site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हामीकहाँ यस्ता प्रधानमन्त्री र सभामुख पनि थिए 

सबैभन्दा पहिला संसद्मा जस्ता घटना भइरहेका छन् । यसको निष्कर्ष के हो भने नेताहरू अझै सुध्रिएको देखिएन । आफ्ना विगतका गल्तीहरूबाट जनताले सच्याउन कोसिस गरे, दण्डित पनि गर्न खोजे । त्यसबाट पनि पाठ सिकेनन् ।

संसदीय व्यवस्थाको मूल आत्मा भनेको संसद हो । संसद्लाई प्रभावहीन बनाउने गतिविधि भइरहेका छन् । त्यसले जनताको मनोविज्ञानमा राजनीतिक दलहरूप्रति निराशा, नेताहरूप्रति आलोचना र कहिलेकाहीँ अब नेताहरू भ्रष्ट छन् भन्ने भाष्य तयार हुँदैछ ।

यही भाष्यलाई बल पुग्ने काम संसद्मा भएका छन् । यद्यपि यो नयाँ होइन । यसअघि पनि संसद् अवरोध हुँदा पनि काम–कारबाही अघि बढेका थिए । हुँदाहुँदा संविधानसभामा पनि यसैगरी चलाएर जारी गरिएको थियो ।

Dabur Nepal
NIC Asia

अब नीति तथा कार्यक्रम पारित गरेर बजेट पनि त्यसैगरी आउला ।

नीति निर्माण बनाउने थलो कमजोर भयो । राजनीतिक नेतृत्वमा त्यो चेत अझै आएको देखिँदैन । नेपालको संसदीय इतिहासमा जाने हो भने सधैं यस प्रकारका असंगति भोग्नुपर्‍यो । ०१५ सालको संसद् हेर्दा पनि हुन्छ । जुन प्रतिपक्ष आएको थियो– त्यो एक किसिमले राणाहरूकै पार्टी थियो । गोरखा परिषद त्यसकै लागि निर्माण भएको थियो ।

जो बहुदलीय व्यवस्थाको घोर विरोधी थियो । आफूलाई नै विस्थापित गरेर आएको ठान्थ्यो । तत्कालीन राजा पनि संसदीय व्यवस्थाका हिमायती थिएनन् । एक डेढ वर्षमै संसद् र निर्वाचित सरकार अपदस्थ गरी कुत्सित मनसाय प्रदर्शन गरेकै हुन् । 

संसद्ले यही मनोविज्ञान भोग्नुपर्‍यो । रमाइलो कुरा पनि के छ भने संसद्मा रहेका दल तथा नेतालाई त्यसबाट आरोपित गर्न खोजियो । एक डेढ वर्षमै विफल बनाउन खोजियो । यथार्थमा के हो भने संसद् चल्नै नदिने मनोविज्ञान हो । चुनाव हुनुभन्दा अघि नै बनिसकेको रहेछ, त्यसबेला ।

०४८ पछिको अवस्था हेर्ने हो भने नेपालका कम्युनिष्ट पार्टी निर्वाचन पद्धतिमा आउनु त्यो स्वागतयोग्य कुरा हो । जुन अहिले शास्त्रीय आफ्ना विचार र सिद्धान्तलाई परिमार्जित गर्दै निर्वाचनको माध्यमद्वारा अघि बढाए । मदन भण्डारी वास्तवमा यसमा सम्झिनलायक पात्र हुन् ।

तर कम्युनिष्ट पार्टीको दोहोरो मापदण्ड सधैँ रह्यो । एकातिर सर्वहाराको अधिनायकत्वका कुरा छाडेनन् । तिनले संसद् प्रयोगको थलो हो भन्ने मनोविज्ञानका साथ प्रयोग गरे । सधैं कम्युनिष्टले प्रभावहीन बनाउने भूमिका निर्वाह गरे ।

संसदीय व्यवस्था हाम्रो लक्ष्य होइन प्रयोगमात्रै गरेका हौँ भन्ने प्रतिवद्धताविहीन वक्तव्य हुन्थ्यो । कम्युनिष्ट सांसदहरू सदनमै भन्थे, ‘यो खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो ।’

