काठमाडौं । नेपालको अटो क्षेत्रबाट सरकारले पाउने राजस्वमा ठूलो गिरावट आएको देखिएको छ । अटो उद्योगमा आर्थिक शिथिलताको प्रभाव परेको कारण सरकारले ठूलो राजस्व गुमाएको व्यवसायीहरूको भनाइ छ ।
आर्थिक वर्ष २०७८/०७९ मा अटो क्षेत्रबाट सरकारले ९० अर्ब पाँच करोड रुपैयाँ राजस्व संकलन गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तथ्यांक छ ।
गत आर्थिक वर्ष २०७९/०८० मा यो राजस्व संकलन घटेर ३३ अर्ब ३४ करोड रुपैयाँ पुगेको नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले बताए । यसरी एकै वर्षको अवधिमा ५६ अर्ब ७१ करोड रुपैयाँले राजस्वमा गिरावट आएको देखिन्छ ।
आयात राजस्व पनि घट्यो
अटो उद्योगबाट सरकारले पाउने समग्र राजस्वसँगै आयात राजस्व पनि घटेको छ ।
नाडाका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा सरकारले सवारी आयातबाट ८६ अर्ब १२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । गत आर्थिक वर्ष २०७९/०८० मा यो राजस्व संकलन घटेर ३१ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।
यसरी एकै वर्षमा सरकारले सवारी आयातबापत प्राप्त गर्ने राजस्व ५५ अर्ब ४५ करोड रुपैयाँले घटेको देखिन्छ । सवारी आयातमा सबैभन्दा धेरै राजस्व उठ्नेतर्फ प्यासेन्जर भेहिकल (यात्रुवाहक सवारी) छ । त्यसपछि दुई पांग्रे, कर्मसियल भेहिकल र स्पेयर पार्ट्सको हिस्सा छ ।
कारण के हो ?
समग्र अटो उद्योग नै घटेका कारण राजस्वमा गिरावट आएको नाडाका उपाध्यक्ष श्रेष्ठ बताउँछन् । सरकारले सवारी आयातमा लाग्ने कर अझै समायोजन गरेर बढीभन्दा बढी नागरिकको पहुँच पुग्नेगरी लागु गर्नुपर्ने उनको भनाइ छ । “अब पेट्रोलियम गाडीमा पनि कर घटाउनु पर्छ । वार्षिक ३० हजार गाडी बिक्री भयो भने सरकारले पाउने राजस्व आफैँ बढ्छ,” नाडाका उपाध्यक्ष श्रेष्ठले भने, “आयात गर्दाको राजस्व मात्रै हेरेर हुँदैन । गाडीको अवधिभर वार्षिक कति कर उसले तिर्छ त्यो पनि हेर्नुपर्यो ।”
विदेशमा सहजै घर/गाडी किन्न सकिन्छ भनिए जसरी नेपालमा पनि त्यस्तै सहज बनाउन सके युवा नेपाल बाहिरिनबाट रोक्न केही मदत हुनसक्ने उनको भनाइ छ । आर्थिक वर्ष २०७८/०७९ मा १५ हजार २८० यात्रुवाहक सवारी आयात भएको नाडाको तथ्यांक छ । गत आर्थिक वर्षमा आयात घटेर २०७९/०८० मा यो संख्या घटेर सात हजार ८७ पुगेको छ । चालु आर्थिक वर्षको ९ महिनासम्ममा आयात भएका यात्रुवाहक सवारीको संख्या १० हजार २२४ पुगेको छ ।
पछिल्लो समय आयात हुनेमा विद्युतीय सवारी (ईभी) बढी हुँदा सरकारले पाउने राजस्व कम भएको देखिन्छ । सरकारले प्रोत्साहन गर्दै ईभीको आयातमा कर छुट दिएको छ ।
नाडाका अनुसार नेपालको अटो उद्योगमा एक खर्बको लगानी छ । यसले एक लाख जनालाई प्रत्यक्ष र दश लाखलाई अप्रत्यक्षरूपमा रोजगारी दिइरहेको नाडाका उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।
वित्तीय संस्थाहरूमा अटोमोबाइल क्षेत्रको ऋणमा सबैभन्दा न्यून डिफल्ट दर रहेको नाडाको भनाइ छ । यस्तै, निर्जिवन बिमाको प्रिमियम संकलनमा ४० प्रतिशत हिस्सा यसै क्षेत्रको दाबी छ । देशभर एक हजारभन्दा बढी डिलर, २५ हजारभन्दा बढी ग्यारेज र दश हजारभन्दा बढी पार्ट्स पसल रहेको नाडाले जनाएको छ ।