काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफ्नै दलले गर्ने दाबी गरेका छन् ।
रिपोटर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा पाण्डेले सुदूरपश्चिममा पनि केन्द्रकै गठबन्धन कायम रहने र प्रदेश सरकारको नेतृत्व आफ्नै दलले गर्ने बताएका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफ्नो दलले पाउने भद्र सहमति हुँदा पनि कार्यान्वयनमा आनाकानी भएपछि अहिलेको परिस्थिति उत्पन्न भएको उनको भनाइ छ ।
तर, आजबाट नयाँ परिस्थितिको निर्माण भएकाले अब गठबन्धनमा समस्या नहुने उनले बताए ।
उनले सुदूरपश्चिममा सरकार गठनमा आफ्नो दलको भूमिकालाई लिएर अध्यक्ष माधव नेपालमाथि शंका नगर्न पनि आग्रह गरे ।
उनले अहिलेको सत्ता गठबन्धन कुनै पनि हालतमा नटुट्ने पनि दाबी गरे ।