site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालले ‘क्लाइमेट जस्टिस’को आधार सहायता पाउनुपर्छ : राष्ट्रसंघका महासचिव

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्टेरेसबीच भेटवार्ता भएको छ ।

भेटवार्ता संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा सोमबार भएको हो । महासचिव गुट्टेरेसले उपप्रधानमन्त्री यादवलाई संयुक्त राष्ट्रसंघको मुख्यालयमा स्वागत गर्दै नेपाल र संयुक्त राष्ट्रसंघबीचको सम्बन्ध र सहयोग प्रगाढ रहि आएकोमा खुसी व्यक्त गरेका थिए ।

उनले आफ्नो नेपाल भ्रमणको स्मरण गर्दै नेपालले मानवअधिकार, विश्व शान्ति र सुरक्षा एवं दिगो विकासका लक्ष्यहरुको प्राप्तिमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए ।

Argakhachi Cement Island Ad

शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति सेना पठाउने मुलुकहरूमा नेपाल अग्रस्थानमा रहेको बताउँदै नेपाली शान्ति सेनाले खेलेको भूमिकाको उनले सराहना गरेको संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालले जलवायु परिवर्तनको असर भोग्नु परेकोले सोको असरलाई सम्बोधन गर्न ‘क्लाइमेट जस्टिस’को आधारमा न्यूनीकरण तथा अनुकुलन सहायता पाउनु पर्नेमा उनले जोड दिए । “यो नेपालको अधिकार हो,” उनले भने ।

उक्त भेटको क्रममा उपप्रधानमन्त्री यादवले संयुक्त राष्ट्रसंघको चार्टर एवं सिद्धान्तप्रति नेपाल प्रतिबद्ध रहेको बताउँदै नेपालको सामाजिक आर्थिक विकासमा संयुक्त राष्ट्रसंघको योगदानको प्रशंसा गरेका थिए ।

नेपालले गरिबी निवारण, स्वास्थ्य सेवाको विकास, विस्तार, कुल प्रजननदर र मातृ मृत्युदर घटाउनेलयागतका महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको जानकारी उनले दिएका थिए । 

तथापि, नेपाल अतिकम विकसित र भूपरिवेष्ठित मुलुक रहेको एवं जलवायू परिवर्तन र विश्वमा बढ्दो द्वन्द्वको कारणले गर्दा नेपालले दिगो विकासका लक्ष्यहरुका साथै स्वास्थ्य क्षेत्रमा प्राप्त गरेका उपलब्धिहरूलाई जोगाई राख्न निकै चुनौतीपूर्ण रहेका उपप्रधानमन्त्री यादवले बताएका थिए ।

संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय विकास साझेदार मुलुकहरूले सार्थक सहयोगको सलागि उनले राष्ट्रसंघका महासचिवसँग अनुरोध गरेका थिए ।

उक्त भेटघाटमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापासहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू उपस्थित थिए ।

संयुक्त राष्ट्रसंघको मुख्यालयमा यही अप्रिल २९ देखि मे ३ सम्म आयोजना भइरहेको जनसंख्या तथा विकास आयोगको ५७ औं सत्रमा भाग लिने क्रममा उपप्रधानमन्त्री यादव न्यूयोर्कमा रहेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्