

माथिल्लो तामाकोसी 
२०७९ सालमा कम्पनीको चुक्तापुँजीको १ः१ हकप्रद सेयर जारेको थियो । 

हकप्रदकै हल्ला चलाएर यो कम्पनीको सेयर मूल्य पनि ६०० भन्दा माथि पुर्‍याइएको थियो । हकप्रद सेयरको हल्ला चलाएरै दैनिक यो कम्पनीको सेयर मूल्यमा सर्किट लगाइएको थियो । 

चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ हुँदा कम्पनीको सेयर मूल्य अधिक बढ्दा पनि लगानीकर्ताले हकप्रदकै लोभमा सेयर खरिद गरे । 

पछि यो कम्पनीको हकप्रद सेयर समायोजन हुँदा प्रतिकित्ता २४३.०५ रुपैयाँ कायम भएको थियो । प्रतिकित्ता ६०० भन्दा माथि यो कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताहरूले कति घाटा व्यहोरे कसैलाई थाहा छैन । 

थाहै नपाई यसरी सर्वसाधारण लगानीकर्ता हकप्रदको नाममा फसिरहेका हुन्छन् ।  तर, हकप्रद सेयर के हो भनेर थाहा नपाउँदा बजारका खेलाडीबाट ठगिइरहेका छन् । कम सेयर सप्लाई हुँदा माग बढेसँगै मूल्य बढ्छ । त्यही बीचमा टाठा बाठा लगानीकर्ता बाहिरिन्छन् । हकप्रद सेयर दोस्रो बजारमा सूचीकृत हुनेबित्तिकै साना लगानीकर्ता फस्छन् । 

कम्पनीले थप पुँजी आवश्यक परेकाले हकप्रद जारी गरी आफ्नो आर्थिक खाँचो टार्ने हुँदा यसले लगानीकर्तालाई फाइदा नगर्ने कोइराला बताउँछन् । 

“हकप्रद जारी गर्दै छ भने कम्पनीले कमाएर हामीलाई दिने अवस्था रहेनछ भन्ने बुझ्नुपर्छ,” उनले भने, “हकप्रद जारी गर्नु भनेको बजारमा सेयर संख्या बढाउनु हो । यसरी सेयर संख्या बढ्दा कम्पनीको प्रतिशेयर आम्दानी घट्छ । कम्पनीले सेयरधनीलाई दिने प्रतिशेयर लाभांश पनि घट्छ ।”

दोस्रो बजारमा महँगोमा सेयर किनेर हकप्रद भरी पैसा कमाउँछु भन्नेमा लगानीकर्ता लाग्न नहुने पनि उनको भनाइ छ । नियामकै लापरवाहीले गर्दा अहिले सर्वसाधारण लगानीकर्ता फस्ने गरेको उनी बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu