site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कस्तो छ कतारले ट्रम्पलाई उपहार दिन लागेको ‘आकाशको  महल’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारी राजपरिवारबाट ४० करोड डलर मूल्यको बोइङ ७४७–८ जम्बो जेट उपहारको रुपमा स्वीकार गर्ने तयारी गरिरहेका छन् ।

कतारले प्रस्ताव गरेको उक्त बोइङ जम्बो जेट विमानको नाम ‘प्यालेस इन द स्काई’ अर्थात् ‘आकाशको  महल’  राखिएको छ ।

अमेरिकाको फक्स न्युजका सीन ह्यानिटीसँगको अन्तर्वार्तामा कतारले दिन लागेको यो बोइङ जेट विमान स्वीकार गर्नेबारे उठेका नैतिक चिन्ताहरूलाई ट्रम्पले खारेज गर्दै अमेरिकामा हाल राष्ट्रपतिले चढ्ने ‘एयर फोर्स वन’ विमान खाडी देशका राजाहरुको विमानसँग मेल नखाने बताए ।

ट्रम्पले भने, “तपाईं चढ्नुभएको विमान लगभग ४० वर्ष पुरानो छ । जब तपाईं यो विमान चढेर साउदी अरब, यूएई र कतारमा उत्रनुहुन्छ, तिनीहरूसँग यी नयाँ बोइङ ७४७ हरू छन् । त्यसको सामुन्ने हाम्रो विमानको तुलना नै हुँदैन, एकदमै फरक किसिमको विमान हो ।”

उनले थपे, “खाडी देशका राजाहरूसँग अमेरिकी सरकारभन्दा राम्रा विमानहरू हुन्छन् । मलाई लाग्छ अमेरिकासँग सबैभन्दा प्रभावशाली विमान हुनुपर्छ ।”

कतारी राजपरिवारका वरिष्ठ सदस्य हमाद बिन जस्सिम बिन जाबेर अल थानीले प्रयोग गरेको यो विलासितापूर्ण ८९ सिटे विमानमा पेरिसस्थित अल्बर्टो पिन्टो कम्पनीद्वारा डिजाइन गरिएको भव्य आन्तरिक सजावट छ । 
यसमा टाइ पिङ्ग कालीन, दुर्लभ काठका सामाग्री र मौलिक कलाकृतिहरू समावेश छन्। 

ट्रम्पले कतारबाट लक्जरी बोइङ उपहार स्वरुप स्वीकार गरेपछि गुप्तचर र कूटनीतिक निकायहरूले यसप्रति चिन्ता जनाएका छन् । 

विज्ञहरूले यो कार्यले सुरक्षा सँगसँगै नैतिक जोखिम निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।

तर ट्रम्प भने यसलाई स्वीकार गरेर छोड्ने मुडमा देखिएका छन् ।

सोमबार पत्रकारहरूलाई ट्रम्पले भने, “कतारको यो ठूलो उपहार हो । म यस्तो प्रस्ताव अस्वीकार गर्ने व्यक्ति होइन । म मुर्ख भएर ‘हामीलाई फ्रि, धेरै महँगो विमान चाहिँदैन’ भनेर भन्न सक्दिन ।”

ट्रम्पले उपहार पाएको विमान फ्रि होइन

पोलिटीको म्यागाजिनका अनुसार ट्रम्पले कतारको राज परिवारबाट उपहार पाएको भनिएको विमान ‘फ्रि’ होइन ।  तर अमेरिकी करदाताहरूका लागि यो उपहार भन्दा पनि बोझ हो । किनभने कतारले राष्ट्रपतिलाई दिने बोइङ विमानलाई ‘एयर फोर्स वन’को रूपमा प्रयोग गर्न धेरै महँगो र जटिल मर्मतसम्भार गर्नुपर्नेछ ।

कतारी रक्षा मन्त्रालयले यो लक्जरी बोइङ जेटलाई पेन्टागनमा स्थानान्तरण गर्ने विषयमा ह्वाइट हाउससँग कुराकानी गरिरहेको बताएको छ । यो जेटलाई ‘एयर फोर्स वन’मा परिवर्तन गर्ने जिम्मा पेन्टागनको हुनेछ। 

सन् २०१२ मा निर्माण भएको यो विमानले एयर फोर्स वनको स्ट्यान्डर्ड पूरा धेरै काम गर्नुपर्ने बताइएको छ । 

तर पूर्व एयरफोर्स अधिकारी र कानुन निर्माताहरूका अनुसार यसलाई राष्ट्रपतिको लागि सुरक्षित संचार र गोप्य उन्नत सुविधा भएको बनाउन निजी ठेकेदारले विमानलाई पूरै पुनर्निर्माण गर्नुपर्नेछ । 

यो प्रक्रिया महँगो र जटिल हुनेछ र करदाताहरूले करोडौं डलर खर्च गर्नुपर्ने देखिन्छ ।

हाउस आम्र्ड सर्भिसेज सेपावर एन्ड प्रोजेक्सन फोर्सेज उपसमितिका प्रमुख डेमोक्रेट सांसद जो कोर्टनीले भने, “यो वास्तवमा उपहार होइन । एयर फोर्स वनको सुरक्षा, सुरक्षित राख्ने क्षमता र सञ्चार आवश्यकता पूरा गर्न यसलाई पूरै पुनर्निर्माण गर्नुपर्छ ।”

ट्रम्पले आफ्नो कार्यकालमा दुई नयाँ एयर फोर्स वन विमान निर्माण गर्न बोइङ्गलाई आदेश दिएका थिए । 

तर बोइङ्गले ढिलाइ गरेको भन्दै ट्रम्पले आलोचना गरेका थिए । बोइङ्गको ढिलाइका कारणले कतारी राजाबाट उपहार स्वीकारेको आशय व्यक्त गरेका छन् ।  

उनले कतारको प्रस्तावलाई बचाउ गर्दै भने, “केही मानिसहरू भन्छन्, तपाईंले देशको लागि उपहार स्वीकार नगर्नुहोस् । मेरो धारणा छ, किन स्वीकार नगर्ने ? हामी पनि त सबैलाई दिन्छौँ ।”

पोलिटीको म्यागाजिनका अनुसार कतारी राजपरिवारद्वारा आफ्नो नाममा ल्याइसकिएको र ट्रम्पलाई उपहार दिन लागिएको यो बोइङ ७४७–८ जेट विमान अमेरिकी राष्ट्रपति कार्यालयका लागि बोइङ्गले बनाइरहेको दुई भीसी–२५बी विमान उस्तै–उस्तै हुन् । 

पूर्व एयर फोर्स अधिकारी केविन बक्लीले भने, “विमानभित्र के छ भन्ने कुराले महत्व राख्छ । राष्ट्रपतिको मिशन उपकरण अद्वितीय छ । यो कठोर र सुरक्षित रहन सक्ने क्षमता भएको छ ।”

यो विमानमा राष्ट्रपतिको लागि सुरक्षित संचार, आत्मरक्षा प्रविधि र विद्युत चुम्बकीय सुरक्षा स्थापना गर्नेसहित भित्रबाट बाहिरसम्म पुनर्निर्माण गरिनुपर्ने पोलिटीको म्यागाजिनले उल्लेख गरेको छ ।

विमान निर्माण गर्नु एक कुरा हो, तर यसलाई उच्चस्तरीय सुविधासहित सञ्चालन गर्नु अर्को महंगो पक्ष हो । सन् २०२१ को पेन्टागन अनुमान अनुसार, प्रत्येक वीसी–२५बी को लागत २.५ बिलियन डलरभन्दा बढी छ, र ३० वर्षमा सञ्चालन र सहयोगमा अर्को ७.७ बिलियन डलर खर्च हुनेछ । 

अमेरिकाको विपक्षी पार्टी डेमोक्रेटहरूले ट्रम्पले कतारबाट विमान उपहार स्वीकार गर्नु नैतिक रूपमा गलत भएको आरोप लगाएका छन् । तर ट्रम्पले यसले पैसा बचत हुने भन्दै डेमोक्रेटहरूलाई कटाक्ष गरेका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल पोष्टमा पोस्ट गर्दै भने, “रक्षा विभागले ४० वर्ष पुरानो एयर फोर्स वनको सट्टामा निःशुल्क ७४७ विमान पाउँदै गर्दा कुटिल डेमोक्रेटहरू असजिलो महसुस गर्छन् । उनीहरू हामी विमानको लागि अत्यधिक मूल्य तिरोस् भन्ने चाहन्छन् ।”

अमेरिकी कांग्रेसको यातायात तथा पूर्वाधार समितिका डेमोक्रेट नेता रिक लार्सनले भने, “एयर फोर्स वनमा ढिलाइ एयर फोर्सको समस्या हो, बोइङ्ग कर्मचारीको होइन । तर विदेशी उपहारले यसको समाधान हुँदैन ।”

उपहारमा पाएको विमानमा जासुसी उपकरण हुन सक्छन् !

अमेरिकाको गुप्तचर संस्था सीआईएका पूर्व स्टेशन प्रमुख थाड ट्रायले अमेरिकी अखबार ब्लूमबर्गसँग कुरा गर्दै शीतयुद्धकालीन जासुसी रणनीतिको उदाहरण दिँदै भने, “हामीले यो विमान निर्माण गरेर विदेशी सरकारलाई जाने थाहा पाएका हुन्थ्यौं भने सम्भवतः हामीले यसमा जासुसी यन्त्र लगाएका हुने थियौं ।”

भारतको टाइम्स अफ इन्डिया अखबारका अनुसार ट्रायले भने, “कुनै पनि विदेशी शक्तिद्वारा प्रदान गरिएको विमानमा गोप्य ट्रयाकिङ्ग रेकर्डिङ्ग उपकरण सजिलै राख्न सकिन्छ जुन एक खतरा हो र यसलाई निष्क्रिय पार्न गाह्रो हुन्छ । यो चिन्ता काल्पनिक होइन ।”

