काठमाडौं । भ्रष्टाचार मुद्दामा मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित दुईजना दोषी ठहर भएका छन् । शुक्रबार विशेष अदालतले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्ल र उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर रावललाई दोषी ठहर गरेको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले मल्ललाई दुई वर्ष ६ महिना कैद र रावललाई एक वर्ष ६ महिना कैद सजाय सुनाएको छ ।
यसैगरी मल्ललाई १९ लाख २३ हजार ७५० रुपैयाँ बिगो कायम गरी त्यति नै जरिबाना हुने फैसला भएको छ । रावललाई पनि १९ लाख २३ हजार ७५० बिगो कायम गरी त्यति नै जरिबाना हुने फैसला भएको छ ।
यसै प्रकरणमा मुछिएका अन्य पाँच जनाले भने सफाइ पाएका छन् । सफाइन पाउनेमा महेशसिंह कठायत, रुनबहादुर सेजुवाल, केशरबहादुर रावल, हस्तबहादुर मल्ल र वसन्ती रावल रहेका छन् ।
उनीहरूमाथि नगरपालिकाको वडा नम्बर २ मा पार्क निर्माणका लागि सार्वजनिक खरिद नियमावली विपरीत कुल लागतको ५० प्रतिशत पेस्कीसमेत उपलब्ध गराएर ३८ लाख ४७ हजार ५०० रुपैयाँ अनियमितता गरेको आरोप लागेको थियो ।