site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बलियो ब्यानरमा अनपेक्षित ‘मनसरा’
Tiktok banner adTiktok banner ad

पितृसत्तात्मक सोच हावी भएको समाजमा कुनै दम्पती सन्तानविहीन भए कस्तो समस्या झेल्नुपर्ला ? कसकसको दबाबको सामना गर्नुपर्ला ? यसकै सेरोफेरोमा घुमेको सिनेमा हो, ‘मनसरा’ । निःसन्तान दम्पती छ । समस्या कसमा छ ? सन्तान उत्पादन क्षमता श्रीमान्मा छैन कि श्रीमतीमा ? यसमा प्रस्ट नभई महिलामाथि लगाइने गरेको आरोप सिनेमाको कथा हो । योसँगै दुवैले चाहँदा चाहँदै भेट हुन नसकेपछि एकातिर श्रीमान् र अर्कातिर श्रीमती एकार्कालाई भेट्ने प्रतीक्षामा बसिरहेको चलचित्र ‘मनसरा’को मुख्य कथा हो ।

चलचित्रको कथा नेपाली समाजकै हो । आमनेपाली नागरिकले भोगिरहेको र देखिरहेको विषय चलचित्रमा उठान गरिएको छ । सिनेमाको कथा नौलो होइन, धेरै नेपाली चलचित्रले उठान गरिसकेको विषय हो । तर, ट्रिटमेन्ट फरक छ । बिछोडिएकाको खोजी र सन्तान प्राप्तिका लागि गरिने प्रयास समानान्तर रूपमा अगाडि बढ्दा सिनेमा इङ्गेजिङ बनेको छ । पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायको कथा भनेको चलचित्रले उक्त समुदायको संस्कृतिबारे थोरबहुत जानकारी दिन्छ । पूर्वी पहाडको आञ्चलिकता सिनेमाले महसुस गराउँछ ।

चलचित्रमा सांगीतिक पक्ष बलियो छ । चलचित्रमा समावेश पालमले दर्शकलाई लोभ्याउँछ । 

हँसाइरहने संवादले दर्शकलाई दिक्क लाग्दैन । समाजमै देखेसुनेका पात्र भएकाले बिझाउँदैन । लेखक तथा निर्देशक उपेन्द्र अक्सर संवादमा उम्दा यसअघिका उनले लेखेका सिनेमामा पनि लाग्थे । त्यसलाई उनले यो चलचित्रमा पनि निरन्तरता दिएका छन् । भुइँमान्छेले बोल्ने संवाद टपक्क टिपेर लेख्नु उनको विशेषता हो । यति हुँदाहुँदै पनि उनले केही दोहोरो अर्थ लाग्ने संवाद प्रयोग गरेका छन्, त्यो केही भद्दा लाग्छ ।

सिनेमाको सबल पक्ष प्रविण खतिवडाको अभिनय हो । उनको अब्बल अभिनयका अगाडि अन्य पात्रको अभिनय फिका लाग्छ । दयाहाङ राई त ‘मनसरा’मा छन्, उनले भन्दा पनि अभिनयमा प्रविणले ध्यान खिच्छन् । ‘कान्छा’को भूमिकामा रहेका बालकलाकारले सिनेमाभरि हँसाइरहन्छन् । उनको अभिनय तारिफयोग्य छ । मेनुका प्रधानले अभिनयमा आफूलाई खरो उतारेकी छन् । अन्य कलाकारको पनि पात्रलाई न्याय गरेका छन् ।

साउन्डमा सिनेमा चुकेको छैन । साउन्डमा ध्यान दिएका निर्देशकले ब्याकग्राउन्ड स्कोरमा भने ख्याल गरेका छैनन् । शैलेन्द्रध्वज कार्की आफैँमा ख्याति कमाएका सिनेमेटोग्राफर हुन्, तर उनले आफ्नो सिनेमेटोग्राफीको कला यो सिनेमामा देखाएका छैनन् । आफैँले लगानी समेत गरेको चलचित्रमा उनी शिल्प देखाउन चुकेका छन् । कस्तो दृश्य बनाउने भन्नेमा उनी क्लियर नहुँदा पर्दामा सिनेमेटोग्राफी कमजोर देखिएको छ । कलर र लाइटमा पनि सिनेमा कमजोर छ ।

केही दृश्य सिनेमामा लामा छन्, सम्पादनको टेबलमा छोट्ट्याउन सकिने ठाउँ हुँदाहुँदै छोडिएका दृश्यले सिनेमालाई चुस्त बन्न दिएको छैन । लिम्बू संस्कृति र संस्कार देखाउने दृश्यका रूपमा राखिएको युवाको समूहले सिनेमाको सौन्दर्य बढाउँदैन, उल्टो ‘डिस्टर्ब’ गर्छ । त्यो दृश्य लामो पनि छ ।

चलचित्र आफैँमा सिंगो संसार हो । लामो अवधिको कथा भन्ने सिनेमामा ग्रोथ (विकासक्रम) चाहिन्छ । पात्रहरूमा विकास देखिनुपर्छ । ‘मनसरा’मा यो देखिँदैन । पहिलो हाफमा कथा अघि बढ्दैन । दोस्रो हाफमा निर्देशकलाई सिनेमा बिट मार्ने हतारो छ ।

कथा र पात्रलाई विश्वसनीय बनाउन पात्रको पृष्ठभूमि आवश्यक हुन्छ, जसले पात्रलाई स्ट्याब्यालिस गर्छ । पात्र स्ट्याब्लिस नगर्ने सुविधा सिक्वलले मात्रै पाउँछन् । पहिलोपटक फ्रेस कथा भन्ने निर्देशकले पात्र स्ट्याब्लिस गर्नैपर्छ । लेखक समेत रहेका निर्देशकले यो किन आवश्यक ठानेनन् ? सिनेमा हेर्दा प्रश्न उठ्छ । सिनेमाका मुख्य चार पात्र – प्रवीण खतिवडा, मिरुना मगर, मेनुका प्रधान र दयाहाङ राई, कुनै पनि पात्र स्ट्याब्लिस नगरी लेखकले सिनेमाको कथा लेखेका छन् । किन प्रवीणको पात्रलाई बाउले घृणा गरे, निःसन्तान नै मुख्य कारण हो कि अरू पनि केही छ ? मिरुनाको पारिवारिक पृष्ठभूमि के हो ? दयाहाङलाई के त्यस्तो बाध्यता पर्‍यो जसले गाउँ फर्किन सकेनन् ? स्पष्ट पार्न सुरुका केही समय दिन लेखक हिचकिचाएका छन् । यसले सिनेमालाई बलियो हुने अवसरबाट बन्देज गरिदिएको छ ।

साहित्यकार समेत रहेका उपेन्द्र सुब्बाको बलियो पक्ष नै गाउँका कथा टिपेर स्थानीयपनलाई संवादमा उतार्नु हो, जसले सिनेमालाई जीवन्त बनाउन मद्दत गर्छ । तर, यो सिनेमाको संवादमा यसलाई समात्दा समात्दै पनि उनका केही पात्र बेलाबेलामा विचलित हुन्छन् । नेपाली आमसिनेमाको समस्या पात्रले बोल्ने संवाद पनि एक हो । नेपाली सिनेमामा पात्र होइन, लेखक बोल्छन् । ‘मनसरा’ले पनि यसलाई प्रमाणित गरिदिएको छ । यसमा पनि पात्र होइन, लेखक बोल्छन् । सामान्य लाग्ने सिनेमाका पात्रले विश्वका लामालामा तथ्यांक र कोट बोल्छन् । यसले पात्र होइन, हाम्रा सिनेमामा लेखक बोल्छन् भन्ने फेरि एकपटक ‘मनसरा’का केही संवादले स्पष्ट पारिदिएको छ । लेखकलाई आफ्ना कुरा राख्नु छ, ठाउँ होस् वा नहोस्, जबरजस्ती लाद्छन् । यो प्रवृत्तिबाट ‘मनसरा’ माथि उठ्न सकेको छैन ।

सिनेमा दृश्य भाषा हो, संवादले भन्दा दृश्य बोले राम्रो हुन्छ । मिरुनाले आफ्नो विगत पोख्ने सिनमा संवादभन्दा पनि बलियो दृश्य हुने ठाउँ थुप्र्रै छन् । निर्देशकले त्यो सोही सिनमा प्रवीणको पात्रमा प्रयोग गरेका छन् । यो त एउटा उदाहरण मात्रै हो, यस्ता थुप्रै ठाउँ छन्, जहाँ दृश्य बोलेर सिनेमा बलियो बनाउने सुविधालाई निर्देशकले नजरअन्दाज गरेका छन् । विम्ब र प्रतीक प्रयोग गरेर खिरिला कविता लेख्ने कवि उपेन्द्र आफैँ यो सिनेमाका लेखक पनि भएकाले यसतर्फ उनले मिहिनेत गर्न सक्ने थिए । तर, आवश्यक ठानेका छैनन् । बरु, उनी पात्रलाई संवाद रटाइरहन्छन् ।

पछिल्लो समय कतिपय नेपाली चलचित्रको क्लाइमेक्स सिक्वेललाई ठाउँ बनाउँदा वा कथा छोड्दा खल्लो हुने गरेको छ । ‘मनसरा’को क्लाइमेक्स पनि बलियो छैन । फर्मुला सिनेमाको क्लाइमेक्स र ‘मनसरा’को क्लाइमेक्समा ठूलो भिन्नता देखिँदैन । त्यसैले पनि सिनेमामा नौलोपन भेटिँदैन ।

यद्यपि, हाँस्न रमाउने दर्शकका लागि रमाइलो सिनेमा हो, ‘मनसरा’ । दृश्यभन्दा संवादमा रमाइलो मान्ने दर्शकले ‘मनसरा’ मन पराउँछन् । दयाहाङका हार्डकोर फ्यानलाई वियोगमा उनको छट्पटाहट र मिलनले आनन्दित बनाउन सक्छ । तर, सिनेमा दृश्य भाषा हो, सुन्ने होइन, हेर्ने हो भन्नेका लागि ‘मनसरा’ रोजाइमा नपर्ने चलचित्र हो ।

० ० ०

निर्देशक/लेखक : उपेन्द्र सुब्बा
कलाकार : प्रविण खतिवडा, दयाहाङ राई, मिरुना मगर, मेनुका प्रधान आदि । 
निर्माता : शैलेन्द्रध्वज कार्की 
कार्यकारी निर्माता : सिजन दाहाल
लेन्थ :  १३९ मिनेट
जानरा : सोसल ड्रामा
ब्यानर : कबड्डी फिल्मस् ।


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro