काठमाडौं । सर्वोच्च अदालतमा अनलाइन मुद्दा दर्ता र पेसीको सूचना स्वचालित रूपमा पठाउने प्रणालीको शुभारम्भ गरिएको छ । मंगलबार सर्वोच्च अदालतमा एक कार्यक्रमबीच प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अनलाइन रिट निवेदन दर्ता गर्ने प्रणालीको शुभारम्भ गरेका हुन् ।
उनले नेपालमा पहिलोपटक अनलाइन रिट निवेदन दर्ता गर्ने प्रणाली शुभारम्भ गरिएको बताए । यसबाट न्यायालय, मुद्दाका पक्ष, कानुन व्यवसायीलगायत सबैलाई सहज हुने उनले विश्वास व्यक्त गरे ।
उनले छिटोछरितो न्यायसम्पादन हुने, अदालत आइरहनु नपर्ने र नेपालका जुनसुकै ठाउँबाट पनि मुद्दा दर्ता गर्न यसले सहज बनाउने बताए । सोमबारैदेखि पेसी तारिखको जानकारी दिने प्रणाली पनि थालिएको उनले बताए । न्युज एजेन्सी नेपाल