त्यसले कहिले पनि संसद् बलियो हुन सकेन । नयाँ दल आए, नयाँ पात्र आए त्यस्तै देखियो । माओवादी आउँदासम्म पनि करिब करिब यही अवस्था हो ।

तिनीहरू संसद्मा आउन त आउँछन् क्रान्तिकारी धारका साथमा । बाहिर बसेकाले के देख्छ भने संसदीय भासमा फस्यो भन्छ । त्यो समूहको बहुमत चाहिँ संसद्मा पुग्छन् । प्रयोग गर्न पनि भन्छन् तर संसद्का गरिमा र मर्यादालाई बिगारीसकेपछि त्यसलाई आत्मसात गरेको देखिन्छ ।

तर अर्को पात्र आइसकेको हुन्छ बिगार्नका लागि । पुरानो भनाइ छ वन साङ्लोले घर साङ्लोलाई लखेट्छ । वन साङ्ला पहिला घरमा आउँछन् बस्दा बस्दा घर साङ्ला भइहाल्छन् । घरमा रहेका साङ्लाहरू भाग्छन् ।

वनबाट आएका साङ्ला नै घर साङ्ला हुन्छन् फेरि वनबाट अर्को समूह आउँछन् ती पनि भाग्ने अवस्थामा पुग्छन् । किनकि ती वनमा रहेका आफ्ना पुराना साथीसँग रहनै सक्दैनन् । यस्तै प्रवृतिबाट संसद् चलिरहेको छ । त्यसैले संसदीय व्यवस्थाको जग बसाल्ने, प्रभावशाली बनाउने काम भएन । एक थान सरकार बनाउनेभन्दा बढी देखेनन् ।

सबैभन्दा पहिला ०४८ र ०५१ को संसद् चाहिँ हेर्नुपर्छ । त्यसबेला सरकार पनि प्रभावशाली भएर आयो र संसद् पनि । त्यसको एकमात्रै कारण के हो भने तत्कालीन सभामुख दमननाथ ढुंगानाको निष्पक्ष र तटस्थ भूमिका हो ।

उहाँले जुन पार्टीको  प्रतिनिधित्व गर्नुहुन्थ्यो सबैभन्दा बढी दुखी त्यही पार्टी भयो अर्थात् उहाँले नेपाली कांग्रेसलाई भन्दा बढी अरुलाई हेर्नुभयो ।

कांग्रेसले उहाँलाई राम्रो मानेन, उहाँले पनि प्रवाह गर्नुभएन । उहाँको भनाइ हुन्थ्यो– धेरैपछि हाम्रोमा संसदीय व्यवस्था चल्न थालेको छ । हामीले जे नजिर स्थापित गर्छौँ भोलिको नजिर बन्दै जानेछ । त्यसकारण सत्तापक्षको सरकार, प्रतिपक्षको संसद् । 

यो भूमिकाले गर्दा जुन जवाफदेहीपनको भावना बढी हुन्थ्यो । सरकार प्रभावकारी हुनु भनेको संसद् प्रभावकारी भएर नै हो । पछि क्षीण हुँदै गयो । 

यतिखेर एकथान संसद्मात्रै भए पुग्छ भन्ने ठानिएको छ । निर्वाचनबाट संसद् बनाऔँ, त्यसको काम सरकार बनाउने र गिराउने काममात्रै हुँदा जनताको मनोविज्ञानमा जुन भाष्य तयार भइरहेको छ, त्यसलाई नै बलियो बनाउँछ । प्रणालीको लागि हितकर हुँदैन । राजनीतिक नेतृत्वले बुझ्नुपर्ने हो बुझेको देखिएन ।

नाराको बीचमै नीति तथा कार्यक्रम पारित होला । बजेट पनि त्यसैगरी पारित होला । यो सन्देशले प्रणालीप्रति विश्वास उत्पन्न गर्दैन त्यसको उल्टो हुनेछ ।

यी पात्र जति छन् उनीहरूको क्रियाकलापले प्रकारान्तरले संसदीय व्यवस्था र वर्तमान संविधान कमजोर बनाउनेछ ।

व्यवस्था नै खतरामा त भन्न मिल्दैन । तर कमजोर चाहिँ हुन्छ । संविधानको प्रयोग गर्दा जहाँ बाधा र अड्चन गरेर अब संशोधनतिर जानुपर्ने अवस्था हो । झन् भीडन्त हुने अवस्था आउन सक्छ ।

