site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘राज्यले हाँसो नदिएसम्म चल्ने कमेडी सिनेमा नै हो’
Sarbottam CementSarbottam Cement

काठमाडौं । वर्तमानमा बजार कमेडी सिनेमाको छ । कमेडी सिनेमाले आकर्षक कलेक्सन गरिरहेका छन् । केही वर्षयता लगातार उच्च कलेक्सन गर्नेमा कमेडी सिनेमा नै छन् । बक्सअफिस कलेक्सन हेर्ने हो भने अन्य सिनेमा धेरै पछि छन् । भलै, सिनेमाको कलात्मक पक्षको बहस छुट्टै होला । मेकिङको मूल्यांकन गर्ने हो भने रिजल्ट छुट्टै होला ।

केही वर्षयता लगातार धेरै कमाइ गर्ने सिनेमामा कमेडी जानराका ‘कबड्डी’, ‘जात्रा’ र ‘छक्का पञ्जा’ सिरिज छन् । यसबाहेक सोही जानरामा बनाइएका ‘जारी’ र ‘महापुरुष’ले उच्च कमाइ गरेका छन् । अहिलेसम्मको बक्सअफिसको उच्च रेकर्ड पनि कमेडी जानराकै सिनेमाको नाममा छ । भलै, यी सबै सिनेमा फुल कमेडी होइनन् ।

एक्सन, लभस्टोरी र सोसल ड्रामाले आकर्षक कमाइ गर्न सकेका छैनन् । यी जानरामा चलेका भनिएका, प्रचार गरिएका र राम्रो हाइप बनाएका सिनेमालाई लगानी उठाउन नै हम्मेहम्मे परेको देखिन्छ । केही वर्षयता लगातार कमेडी जानराका सिनेमा चलिरहेका छन्, सामाजिक तथा राजनीतिक विषयमा कमेडीको फ्लेवर मात्रै हो । जे होस्, कमेडीलाई दर्शकले रुचाइरहेका छन् । यसैले वर्तमान कमेडी जानराको हो । त्यसो भए भविष्य पनि कमेडी सिनेमाकै हो ?

Prabhu Bank
Agni Group
NIC Asia

निर्देशक तथा कलाकार दीपाश्री निरौला कुन सिनेमाको भविष्य कस्तो हुने अहिले नै भन्न नसकिने बताउँछिन् । नेपालमा मात्रै नभएर भारतमा पनि अहिले कमेडी सिनेमा चलिरहेको उनको भनाइ छ । “प्रस्तुति अथवा विषय जुनसुकै होस्, बेस कमेडी भएको चलचित्र दर्शकले मन पराइरहेको अवस्था छ,” दीपाश्री भन्छिन् ।

दर्शक निराशभन्दा पनि रमाउन चाहिरहेको उनको तर्क छ । कमेडी भन्नेबित्तिकै कमेडी मात्रै नभएर त्यसमा रोमान्स पनि हुने उनी बताउँछिन् । “कमेडी जानरा भनेर कमेडी मात्रै हुँदैन, त्यसमा रोमान्स पनि हुन्छ,” उनी अगाडि भन्छिन्, “कमेडी बेसमा सामाजिक विषयवस्तु र त्यसमा रोमान्टिक पनि भएपछि सिनेमा चल्छ ।”

Global Ime bank

कमेडी मात्रै होइन, सबै जानराका सिनेमा चल्नुपर्ने उनको धारणा छ । अहिले साउथ इन्डियन फ्लेवरका सिनेमा पनि बनाउने प्रयास भइरहेको र त्यस्ता चलचित्र समेत चल्नुपर्नेमा उनको जोड छ । “अहिले कमेडी चलिरहेको छ । अब अरू सिनेमा पनि चल्नुपर्छ भन्ने लाग्छ । मेरो विचारमा एक्सन सिनेमामा पनि कमेडी हुनुपर्छ,” उनी भन्छिन्, “कमेडी फ्लेवरका सिनेमा चलिरहेकाले एक्सनमा पनि कमेडी भयो भने चल्छन् भन्ने लाग्छ ।”

हरेक दशकमा फरक–फरक जानराका सिनेमा चल्छ भन्ने गरिएको उनी उल्लेख गर्छिन् । कुन दशकमा कुन सिनेमा चल्छ भन्ने निश्चित नहुने तर दर्शकको टेस्टमा बदलाव आइरहने दीपाश्री बताउँछिन् । कमेडी जानराको सिनेमा दर्शकको मनमा चाँडै बस्ने गरेको सत्यलाई भने नकार्न नसकिने दीपाश्रीको भनाइ छ ।

हरेक सिनेमा दर्शकले मन पराउने तर त्यसको कथ्यशैलीमा भरपर्ने उनको धारणा छ । “दर्शकले हरेक जानराका सिनेमा मन पराउँछन् । तर, त्यसको प्रस्तुति कस्तो छ भन्ने हो । राम्रोसँग भनेको छ र गज्याङगुजुङ छैन भने मन पराउनुहुन्छ,” उनी भन्छिन्, “अहिले दर्शकमा सिनेमा लिट्रेसी बढेको छ । नेपाली दर्शक वर्ल्ड सिनेमा हेरिरहनुभएको छ । त्यसैले राम्रो सिनेमा बन्यो भने चल्छ ।”

कथ्यशैली फितलो हुनु नै सबै चलचित्र नरुचाइनुको मुख्य कारण भएको उनको तर्क छ । हरेक सिनेमाका दर्शक हुने तथ्यलाई भुल्न नहुनेमा उनी जोड दिन्छिन् । “लभस्टोरी सिनेमा नै भए पनि प्रिजेन्टेसन राम्रो भयो भने दर्शकले स्वीकार्छन्,” दीपाश्री भन्छिन्, “प्रिजेन्टेसनचाहिँ राम्रो चाहियो । दर्शकले राम्रो प्रिजेन्टेसन खोजिरहेका छन् ।”

लोकल फ्लेवर र पेस राम्रो भएको स्तरीय सिनेमा बनाइए जुनसुकै जानरा भए पनि चल्ने वितरक तथा निर्देशक प्रचण्डमान श्रेष्ठ बताउँछन् । राम्रो कन्टेन भए त्यसले स्वतः बजार पाउनेमा उनी ढुक्क छन् ।

“लभ, कमेडी, सोसल वा थ्रिलर जुनसुकै जानरा भए पनि राम्रो सिनेमा बन्यो भने चल्छ,” प्रचण्डमान भन्छन्, “नेपाली साइकल मिल्ने अर्ग्यानिक सिनेमा बन्यो भने चल्छ । यो दशक यो सिनेमा र अर्को दशक यो भन्ने हुँदैन, राम्रो कन्टेन छ भने जहिले पनि सिनेमा चल्छ ।”

किन कमेडी सिनेमा नै चलिरहेका छन् ? प्रचण्डमान भन्छन्– लोकल फ्लेवर नै मुख्य कारण हो । “अर्ग्यानिक फ्लेवर नै यसको मुख्य कारण हो । कमेडी त्यस्तो विषय हो, जो अर्ग्यानिक हुन्छ,” उनी भन्छन्, “कमेडी स्थानीय हुन्छ । मौलिक कमेडी गर्न सक्यो भने त्यसले दर्शकलाई हिट गर्छ ।”

कमेडी सधैँ ‘लोकल’ हुने उनको भनाइ छ । त्यसैले अमेरिका र भारतकै हिट कमेडी सिनेमा पनि अन्य देशमा धेरै नचल्ने गरेको उनी बताउँछन् । कमेडीलाई देशका सीमा पार गर्न कठिन हुन्छ भनिन्छ ।

“कमेडी सधैँ लोकल हुन्छ । त्यसैले हलिउड र बलिउडका सुपरहिट कमेडी सिनेमा पनि अरू देशमा चल्दैनन् । कारण, सीमित भूगोल, त्यहाँको संस्कृति र रहनसहनानुसार कमेडी हुन्छ । हलिउडका दर्शकले त्यहाँको समय, परिस्थिति, घटना र पात्रमा हुने कमेडी त्यही भूगोलमा नभएकाले फिल हुँदैन,” प्रचण्डमान भन्छन्, “त्यसैले एउटा देश वा भूगोलमा लोकल विषयमा राम्रो कमेडी सिनेमा बनाउन सक्यो भने दर्शक त्यसमा कनेक्ट हुन्छन् ।” 

एक्सन सिनेमा भने युनिभर्सल हुने प्रचण्डमानको बुझाइ छ । हलिउड होस् वा बलिउड, एक्सन सबै एकै हुने र सबैले बुझ्ने उनी बताउँछन् । यही कारण कमेडी सिनेमाले घरेलु बजारका चलचित्रसँग मात्रै प्रतिस्पर्धा गरे पुग्छ । अन्य जानराको सिनेमाले भने विश्वबजारका चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

कमेडीलाई एउटा फाइदा भने छ, त्यो हो – तुलनात्मक रूपमा यो जानराको सिनेमा मेकिङ केही सस्तो हुन्छ । एक्सन, लभस्टोरी, सोसल ड्रामालगायत जानराका सिनेमा मेकिङ कमेडी चलचित्रभन्दा धेरै महँगो हुने निर्देशक समेत रहेका प्रचण्डमानको भनाइ छ । 

“सिनेमा उद्योगको विकास हुन सबै जानराका सिनेमा चल्नुपर्छ,” उनी भन्छन्, “कुनै एउटा जानराको सिनेमाको चेपुवामा परेर कुनै पनि जानराका सिनेमा चलेनन् भने सिनेमा उद्योग फैलिँदैन ।”

सिनेमा उद्योगलाई बगैँचा मान्ने हो भने त्यहाँ थरीथरीका चलचित्र फुल्नुपर्ने निर्देशक प्रदीप भट्टराई बताउँछन् । सबै प्रकारका सिनेमा चलेको अवस्थामा मात्रै चलचित्र उद्योग समृद्ध हुने उनी टिप्पणी गर्छन् ।

मेकिङका हिसाबले राम्रा सिनेमा बन्न थालेको अवस्थामा कमेडीभन्दा पनि अन्य सिनेमा चल्ने उनको तर्क छ । “जुन दिन कथा, मेकिङ, अभिनय, कलर, साउन्डका हिसाबले नेपालमा राम्रा सिनेमा बन्न थाल्नेछन्, त्यो दिन नेपालमा केही होइन, अरू सिनेमा चल्नेछन्,” प्रदीप भन्छन्, “अहिले कमेडी सिनेमा किन चलिरहेका छन् भने कमेडीले सिनेमाले हँसाउँछ । ब्याक टु ब्याक हँसाउँदा कमजोरी नै पत्ता लगाउने समय हुँदैन । तर, मेकिङका हिसाबले कमेडी सिनेमाजत्तिकै राम्रा सिनेमा पनि हाम्रा (कमेडी)जति चलेका छैनन् । कारण, ती सिनेमाले इंगेज नगराएपछि दर्शकले कमजोरी केलाएर बसिरहेका हुन्छन् ।” 

नेपाल मात्रै त्यस्तो देश हो, जहाँ बक्सअफिसमा कमेडी सिनेमाको रेकर्ड छ । विश्वका कुनै पनि देशमा कमेडी जानराका सिनेमाले बक्सअफिस रेकर्ड बनाउन सकेका छैनन् ।

के हो कारण ? “हामीलाई यसै तनाव छ, थप तनाव लिन किन हलमा जाने ? हरेक दिन समस्याले सताइरहेको छ, थप समस्या हेर्न किन जाने ? यसै अभाव छ,” जवाफमा प्रदीप भन्छन्, “थप अभावको कथा हेर्न किन जाने ? यसै दिनदिनै रुनु परिरहेको छ, थप रुन किन हलमा जाने भन्ने मनोविज्ञानले काम गरिरहेको छ भन्ने लाग्छ ।”

नेपालमा ‘हाँसोको अभाव’ हुन्जेल कमेडी सिनेमा चलिरहने प्रदीप टिप्पणी गर्छन् । समाजमा जे अभाव छ, त्यही माग हुने उनको भनाइ छ । जे माग धेरै छ, त्यही नै सबैभन्दा बढी बिक्री हुने अर्थशास्त्रको सिद्धान्त स्मरण गर्दै उनी अगाडि थप्छन्, “राज्यले जबसम्म आमनागरिकलाई हाँसो र खुसी दिन सक्दैन, तबसम्म नेपालमा कमेडी सिनेमा नै चल्छन् भन्ने लाग्छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC