
काठमाडौं । राजावादी आन्दोलनमा भएका अराजक गतिविधिका कारण पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई अदालत उपस्थित गराएर थुनामै फकाइएको छ । गत चैत १५ गते तीनकुनेमा भएको हत्या, आगजनी, तोडफोडसहितका अराजक गतिविधिको नेतृत्वकर्ताका रूपमा सोही दिन पक्राउ परेका मिश्र जिल्ला अदालतको आदेशमा म्याद थप हुँदै थुनामै छन् ।
त्यसैले उनकी श्रीमती सारिका कार्कीले काठमाडौं जिल्ला अदालतलाई समेत विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । गत मंगलबार दायर बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाउँ आदेशसहित बन्दीलाई अदालतमा उपस्थित गराउने आदेश दिएको थियो । आदेशअनुसार अदालतमा उपस्थित गराइएका मिश्रको बयान भने हुन सकेन ।
सरकारका नाममा कारण देखाउँ आदेश जारी भएकाले 'सरकारको जवाफ देखाएर' मात्र मिश्रको बयान हुने गरी बिहीबार अदालत उपस्थित गराएर थुनामा फर्काइएको छ । शुक्रबार इजलासमै बयान हुने सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।
राजावादीहरूले ‘महापञ्च’ नवराज सुवेदीको नेतृत्वमा गठन गरेको संयुक्त जनआन्दोलन समितिका तर्फबाट दुर्गा प्रसाईं संयोजक तोकिएको राजावादी आन्दोलनमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक राजावादीले लगाएको आगोमा जलेर ज्यान गुमाएका थिए । जडिबुटी कम्पनी जलाइएर नष्ट पारिएको थियो भने पार्टी कार्यालयदेखि निजी घर तोडफोड, आगजनी तथा भाटभटेनीमा समेत लुटपाट मच्चाइएको थियो । दिउँसो आन्दोलनमा झडपको अवस्था आएपछि संयोजक तोकिएका प्रसाईं बेपत्ता भएका थिए भने मिश्र आन्दोलनको नेतृत्वमा देखिएका थिए ।
प्रसाईं भागेर भारत पुगेपछि उनलाई पक्राउ गरेर थुनामै राखिएको छ । मिश्रलाई भने त्यही दिन पक्राउ गरी थुनामा राखिएको ४५औँ दिनमा उनकी श्रीमती सारिकाले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् ।