site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजारको दबाब र प्रभावलाई बेवास्ता गरेको बलियो सिनेमा

इमानदार मेकर त्यो हो जसले बजारको प्रभाव र दबाबबिना सिनेमा बनाउँछ । जसले बजारको दबाबबिना आफूलाई मन लागेको कथा भन्छ, उसले राम्रो सिनेमा बनाउने सम्भावना उच्च हुन्छ । तर, यस्ता सिनेमा र मेकर विरलै मात्रै हुन्छन्, जसले बजारको अंकगणित नहेरी आफूलाई मन लागेको कथा मन लागेको तरिकाले बनाउँछ ।

यस्तै सिनेमा हो, ‘द रेड सुटकेस’ । निर्देशकलाई एउटा कथा भन्न मन लागेको छ । उनले मनमौजी कथा भनेका छन् । उनलाई नेपाली अडियन्सले अहिले कस्तो सिनेमा मन पराइरहेका छन्, कस्तो सिनेमालाई सिनेमा हल सञ्चालक र वितरकले प्राथमिकता दिइरहेका छन् भन्ने निर्देशकले नजरअन्दाज गरेर कथा भनेका छन् ।

निर्देशकलाई वैदेशिक रोजगारीका कारण नेपाली समाजले भोगिरहेको कथा भन्नु छ । त्यसको कारण देखाउनु छ । वैदेशिक रोजगारीका कारण रित्तिँदै गएको गाउँ देखाउनु छ । यसको गुह्य कारण के हो देखाउनु छ, देखाएका छन् । अशान्त कथा शान्त तरिकाले देखाएका छन् ।

भनिरहनै पर्दैन, सिनेमा दृश्य भाषा हो । दृश्यमार्फत कथा भन्ने हो । नेपालमा अधिकांश दृश्य होइन, डाइलग (संवाद) हाबी भएका सिनेमा बनिरहेका छन् । बक्सअफिसमा हिट भइरहेका छन् । ‘द रेड सुटकेस’ दृश्यमार्फत कथा भनिएको सिनेमा हो ।

श्रीमान् सात महिनाअगाडि मात्र वैदेशिक रोजगारीका निम्ति कतार पुगेको छ । गाउँमा छोरी जन्मिन्छन् । श्रीमान्ले आफू आउन कठिन रहेको बताउँछ । र, छोरीको नाम आशा राख्न श्रीमतीलाई सुझाउँछ । यहीँबाट सुरु हुन्छ सिनेमा ।

सिनेमाले संवादभन्दा पनि दृश्यमा जोड दिन्छ । निर्देशकले कलाकारलाई धेरै बोल्न लगाउँदैनन् । उनीहरूका अनुहार, हेराइ, हिँडाइ र एटिच्युडमार्फत निर्देशक कथा भन्छन् । क्यामेरा राम्रोसँग खेलाउन सके त्यसले कति धेरै कथा भन्छ, सिनेमामा देख्न सकिन्छ । सिनेमेटोग्राफीमा ध्यान दिने निर्देशक सिचुएसनअनुसारको सट डिजाइन गर्छन् । कतै वाइड एंगलमा खेल्ने निर्देशक कतै त्यसको ठिकविपरीतको एंगल रोज्छन् ।

पूरै समाज र देशको कथा भन्दा क्यामेरा वाइड एंगलमा खेल्छ, व्यक्तिविशेषमा केन्द्रित हुँदा त्यसमै । सौगात मल्लको ऐनामा देखिने सिनले सिनेमेटोग्राफीको चेत प्रस्ट्याउँछ ।

सौगात बेलाबेलामा मोबाइलमा नेटवर्क नटिपेझैँ माथि हात लगेर यताउता डुलाउँछन्, नेटवर्क खोज्छन् । आमनेपाली जनताको जिन्दगी मोबाइलको नेटवर्कजस्तै रहेको र त्यो सहजै आओस् भन्ने प्रयास गर्दा गर्दै जिन्दगी बितिरहेको विम्बका रूपमा यसलाई प्रयोग गरिएको छ ।

सन्तान घर/देशमा छैनन् । बुढो भएका बाउआमा मात्रै छन् । सन्तान नै सँगै नभएपछि कसरी हुन्थ्यो जिन्दगी फ्रेस ! निर्देशकले बासी मःमसँग एक्लो रिटायर्ड जिन्दगीलाई तुलना गरेका छन् । फाल्न माया लाग्ने, खाँदा स्वास्थ्यलाई असर गर्छ । 

गरिबी छ, अशिक्षा छ, अभाव र छटपटी छ । आमनेपालीको जिन्दगी फिका छ । त्यसैले सिनेमाका अधिकांश चरित्र फिका छन् । कसैको अनुहारमा चमक छैन । उनीहरू लुगा पनि मैलाधैला लगाउँछन् । घरहरू जीर्ण छन् । घरका कलर खुइलिसकेका फुंग उडेका छन् ।

कथा कस्तो हो, निर्देशक त्यही कलर प्रयोग गर्छन् । रातो कफिन आँगनमा पुर्‍याउँदाको लाइट र कलरले आफैँ बोल्छ धेरै कुरा, किन चाहियो संवाद ! कलर र लाइटले पनि कथा भन्छ भन्ने उत्कृष्ट प्रमाण हो यो सिन ।

धेरै नेपाली सिनेमा – जसले न साउन्डमा बजेट खर्चिन्छन् न यसमा ध्यान दिन्छन् । तर, ‘द रेड सुटकेस’को साउन्ड कथासँग यसरी म्याच भएर आउँछ, त्यसले सिनेमालाई थप उचाइ दिने काम गरेको छ । चाहेको खण्डमा नेपाली चलचित्रमा पनि कर्कस लाग्ने साउन्ड होइन, कथा भन्दै सिनेमालाई सुन्दर बनाउने सिनमा पनि प्रयोग गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेको छ, यो सिनेमाले ।

गाउँमा युवा छैनन् । महिला र केटाकेटी मात्रै छन् । आवश्यक पर्दा जुट्नलाई पनि पुरुष छैनन् । सिनेमाका दृश्यमा यो देखाउन निर्देशक हमेसा सचेत छन् । विम्बका रूपमा गोरु जोतिरहेका एक वृद्ध र बुख्याचा प्रयोग गरेका छन् ।

सिनेमामा सौगात मल्ल, विपीन कार्की, प्रविण खतिवडा र सृृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । सौगात अधिकांश सिनेमामा लाउड देखिन्छन् । उनी स्वयंले पनि यो स्वीकार गर्दै आएका छन् । सौगातका लागि यो सिनेमा अपवाद होला, जसमा उनी शान्त छन् । लाउड कतै लाग्दैनन् । सिनेमा निर्देशकको माध्यम हो । कथा भन्ने निर्देशक हुन्, कलाकार कथा भन्ने माध्यम मात्रै हुन् । निर्देशक राम्रो भए उसले औसत कलाकारबाट पनि राम्रो अभिनय निकाल्न सक्छ । राम्रा कलाकारलाई आफ्नै लयमा बरालिन दिँदैन । निर्देशकले रंगमञ्चमा झैँ लाउड देखिने सौगातबाट आफ्नो सिनेमामा जति चाहिने हो, त्यति मात्रै लिएका छन् ।

सिनेमामा देखिने सबै कलाकारको अभिनयले लोभ्याउँछ । विपीन यो चलचित्रमा आफ्नै ओर्जिनल भ्वाइसमार्फत डाइलग डेलिभरी गर्छन् । हरेक चलचित्रमा फरकफरक चरित्रमा चरित्रानुसारको स्वर निकाल्ने विपीनको यसमा ओर्जिनल स्वर सुन्न सकिन्छ ।

त्यसो त सिनेमामा केही कमजोरी नै नभएका होइनन् । क्यारेक्टर स्ट्याब्लिस गर्न निर्देशकले खासै चासो देखाएका छैनन् । सौगातको क्यारेक्टर स्ट्याब्लिस संवादमार्फत गर्न खोजे पनि भिजुअलको अपेक्षा हुन्छ । विपीनको विगत के थियो भन्ने थोरै जानकारी दिएको सिनेमाले प्रविण र सृष्टिको क्यारेक्टर स्ट्याब्लिस गर्दैन । दुई जिउ भएकी श्रीमतीलाई एक्लै घरमा छोडेर विदेश जाने अवस्था किन आयो ? बुवा, आमा र परिवारका अन्य सदस्य किन छैनन् भन्ने जानकारी दिन नखोज्नु सिनेमाको कमजोर पक्ष हो ।

फास्टकट पञ्चलाइनवाला राइटर हाबी भएका सिनेमा हेर्ने दर्शकका निम्ति ‘द रेड सुटकेस’ हुँदै होइन । सिनेमा दृश्यभाषा हो । राइटर र कलाकार होइन, सिनेमा निर्देशकले भन्नुपर्छ, दृश्य बोल्नुपर्छ भन्नेका लागि यो छुटाउनै नहुने चलचित्र हो । 

० ० ०

निर्देशक: फिडेल देवकोटा
लेखक: फिडेल देवकोटा
कलाकार: सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ, प्रविण खतिवडा आदि 
निर्माता: रामकृष्ण पोखरेल
लेन्थ: ८७ मिनेट 
ब्यानर: आइसफल प्रोडक्सन 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro