site stats
बाह्रखरी :: Baahrakhari
देश
विकासका उपलब्धि जोगाउन सार्थक सहयोग गर्न आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको बताएका छन् । 

संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७औँ बैठकमा भाग लिने सिलसिलामा त्यहाँ रहेका उपप्रधानमन्त्री यादवले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिोनियो गुटेरेससँग आज भएको भेटवार्ता भएको हो । उक्त भेटमा यादवले जलवायु परिवर्तन र विश्वमा बढ्दो द्वन्द्वका कारण नेपालले दिगो विकासका लक्ष्यहरूका साथै स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धि जोगाइराख्न चुनौतीपूर्ण भएकाले राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय विकास सहायता अपरिहार्य भएकामा जोड दिए ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा भएको भेटवार्तामा उपप्रधानमन्त्री यादवले संयुक्त राष्ट्रसंघको बडापत्र एवं सिद्धान्तप्रति नेपाल प्रतिबद्ध रहेको बताउँदै देशको सामाजिक–आर्थिक विकासमा राष्ट्रसंघले गरेको योगदानको सराहना गरेको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

नेपालले गरिबी निवारण, स्वास्थ्य सेवाको विकास, प्रजनन दर र मातृ मृत्युदर घटाउनेलगायत जनस्वास्थ्यका क्षेत्रमा प्रगति गरेको जानकारी दिँदै भूवरिवेष्टित एवं अतिकमविकसित राष्ट्र नेपाललाई विकासका निम्ति बाह्य सहायता आवश्यक भएको उपप्रधानमन्त्री यादवले बताए । 

महासचिव गुटेरेसले नेपाल र संयुक्त राष्ट्रसंघबीचको सम्बन्ध र सहयोग प्रगाढ रहेकामा प्रशन्नता व्यक्त गर्दै हालैको आफ्नो नेपाल भ्रमणको स्मरण गरे । उनले मानवअधिकार, विश्व शान्ति र सुरक्षा एवं दिगो विकासका लक्ष्यहरू प्राप्तिमा नेपालले गरेको योगदानको मुक्तकण्ठले प्रशंसा गरे । 

महासचिव गुटेरेसले शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति सेना परिचालन गर्ने मुलुकहरूमा नेपाल अग्रस्थानमा रहेको बताउँदै नेपाली शान्ति सेनाले निर्वाह गरेको भूमिकाको सराहना गरे । उनले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिको प्रशंसा पनि गरे । स्वास्थ्य क्षेत्रका निम्ति राष्ट्रसंघीय निकायहरूमार्फत थप सहयोग प्रदान गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । 

उक्त नियोगका अनुसार महासचिव गुटेरेसले नेपालले जलवायु परिवर्तनका असर भोग्नुपरेकाले त्यसलाई सम्बोधन गर्न सम्बद्ध पक्षबाट सहयोग हुनुपर्नेमा जोड दिँदै नेपालले सहायता पाउनु उसको अधिकार भएको बताए । हरित ग्यास उत्सर्जनमा नगण्य गोयदान गरेको नेपाललाई ‘जलवायु न्याय’का आधारमा न्यूनीकरण तथा अनुकूलन सहायता प्रदान गर्नुपर्नेमा उनले जोड दिए । रासस

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०८:१३
प्रतिक्रिया दिनुहोस्