यतिखेर संसदीय छानबिन समितिको जुन माहौल छेडिएको छ । संसदीय समिति बनाउने जुन विषय आयो त्यसअघि नै यो विषय अर्थ समितिले हेरेको भए हुन्थ्यो । जुन संसद्को समिति नै हो । त्यो चुक्यो । त्यसपछि संसदीय समितिको माग आयो त्यो निकै सामान्य माग हो । त्यो तत्कालै पूरा गर्नुपर्ने माग हो । अब आयो व्यक्तिको नाम राख्ने कि नराख्ने ।

संसदीय परिपाटीमा के हुन्छ भने व्यक्ति उल्लेख नगरी विषय उल्लेख गर्ने चलन छ ।

तर समिति बन्नै नदिने अडान चाहिँ संसद् विरोधी अडान हो । यसको अर्थ के हुन्छ भने व्यक्तिले केही न केही गल्ती गरेकै रहेछ । र, त्यसलाई चाहिँ लुकाउन र छोप्न संसदीय समिति बन्न नदिने काम गलत हो । संसदीय समिति बन्नु सामान्य काम हो ।

मैले यहाँ पुुरानो एउटा घटना स्मरण गराउन चाहन्छु । मनमोहन अधिकारी प्रधानमन्त्री हुनुहुन्थ्यो, म लेखा समितिको सभापति थिएँ । एकाबिहानै उहाँले फोन गर्नुभयो । अहिलेजस्तो मोबाइलको चलन थिएन । मेरो परिवारले फोन उठाइन् र भनिन्– मनमोहन दाइको फोन छ । हामीले उहाँलाई दाइ दाइ भन्थ्यौँ । 

उहाँले फोनमा भन्नुभयो– ‘पावर करप्ट पिपुल । हाम्रा साथीहरूको लेवीको चिनीमा र्‍याल चुहिन थाल्यो । यसमा तत्काल छानबिन गर्नुपर्‍यो । आवश्यक परेमा मलाई पनि समितिमा बोलाउनू ।’

संयोगले त्यही दिनमा समितिको बैठक थियो । मैले हुबहु यही कुरा समितिमा राखेँ । अनि एकैछिन विवाद भयो । उहाँ एमालेका तर्फबाट प्रधानमन्त्री हुनुहुन्थ्यो । एमालेकै केही साथी अलमलमा परे । पछि सबै ‘कन्भिन्स’ भए अनि प्रक्रिया अघि बढाए ।

त्यो बेला तत्कालीन मन्त्री सीपी मैनालीलाई बर्खास्त नै गर्नुभयो समितिको रिपोर्टपछि । त्यस्ता नेताहरू पनि नेपालको राजनीतिमा थिए । अर्को घटना थियो, मलको विषयमा पनि छ । हामीले हेरेपछि धेरै परिवर्तन भएको थियो । 

मनमोहन अधिकारीको विश्वास त्यस्तो थियो । हामी कहाँ दमननाथ ढुंगाना जस्ता सभामुख पनि थिए र मनमोहन अधिकारी जस्ता नेता पनि थिए । प्रधानमन्त्री आफ्ना मन्त्रीलाई तह लगाउन संसदीय समिति गुहार्नुहुन्थ्यो, अचेलका प्रधानमन्त्री र सत्तारुढ नेताहरू समिति समेत बन्न दिँदैनन् ।

स्थानीय तहमा अराजकताको अवस्था छ । बेरुजु निकाल्छ छलफल गर्ने ठाउँ नै छैन । अहिलेको अवस्था बिग्रको अवस्था पनि छ ।संसदले सबै काम आफैं गर्न सक्दैन । त्यसैले समितिलाई पनि प्रभावकारी बनाउनुपर्छ । संसदीय व्यवस्था सभ्यहरूको प्रणालीको हो, अभद्रहरूको लागि होइन ।

त्यसकारण यसका हरेक क्रियाकलाप सभ्यहरूका लागि निर्देशन हो अभद्रहरूको लागि कुनै अर्थ नै राख्दैन ।

(पूर्वमन्त्री तथा पूर्वसांसद त्रिपाठीले बाह्रखरीसँग गरेको कुराकानीमा आधारित)

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ०९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro