काठमाडौं । काठमाडौंबाट सुदूरपश्चिममा अवस्थित बाजुरा पुग्न बसबाट एक दिनभन्दा बढी समय लाग्छ । बाजुरामा अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गतको जिल्लासंघ पनि छैन । तर, यही जिल्लाको एउटा टिम अहिले सिंगो सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै एन्फाको मुख्यालयमा जारी सहिद स्मारक ‘सी’ डिभिजन लिग खेल्दै छ ।
रानीवन स्पोर्ट्स क्लब बाजुरामात्र नभई जारी लिगमा प्रतिस्पर्धा गरिरहेको सुदूरपश्चिमकै एकमात्र टोली हो । जारी लिगमा दुई खेल खेलिसक्दा रानीवन दुई अंकसहित तालिकाको आठौँ स्थानमा छ ।
भलिबल छोडेर फुटबलमा होमिएपछि जन्मियो ‘रानीवन स्पोर्ट्स क्लब’
पहाडी क्षेत्र भएकाले स्वभावैले बाजुरामा पनि भलिबल चर्चित थियो । अझै पनि छ । २०५४ सालमा बडिमालिका क्षेत्रका केही युवा मिलेर खोले, ‘मालिका युवा क्लब’ । क्लबले गाउँमा हुने भलिबल प्रतियोगिताहरूमा सहभागिता जनाउन थाल्यो । तर, क्लब स्थापना गरेका पहिलो पुस्ता नै विस्तारै क्लबबाट टाढा हुँदै गएपछि नयाँ पुस्ताले पनि भलिबल छोड्दै गए । नयाँ पुस्ता भलिबलबाट विस्तारै फुटबलतिर आर्कषित हुन थाले ।
क्लबले अब भलिबल छोडेर फुटबल प्रतियोगितामा सहभागिता जनाउन थाल्यो । सुरूमा गाउँ र छिमेकका जिल्लामा हुने प्रतियोगिता खेल्न लाग्यो । स्थानीय प्रतियोगिता हुँदै क्लबले क्षेत्रीय प्रतियोगितामा पनि सहभागिता जनाउन थाल्यो ।
भलिबलबाट फुटबलतिर लागेको भए पनि मालिकाले क्लबको नाम भने परिवर्तन गरेको थिएन । नेपालकै चर्चित र प्रसिद्ध मन्दिरमध्येको भएकाले बाजुराका सबैजसो क्लबको नाम बडिमालिकाकै नाममा थियो । सबैको एउटै नाम देखेपछि मालिका क्लब नाम परिवर्तन गर्ने निष्कर्षमा पुग्यो । र, नाम जुर्यो ‘रानीवन’ । नजिकै रहेको रानीवन मासिँदै गएको देखेर चिन्तित क्लबले यसको संरक्षण गर्न क्लबको नाम नै ‘रानीवन स्पोर्ट्स क्लब’ राख्ने निधो गर्यो ।
क्लबले नाम परिवर्तन गरेको केही वर्षपछि देशकै शासकीय र प्रशासकीय व्यवस्था पनि परिवर्तन भयो । देश १४ अञ्चलबाट सात प्रदेशमा गयो । क्लबले पनि अञ्चलस्तरीय प्रतियोगिताबाट प्रदेशस्तरका प्रतियोगितामा सहभागिता जनाउन थाल्यो ।
फुटबल विकासको मेरूदण्ड घरेलु लिगको तीन संरचनामा सुदूरपश्चिमका टोली नदेखेपछि क्लबका अध्यक्ष ध्रुव रोकायामा क्लबलाई लिगमा लैजाने हुटहुटी जाग्यो । अनि, क्लबले निधो गर्यो, लिगमा उक्लिन छनोट खेल्नुपर्छ ।
‘सी’ डिभिजन लिगको छनोटका लागि २०७८ सालमा रानीवन पहिलोपटक काठमाडौं आइपुग्यो । क्लबले पहिलो प्रयासमै लक्ष्य भेट्टाएपछि रानीवन नेपाली लिगको संरचनामा उक्लियो । २०७९ मा पहिलोपटक ‘सी’ डिभिजन लिग खेलेको रानीवनले सातौँ स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको थियो ।
फुटबलको गहिरो लगावले क्लबलाई अखिल नेपाल फुटबल संघ (एन्फा)को लिग संरचनामा ल्याएका रोकाया अहिले भने चिन्तित छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा तीन महिनासम्म सञ्चालन हुने प्रतियोगिताभर कसरी टिक्ने रोकाया रनभुल्ल छन् ।
“दुःख बिसाउने चौतारी भन्छन् नि, त्यो नै हामीले अहिलेसम्म भेट्टाएका छैनौँ । अहिले लिगमा काठमाडौं उपत्यकाकै क्लबलाई त यति गाह्रो स्थिति छ । हामी यति टाढादेखि आउँदा, प्रशिक्षण गर्दा, खेलाडीहरूलाई आवश्यक कुरा पुर्याउन कस्तो भइरहेको होला,” बाह्रखरीसँग रोकायाले भने, “अवस्था यति कठिन छ कि भनेर शब्दमा पोख्नै सकिन्न । फुटबलप्रतिको माया र लगावले गर्दा नै हामी अहिलेसम्म यहाँ छौँ । तिलकसिंह पेलाको गीत ‘के लत बस्यो मलाई’ भन्ने जस्तै भएको छ ।”
नेपाली लिग संरचनामा उक्लिने लक्ष्यसहित हरेक सिजन करिब देशभरका ५० भन्दा धेरै क्लबहरूले ‘सी’ डिभिजन लिग छनोट खेल्छन् । जसबाट दुई क्लबमात्र लिगमा बढुवा हुन्छन् । सहभागी क्लबहरूको संख्याले नै लिगमा उक्लिने अर्थ प्रस्ट्याउँछ । तर, रानीवनलाई भने यो उपलब्धि अहिले ‘निल्नु न ओकल्नु’ भएको छ ।
“अहिलेसम्म प्रायोजक पनि भेट्टाएका छैनौँ । फुटबल मायाले यहाँ आएका छौँ । चुनौतीहरू त कति छन् कति । यो पनि एक किसिमको नशा हुने रहेछ । त्यही लतमा छौँ हामी,” रोकाया भन्छन् ।
लिगका लागि काठमाडौं आइपुग्न मात्रै रानीवनले २७ घण्टा लामो बसयात्रा तय गर्नुपरेको थियो । १९ गते काठमाडौं आइपुग्दा क्लबले तयारीका लागि दुई दिनमात्र समय पायो । त्यसमा पनि पहिलो दिन सबै खेलाडी टिममा जोडिन सकेनन् । तर, यी सबै समस्या र चुनौतीका पहाडहरूबीच पनि क्लबले लक्ष्य ‘बी’ डिभिजन लिगमा उक्लिने राखेको छ ।
“लिग सुरु हुनुभन्दा एक दिनअघिसम्म पनि हाम्रो टिममा खेलाडी थिएनन् । प्रशिक्षण भनेको हामीले दुई दिनमात्र गर्यौ । त्यसपछि राम्रो भइरहेको छ । लिगका लागि यति कठिन यात्रा तय गरेकाले पनि लक्ष्य हाम्रो बी उक्लिने नै छ,” क्लबका मुख्य प्रशिक्षक दीपेश योञ्जन लामा भन्छन् ।