site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पेट्रोल र मटीतेल पाइपलाइन निर्माणको काम ३० प्रतिशत बाँकी

काठमाडौं । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनअन्तर्गत पेट्रोल र मटीतेल पाइपलाइन निर्माण कार्यको म्याद थप्ने तयारी गरिएको छ ।  भारतको लिखिता इन्फ्रास्ट्रक्चर कम्पनीसँगको म्याद थप्ने तयारी गरिएको हो । म्याद सकिन लाग्दा समेत काम अझै ३० प्रतिशत बाँकी नै छ ।

सम्झौताअनुसार उक्त कम्पनीले सन् २०२४ मार्चसम्म काम सक्नुपर्ने थियो । अझै करिब ३० प्रतिशत काम बाँकी नै छ । कम्पनीले करिब चार महिना म्याद थप्नुपर्ने आशय व्यक्त गरेको छ ।

पेट्रोल र मटीतेल आयातका निम्ति सन् २०२३ डिसेम्बरदेखि दोस्रो चरणअन्तर्गतको काम थालिएको थियो ।  हालसम्म करिब ७० प्रतिशत काम सकिएको नेपाल आयल निगमको अमलेखगञ्ज डिपोका प्रमुख विनीतमणि उपाध्याय बताउँछन् ।

Dabur Nepal
NIC Asia

उक्त कम्पनीले समयमा काम सकाउन गाह्रो भएको भन्दै अवधि थप गर्नुपर्ने अनौपचारिक रूपमा माग गरेको डिपो प्रमुख उपाध्यायले जानकारी दिए । 

कति समय थप गर्नुपर्ने भन्ने औपचारिक रूपमा भने माग नगरिएको उनले बताए ।

“सन् २०२४ को मार्चसम्म निर्माण सम्पन्न गर्ने सम्झौतामा थियो । ३० प्रतिशतजति काम बाँकी रहेकाले अनौपचारिक रूपमा समय थप गर्नुपर्ने भयो भन्ने कुरा उहाँहरूले गर्नुभएको छ,” उपाध्यायले बाह्रखरीसित भने, “के कति समय थप गर्नुपर्ने भन्ने बारेमा औपचारिक रूपमा कुरा भएको छैन ।”

के कस्ता संरचना बनाइयो ?

डिपो प्रमुख उपाध्यायका अनुसार, सिभिल संरचनाअन्तर्गतका तीन (पीएमसीसी भवन, क्वालिटी कन्ट्रोल भवन र कन्ट्रोल भवन) भवन निर्माण सम्पन्न भइसकेको छ । सेल्स एन्ड डिस्ट्रिब्युसनका संरचना पनि तयार भइसकेका छन् ।

मेकानिकलअन्तर्गत दुईवटा २५० किलोलिटर (केएल) क्षमताका भर्टिकल ट्यांकी र ४१ सय केएलका दुई पेट्रोल ट्यांकी ठड्याउने काम सम्पन्न भइसकेको छ । यी ट्यांकीहरूमा केही प्राविधिक र रङ लगाउने काम बाँकी छ । दुईवटा ३१ किलोलिटरका पानीट्यांकी निर्माणको काम पनि सकिएको छ ।

केएलएफ सेटको काम भइरहेको छ । प्रिभ इन्जिनियरिङ बिल्डिङ (पीईभी) पनि निर्माण भइरहेको प्रमुख उपाध्यायले जानकारी गराए । यसका निम्ति भारतबाट कच्चापदार्थ ल्याएर जडान गर्ने काम भइरहेको उनले बताए ।

उपाध्ययका अनुसार, सिभिलको काम पनि अघि बढाइएको छ । हालसम्म पाइप बिछ्याउने काम करिब ५० प्रतिशत सम्पन्न भइसकेको छ ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना हो । यसको कुल लम्बाइ ६९.२ किलोमिटर छ । त्यसमध्ये ३३ किलोमिटर भारत र ३६.२ किलोमिटर नेपाली भूमिमा पर्छ । पाइपलाइनको क्षमता वार्षिक करिब २५ लाख किलोलिटर छ ।

सन् २०१५ मा नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन निर्माणका निम्ति सम्झौता भएको थियो । २०१८ मा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा परियोजनाको शिलान्यास गरेका थिए । पहिलो चरणमा डिजेल आयात गरिएको थियो । डिजेल आयातको सफलतासँगै सन् २०२३ अन्तिमबाट दोस्रो चरणको काम थालिएको थियो । पेट्रोल र मट्टीतेल आयातका निम्ति दोस्रो चरणको काम गरिएको हो ।

अमलेखगञ्ज डिपोबाट विराटनगर, जनकपुर, थानकोट, पोखरा र भलवारी डिपोमा ‘स्टक ट्रान्सफर’ हुँदै आएको छ ।

यो पाइपलाइन निर्माण सम्पन्न भएसँगै ढुवानी भाडा बचत, प्रदूषण नियन्त्रण, परिमाण र गुणस्तरको निश्चिता, समयको बचतसँगै आयात गर्दा बीचबाटोमा चोरी हुनेजस्ता समस्या समाधान हुने निगमले जनाएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro