दयाहाङ राई, विपीन कार्की र सौगात मल्ल पछिल्लो दशकमा अभिनयमा अब्बल कहलिएका नाम हुन् । उनीहरूको ठूलो फ्यान फलोइङ छ । त्यहीअनुसार सिनेमामा काम गरिरहेका छन् । दर्शक र फिल्ममेकरबाट पनि त्यस्तै इज्जत पाइरहेका छन् । ठिक यही समय निर्देशक नवीन सुब्बा भने चलचित्र उद्योगमा फुट्ट एक्लै उभिन्छन् र भनिरहन्छन्– थिएटरबाट आएका अभिनेताले नेपाली चलचित्रको अभिनय नै बिगारे । यति मात्र पनि होइन, उनले नामै लिएर भनिरहे– दयाहाङ, सौगात र विपीनजस्ता कलाकारले गर्दा नेपाली चलचित्रको अभिनय बिग्रियो ।
नवीनको यो टिप्पणी स्वयं दयाहाङले पनि सुनिरहेका थिए । पढिरहेका थिए । हेरिरहेका थिए । आफ्नो नाम नै लिएर नवीनले गरेको टिप्पणी उनले थुप्रैपटक पढिसकेका थिए । “स्वाभाविक पनि थियो, म धेरै काम गरिरहेको थिएँ । त्यसैले पनि नवीन दाइलाई उदाहरण दिन मेरो नाम सजिलो पनि भइरहेको थियो,” दयाहाङ नवीनले आफूमाथि गरेको टिप्पणप्रति प्रतिक्रिया दिन्छन् ।
दयाहाङ नाटकको बाटो हुँदै सिनेमाको भर्याङ चढेका अभिनेता हुन् । उनले थिएटर सिके । नाटक गरे । त्यसैले अभिनयमा नाटकको स्कुलिङ थियो । त्यो स्वाभाविक पनि थियो ।
“थिएटरबाट त्यहाँको अभिनयबारे बुझेर चलचित्रमा आएँ । थिएटरको अभिनय जस्तो हुन्छ, त्यस्तै नाटकमा पनि गर्न थालेँ । जबकि, सिनेमाको अभिनय छुट्टै हुन्छ । यसमा यिनीहरू सिरियस भएनन् भन्ने उहाँको भनाइ थियो,” दयाहाङ भन्छन्, “एकातिर धेरै काम गरेको हिसाबले पनि र अर्को, धेरै सिनेमामा मुख्य चरित्रमा देखिने भएकाले पनि होला, उहाँले दिने धेरै उदाहरणमा म नै पर्थेँ ।”
भलै, दयाहाङ स्वयंले यो रियलाइज गरिरहेको विषय थियो । तर, त्यसलाई घटाउने वा हटाउने कसरी कुनै उपाय थिएन । यसको ज्ञान र स्रोत पनि थिएन । भएको ज्ञानस्रोत पनि कमी हुँदै गएको उनले महसुस गरिरहेका थिए ।
कालान्तरमा एउटा यस्तो दिन आयो, नवीन स्वयं दयाहाङसँग काम गर्न ठोक्किए । नवीनले दयाहाङलाई आफ्नो चलचित्रमा काम गर्न आग्रह गरे । आफ्नाबारे टीकाटिप्पणी गरिरहने निर्देशकसँग काम गर्न पाउनु केही नयाँ कुरा सिक्न पाइन्छ कि भन्ने पनि हो । यो लोभले दयाहाङ नवीनसँग काम गर्न राजी भए ।
नवीनले दयाहाङलाई आफ्नो सिनेमामा अनुबन्ध गराउने भएपछि एउटा टिमलाई अभिनयमा दयाको कमजोरी र ‘रिपिटेसन’बारे टिपोट नै गर्न लगाए । त्यो टिमले उनको कमजोरी पोइन्टआउट गरेर नवीनलाई बुझायो । नवीनले ३० मिनेटकाे भिडियो नै बनाएर दयाहाङलाई बोलाएर देखाए । “मेरो कमजोरी अर्थात् रिपिटेसन कसरी भइरहेको रहेछ भनेर मेरा १५/२० वटा चलचित्र हेरेर त्यहाँबाट फुटेज निकालेर जोडेर भिडियो नै बनाउनुभएको रहेछ,” दयाहाङ भन्छन्, “हामीले त्यो लामो भिडियो सँगै बसेर हेर्यौँ ।”
भिडियो हेरेपछि दयाहाङले रियलाइज गरे, एउटा पूरै सिन एउटै मुडमा गर्दा रहेछन् । त्यो थिएटरको स्कुलिङको प्रभाव रहेछ । “एउटै मुडमा अभिनय गर्दा को–एक्टरको मुड तथा क्यामेराको टाइमिङ नमिल्दा एकले अर्कोलाई रियाक्ट गर्दा म त्यहाँको चरित्रभन्दा पनि दयाहाङ राईका हिसाबले ट्याकल गर्दो रहेछु,” उनी भन्छन्, “यसले मेरो एकै किसिमको आदत र बडिल्याङ्वेज आउँदो रहेछ ।”
को–एक्टर, क्यामेराको मुड र टाइमिङ जेसुकै होस्, आफ्नो सिन एउटै मुडमा सकौँ भन्ने लोभले काम गरिरहेको उनले पहिचान गरे । रेस्पोन्स खोज्ने र दिने सन्दर्भमा एकैखालको आदत आफ्ना धेरै सिनेमामा देखिएको उनले थाहा पाए । “म कसरी हिँड्छु, कसरी हात चलाउँछु, कसरी अरूलाई रियाक्ट गर्छु, कसरी हेर्छु, एक ठाउँबाट अर्को ठाउँमा कसरी जान्छु भनेर पोइन्टआउट गरिएको थियो,” दयाहाङ भन्छन्, “थिएटरमा रिहर्सल गर्दागर्दा आदत हुन्छ । सिनेमामा धेरै रिहर्सल गर्दा मेकानिकल भइन्छ भनेर सामान्य ब्लकिङमा बसेर काम गरिरहेको थिएँ । त्यति गर्दा पनि कलाकार दयाहाङ राईले अभिनय गरिरहँदा पनि दयाहाङ राईको माइन्डले कन्ट्रोल गर्दा केही कुरा दोहोरिइरहेको रहेछ ।”
नाटकमा एउटै इमोसनमा लामो सिनमा अभिनय गरिरहेका कलाकारले चलचित्रमा पनि त्यही गरे । नाटकमा एउटै इमोसनमा एउटा सिन सकिन्छ । सिनेमामा एउटै सिनमा एकपटक कट गरेपछि इमोसन होल्ड गरेर राखेर को–एक्टरको इमोसन र क्यामेराको टाइमिङ र एंगलसँगै रियाक्ट गर्नुपर्थ्यो । त्यो कमै मात्र भइरहेको थियो । आमनिर्देशकले यसो होइन, यस्तो गर्ने भनेनन् । कलाकारले पनि आफूले जानेबुझेको गर्दै गए । त्यही नै अभ्यास हुँदै गयो । नवीनले यस्तैयस्तै कुरा खुट्ट्याएका थिए ।
भइरहेको के रहेछ र के हुनुपर्थ्यो दयाहाङले बुझे । अब यो कमजोरीलाई नदोहोर्याउन के गर्ने ? यसका निम्ति उनले काम गर्नुपर्ने भयो । यसका लागि मान्छे नै अर्कैै हुनुपर्ने भयो । अर्कै मान्छे कसरी हुने ?
कसैलाई देखेको वा अब्जरवेसन (अवलोकन) गरेको आधारमा चरित्रमा ढल्नुपर्थ्यो । सतही अब्जरवेसनले मात्र नपुग्ने भयो । त्यसपछि आफैँले भोग्नुको विकल्प थिएन । अक्सर अभिनेताले चरित्रमा रूपान्तरण हुन गर्ने प्रक्रिया पनि यही नै हो । दयाहाङ भोजपुरमा थिए । सिनेमाको छायांकन त्यहीँ थियो । उनले बाँस काट्न थाले । तामाबाँसको चोया काट्न थाले । डोको र चित्रा बुन्न थाले ।
“आफैँ चोया काट्दा त्यसलाई कति माया गरिँदो रहेछ त्यो रिदममा फिल गर्न थालेँ,” दयाहाङ भन्छन्, “वास्तविक जीवन भोगाइको अभ्यासले फरकपन देखायो । टिजरमा कलेटी परेका ओठ गलेर र धापिएर स्वाँस्वाँ गरेको स्वर वास्तविक जीवन आफैँ भोग्दा कस्तो हुन्छ भनेर फिल गरेको रिदमका कारण सम्भव भएको हो ।”
० ० ०
आफ्नबारे टीकाटिप्पणी गर्ने निर्देशकसँग काम गर्दै थिए । कमजोरीको लामो भिडियो बनाएर देखाउने निर्देशकसँग साक्षात्कार गर्दै थिए । तर पनि दयाहाङलाई डर लागेन । भलै, यो अवसर र चुनौती दुवै हो भन्ने उनको मनमा हेक्का थियो । नवीनको क्षमता अभिनेताको आर्कलाई सजिलोसँग समात्ने हो । ब्रिफ गर्दा छर्लंग पारिदिने हो ।
“मलाई के ढुक्क थियो भने मेरो अगाडि दाइ हुनुहुन्छ, म पात्रमा बाँच्ने कोसिस मात्रै गर्छु । कमजोरी सम्हाल्ने त दाइ हुनुहुन्छ भन्ने थियो,” दयाहाङ भन्छन्, “त्यसैले उहाँसँग काम गर्ने निर्णय गर्दादेखि सेटमा कहिल्यै पनि प्रेसर फिल गरिनँ । अवसर र चुनौती दुवै हो । आफैँलाई पढ्ने मौका हो भनेर मात्र लिइरहेको थिएँ,” उनले आम र कुशल निर्देशकसँग काम गर्दाको भेद छुट्ट्याए ।
भोलि यो सिनेमाको नतिजा के आउँछ त्यो त भविष्यकै गर्भमा छ । “तर, यो जानराका सिनेमा र यस्ता पात्रमा कसरी काम गर्ने त्यसमा भने मैले छर्लंगै देखेर आएको छु,” उनी भन्छन्, “यसरी गर्ने भनेर त म भन्न सक्तिनँ होला, तर काम गर्नचाहिँ सक्छु । कसैलाई पढाउनुपर्यो भने यो यो प्रोसेस हो भनेर भन्न सक्तिनँ, तर काम गर्न भने सक्छु ।”
० ० ०
च्लचित्र ‘गाउँ आएको बाटो’मा दयाहाङको स्थानीय एक गरिब पात्रको चरित्र थियो । जस्तो हो हुबहु त्यस्तै देखिनैपर्ने थियो । त्यसका निम्त एक हप्तादेखि आफूले पोट्रे गर्न लागेको पात्रले वास्तविक जीवनमा जे गर्छ, सकेजति त्यही गर्ने प्रयास गरिरहेका थिए ।
कस्ट्युम डिजाइनरले त्यहीँको गाउँबाट दयाहाङले लगाउने लुगा खोजेर ल्याए । लगाए । क्यारेक्टर कस्तो देखाउने/देखिने हो, दयाहाङको दिमागमा क्लियर पिक्चर थियो । उनको क्यारेक्टरले हात कसरी चलाउँछ, टाउकाको मुभमेन्ट कस्तो हुन्छ, कसरी हेर्छ सबै दिमागमा स्पष्ट थियो । कसरी हिँड्छ, त्यो पनि थियो ।
अरू त ठिकै होला, गर्न सकिएला पनि । हिँडाइको रिदम सिनेमाको सुरुदेखि अन्तिमसम्म कसरी एउटै कायम राखिरहने भन्ने विषयले उनलाई केही तनाव दिइरहेको थियो । कस्ट्युमको जोहो गर्ने क्रममै आइपुग्यो एकजोर चप्पल । त्यो चप्पल दयाहाङको कुरकुच्चाको प्रेसर जुन साइडमा पर्थ्यो, त्यसको ठिकविपरीत साइडतिर खिइएको थियो । त्यसले उनले सोचेको जस्तो खुट्टाको चालका लागि मद्दत गर्यो । विपरीत साइडतिर खिइएको चप्पलले उनको खुट्टाको चाललाई एकरूपता दिन सहयोग गर्यो ।
० ० ०
चलचित्रमा बाँसका घना घिसार्ने सिन छ । बजेटका कारण पनि यसमा भीएफएक्स सम्भव थिएन । रियलमा घिसार्नुपर्ने थियो । थुप्रै सिन छ सिनेमामा बाँस घिसार्ने । “कन्टिन्यु गरेको भए सात दिनको सिन थियो होला, तर अगाडिपछाडि भएकाले सुरुदेखि अन्तिमसम्मै यो सिनमा हामीले काम गर्यौँ,” दयाहाङ भन्छन् ।
पहिलो दिन बाँसको भारी घिसार्ने सिन थियो । प्रप्स डिजाइनरले भारी तयार पारेका थिए ।
दयाहाङले सोधे, ‘यो भारी त अलिक धेरै नै भएन र ?’
उनीहरूले भने, ‘स्टार भएर मात्रै भएन नि, क्यारेक्टर फिल गर्न यत्तिको भारी त चाहियो नि !’
‘मैले बोक्न सक्तिनँ भनेको होइन, तिमीहरूले म्यानेज गर्न सक्छौ कि सक्तैनौ भनेर भनेको हुँ ।’
नवीन सुब्बाले गएर बोक्दै भने, ‘गह्रुँगै छ, तर मैले सकेँ भने तिमीले पनि सक्छौ दया ।’
एक्सन कट् सुरु भयो । दयाहाङ बाँसको भारी बोकेर हिँडे । क्यामेराले फलो गर्यो । तीनचारपटक नै रिटेक भयो । रिटेक हुनुको अर्थ जहाँबाट टेक लिन सुरु गर्ने हो, फेरि त्यहाँसम्म त्यो भारी फर्काएर ल्याउनुपर्ने त उनीहरूले नै थियो । सम्मसम्मै थियो । धेरैपटक यताउता गर्नुपरे पनि खासै समस्या भएन ।
बाँसकै भारी बोक्ने अर्को सट लिनु थियो, माथिदेखि निकै तलसम्म बोकेर झर्नुपर्ने । ओरालो भएकाले सजिलै भयो । हावा लाग्यो । क्यामेरा हल्लियो । क्यामेरा हल्लिएपछि दृश्य नै हल्लियो । फेरि बाँसको भारी बोकेर माथि लैजानुपर्यो । दयाहाङ त एक्टर भए, उनलाई निर्माणपक्षले टेकबाहिर भारी बोकाउने कुरा भएन । बोक्नुपर्ने त प्रप्स डिजाइन गर्नेलगायत व्यक्तिहरूले नै थियो ।
“चारजना भएर माथि लिएर आए । फेरि पनि टेक मिलेन । अर्कोपटक टेक लिँदालिँदै बीचमै बादल आइलियो । फेरि उसैगरी बाँसको भारी माथि निकाल्नुपर्यो,” दयाहाङ भन्छन्, “अनि, मैले भनेँ– अघि मैले यही भएर भनेको हो, अलिक बढी भएन र भनेर । तर, जे होस्, हामीले जोसले काम गरेका थियौँ ।”
स्क्रिप्टको डिटेलिङलाई कसैले पनि छोडेन । सबै डिपार्टले इमानदार भएर काम गरेको उनी सम्झिन्छन् । तर, कहिलेकाहिँ इमानदारितासँगै कसरी उचित व्यवस्थापन गर्ने भन्ने पनि यो सिनेमाबाट सिकाइ भएको उनी सुनाउँछन् ।