site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘कार्यादेश बनाउने र सहमति जुटाउने सम्पूर्ण अधिकार शीर्ष नेतामा’

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा ध्रुवीकरण भएपश्चात् संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बन्न सकेको छैन । प्रमुख प्रतिपक्ष दल कुनै पनि हालतमा रविको नाम समावेश गर्नुपर्ने पक्षमा छ । तर, सत्तापक्ष उक्त कुरालाई मान्यता दिने पक्षमा छैन । 

सहकारीको बचत रकम अपचलन र ठगी भएको भन्दै निरन्तर संसदीय छानबिन समिति बनाउनुपर्ने माग सदनमा उठ्यो । प्रतिपक्षमा पुगेपछि कांग्रेसले यो माग निरन्तर उठाएको हो । जसका कारण संसदीय कामकारबाही नराम्ररी प्रभावित भएको छ ।

सभामुख देवराज घिमिरेले पनि जबर्जस्ती गरेको आरोप पनि लागेको छ । कार्यदलमा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसबाट सदस्यहरू बसेका छन् । कार्यदलको नेतृत्व कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले गरेका छन् । एमालेबाट प्रमुख सचेतक महेश बर्तौला, रास्वपाबाट सांसद शिशिर खनाल तथा नेपाली कांग्रेसबाट सहमहामन्त्री जीवन परियार सदस्य छन् । 

सोही कारण छलफलस्थल पनि कानुन मन्त्रालय नै हुने गरेको छ । समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएका नेताहरू पनि निरन्तरजसो नै छलफलमा हुन्छन् । तर, सहमति जुट्न सकेको छैन । आखिर किन त ? 

कार्यदलकै सदस्यहरू नै भन्छन्– कार्यादेश बनाउने र सहमति जुटाउने सम्पूर्ण अधिकार उनीहरूको हातमा छैन । “हामीले छलफल गर्ने हो । तर, हामीले टुंगो लगाउने हैन । अधिकार हामीलाई छैन,” ती नेताले भने । 

उनको भनाइले स्पष्ट हुन्छ कि जति समितिमा छलफल गरे पनि सहमति चार नेता बसेर मात्रै हुन्छ । अर्थात् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाको सहमति नभएसम्म टीओआर स्वीकार्य हुँदैन । 

कार्यदलमा रहेका सदस्यहरूले पनि विषयमा छलफल गर्ने र यस्तो प्रस्ताव आयो के गर्ने भन्दै तुरून्त शीर्ष नेताहरूलाई सोध्ने गरेका छन् । “उताबाट प्रस्ताव आए हामीले शीर्ष नेतालाई सोध्ने, हामीले प्रस्ताव गरे उहाँहरूले शीर्ष नेतालाई सोध्ने । माथिबाट नमिलेसम्म तल मिल्दैन,” ती नेताले थपे । 

समिति बनाउनुको उद्देश्य नै उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेको छानबिन गर्नु भएको भनाइ कांग्रेसको छ । यो विषयमा कांग्रेसले पटक पटक आफ्नो धारणा राखिसकेको छ । रास्वपा र एमालेले भने समिति बन्दै नबन्ने अडान राखेका थिए । समिति बन्ने भएपछि व्यक्ति केन्द्रित समिति नबन्ने अडान उनीहरूको छ । “नाम नलेखे कांग्रेस, नाम लेखे सत्ता पक्ष कमजोर भएको म्यासेज जान्छ,” ती सदस्यले भने, “नमिलेको कुरा यति हो ।” 

यही विषयमा इगो बन्दा विषय मिल्न सकेको छैन । तर, रविको नामै नलेखी सार्वजनिक पद धारण गरे व्यक्ति वा यस्तै शब्दहरू प्रयोग गर्न सकिन्छ कि भनेर सत्ता पक्षले प्रस्ताव समितिमा पुर्‍याएको छ । यस्तै, अनुसूचीमा सम्पूर्ण समस्याग्रस्त सहकारीको नाम उल्लेख गरी सहमति जुटाउने प्रयास पनि भइरहेको छ ।

“गोरखा मिडिया नेटवर्कमा पैसा गएको र त्यसको अपचलन भएको विषयलाई समेटेर पार्टीले कार्यादेश बनाउन कार्यदलमा भएका साथीहरूलाई निर्देशन दिएको छ । सुरूआतमा फाइल सुप्रिम, सहारा हुँदै खोलिने र लामिछानेको संलग्नता पुष्टि हुने हाम्रो अडान छ,” कांग्रेसका एक सांसदले भने ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro