श्याम रिमाल
अहिलेलाई मान्छेका मात्र कुरा गरौँ,
संसार प्रेम र विश्वासमा अडेको छ
तिमीले अरूलाई गर्ने प्रेम र
अर्काले तिमीलाई गर्ने प्रेमले
दुवैलाई बचाएको छ
तिमी अरूलाई विश्वास गर्छाै र त
निस्फिक्री, निहत्था बस्न, हिँड्न सक्छौ
अर्काले तिमीलाई विश्वास गर्छ र त
तिमी उसलाई छुरा चलाउँदैनौ
तिमीले कसैलाई प्रेम गर्न छाडेको दिन
उसले पनि तिमीलाई अविश्वास गर्छ
तिमीले कसैलाई अविश्वास गर्न लागेपछि
अर्काले पनि तिमीलाई जरुर प्रेम गर्दैन
तिमी आफूलाई नै
आफू र अर्काबाट विश्वस्त छु भनी
कहिल्यै विश्वास गर्न सक्दैनौ
कारण–
तिमी आफैँ अर्कालाई विश्वास गरिरहन सक्दैनौ
अनि, तिमी अरूबाट प्रेम पाइरहेको महसुस गर्न सक्दैनौ
कारण–
तिमीले यथार्थमा कहिल्यै प्रेम गर्न जानेकै छैनौ !
अर्कालाई विश्वास गरेकै दिनदेखि
तिमी उसलाई स्वयं अविश्वास गर्न थाल्छौ
अर्काले तिमीलाई प्रेम गर्न लाग्दा
त्यो एक न एक दिन घृणामा बद्लिने आशंका छ तिमीलाई
अरूले आफूलाई विश्वास गरेकै क्षण
अविश्वास पलाउन थाल्ने अनुमान गर्नु र
अर्काले प्रेम गरेकै पल उनमाथि घृणाको आशंका उब्जिनु
यो तिम्रो नियति हो वा जबर्जस्त भावना हो ?
वास्तवमा, प्रेम गर्नेहरू अविश्वासमा बाँचिरहन्छन्
र विश्वास गर्नेहरू अर्काबाट घृणाको पल प्रतीक्षा गर्न थाल्छन्
प्रेमले विश्वास जगाउँछ, सँगसँगै अविश्वास पनि
विश्वास गरेकै क्षण अविश्वास पनि हुर्कन थाल्छ
भन्न त भन्छन् मानिसहरू–
प्रेम र विश्वासमा संसार अडेको छ
विश्वासको परीक्षा नलिउन्जेल
के भन्न सकिन्छ र
अविश्वास कति झाँगिइसकेको छ !