site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सिड्नीको सपिङ सेन्टरमा आक्रमण, ६ जनाको मृत्यु

सिड्नी । सिड्नीको एउटा व्यस्त सपिङ सेन्टरमा चक्कु बोकेका एक हमलाकारीले आक्रमण गर्दा नौ महिनाको शिशुसहित ६ जनाको मृत्यु भएको छ । धेरैजना घाइते छन् ।

अज्ञात हमलाकारीले धेरै मानिसमाथि छुरा प्रहार गरेको र एक महिला प्रहरीले गोली हानी उसको हत्या गरेको अस्ट्रेलियाली प्रहरीले जनाएको छ । ती महिलालाई राष्ट्रिय नायकका रूपमा प्रशंसा गरिएको छ ।

घटना विशाल वेस्टफिल्ड बन्डी जक्सन मल परिसरमा भएको थियो । उक्त मल शनिबार दिउँसो हजारौँ खरिदकर्ताको भीडले भरिएको थियो । न्यु साउथ वेल्सका प्रहरी आयुक्त क्यारेन वेबले पाँच महिला र एक पुरुषको मृत्यु भएको जानकारी दिए । उनका अनुसार, एक बालकको आपत्कालीन शल्यक्रिया भइरहेको थियो ।

प्रहरीले हमलाकारी ४० वर्षीय व्यक्ति रहेको जनाएको छ । यद्यपि, अहिलेसम्म उसको औपचारिक रूपमा पहिचान गर्न सकिएको छैन । हमला आतंकवादी कार्य थियो भन्ने विषयलाई वेबले अस्वीकार गरे । हमलाकारी एक्लैले यस्तो कार्य गरेको मान्न सकिने उनले बताए ।

“यदि, यो हामीले विश्वास गर्ने व्यक्ति हो भने यो आतंकवादी घटना होइन,” उनले भने ।

न्यु साउथ वेल्स एम्बुलेन्सका प्रवक्ताले आठ घाइतेलाई सिड्नीका विभिन्न अस्पतालमा पु¥याइएको जानकारी दिए । तीमध्ये एक बालकलाई सहरको बाल अस्पतालमा लगिएको थियो । प्रवक्ताले भने, “सबैलाई गम्भीर चोट लागेको छ ।”

सुरक्षा क्यामेराको फुटेजमा अस्ट्रेलियाली रग्बी लिगको जर्सी लगाएका एक व्यक्तिलाई चक्कु लिएर सपिङ सेन्टरको चारैतिर दौडिरहेको देखाइएको छ । रगतले लतपतिएका घाइतेहरू भुइँमा लडिरहेका थिए ।

प्रत्यक्षदर्शीले आतंकको दृश्य वर्णन गरेका छन् । उनीहरूका अनुसार, पसलेहरू सुरक्षाका निम्ति दौडिरहेका थिए भने प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित पार्ने प्रयास गरिरहेको थियो । केही मानिसले स्वयं र आफ्ना परिवारलाई डरलाग्दो अपरिचितबाट बचाउन पसलहरूमा शरण लिइरहेका थिए । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro