
काठमाडौं । स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा आज देशका केही स्थानमा वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोसी र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
विभागका अनुसार राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ ।
पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।