उनले मस्कोमा रहेको अमेरिकी दूतावासलाई हरेक ईंटा–ईंटा निकालेर त्यहाँ रहेका जासुसी उपकरण हटाउन पूरै भत्काइएको उदाहरण पनि उल्लेख गरे ।

गुप्तचर अधिकारीहरूको भनाइअनुसार जासुसी सफ्टवेयरको लागि गरिने पूर्ण जाँच गर्न पनि महिनौँ लाग्न सक्छ ।

त्यही कारण राष्ट्रपति चढ्ने विमानहरू निर्माण गर्न धेरै वर्ष लाग्ने गरेको छ ।

अमेरिकी सिनेटका गुप्तचर समितिका अध्यक्ष सिनेटर मार्क वार्नरले पनि यस्तै चिन्ता व्यक्त गर्दै ट्रम्पले विमान स्वीकार गर्नु अत्यन्तै लापरवाहीपूर्ण कार्य भनेका छन् ।

ब्लूमबर्गलाई दिइएको बयानमा वार्नरले भने, “विदेशीले दिने विमानले निगरानी उपकरणदेखि कमजोर सञ्चार प्रणालीसम्म धेरै सुरक्षा जोखिमहरू ल्याउन सक्छ । यस्तो विमानमा जासुसी यन्त्र वा सुरक्षा समस्याको पूर्ण रूपमा जाँच गर्नु लगभग असम्भव छ ।”

उपहार लिने ढिपीले कानुनी र नैतिक प्रश्न उठायो

अमेरिकाको कांग्रेसका धेरै रिपब्लिकन सदस्यहरूले कतारले दिएको विमान स्वीकार गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको गर्ने इच्छाको बारेमा चिन्ता व्यक्त गरेका छन् भने विपक्षी डेमोक्रेटहरूले यो योजनालाई अवैध र विदेशी उपहार राष्ट्रिय सुरक्षाको लागि खतरा भनेर आलोचना गरेका छन् ।

वासिंगटन स्थित गैर–नाफामुखी संस्था ‘सिटिजन्स फर रेस्पन्सिबिलिटी एन्ड एथिक्स इन वासिंगटन’ का सञ्चार उपाध्यक्ष जोर्डन लिबोविजले ट्रम्पको व्यक्तिगत व्यापारिक लेनदेन विशेष गरी खाडी क्षेत्र र कतारमा भएकाले उपहार लिने कदम चिन्ताजनक भएको बताए ।

कोलम्बिया ल स्कूलका प्राध्यापक रिचर्ड ब्रिफल्टले यदि जहाज ट्रम्पले राष्ट्रपतिको पद छोडेपछि उनको प्रेसिडेन्सियल लाइब्रेरीमा जाने भएमा यो संयुक्त राज्य अमेरिकालाई दिइएको उपहार नभएर व्यक्तिगत उपहार हुने बताए ।
ब्रिफल्टलेका अनुसार यो विमान उपहारमा स्वीकार गर्नु संविधानको उल्लंघनको स्पष्ट उदाहरण हुनेछ । 

अमेरिकी संविधानले विदेशी सरकारबाट अमेरिकी राष्ट्रपतिले पाउने उपहारहरूमा प्रतिबन्ध लगाएको छ । 

क्यालिफोर्नियाका डेमोक्र्याट सिनेटर एडम शिफले अमेरिकी संविधानको एउटा भाग उद्धृत गर्दै सामाजिक सञ्जालमा पोष्ट गर्छन्, “कुनै पनि निर्वाचित अधिकारीले संसदीय स्वीकृतिबिना विदेशी राष्ट्रप्रमुखबाट कुनै पनि प्रकारको उपहार लिन मिल्दैन ।” 

न्युयोर्कका डेमोक्र्याट सांसद रिची टोरेसले अमेरिकाको सरकारी कार्यदक्षता विभागलाई यो विषयमा अनुसन्धान गर्न माग गरे । 

उनले भने, “यो विमान सम्भवतः कुनै विदेशी सरकारबाट अमेरिकी राष्ट्रपतिलाई दिइएको सबैभन्दा मूल्यवान उपहार हुन सक्छ ।” 

तर, ट्रम्पका कट्टर समर्थकहरूबाट पनि यसको आलोचना आएको छ ।

दक्षिण डकोटाका रिपब्लिकन सिनेट बहुमत नेता जन थ्यूनले भने, “यसको धेरै जाँच हुनेछ । योसँग सम्बन्धित धेरै–धेरै मुद्दाहरू छन्, जसले गम्भीर प्रश्नहरू उठाएको छ ।”

ट्रम्पका समर्थक तथा डेली वायरका पडकास्टर बेन शापिरोले सोमबार यो विमान उपहार सम्झौतालाई घिनलाग्दो भनेर कडा आलोचना गरेका छन् ।  एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १९:४६
प्रतिक्रिया दिनुहोस्