site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपीनले ‘द रेड सुटकेस’मा कसरी जुटाएका थिए इन्डियन आर्मीको कस्ट्युम ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । विपीन (कार्की)ले चलचित्रमा काम गर्ने वचन दिए । पात्र थियो भूपू गोर्खा सैनिकको । इन्डियन आर्मीबाट रिटायर्ड पात्र उनले निभाउनुपर्ने चरित्र थियो । चरित्र निभाउनु नै पर्ने भएपछि त्यसको विस्तृत अध्ययन त गर्नैपर्‍यो । अरू चलचित्रमा त त्यसो गर्थे भने केही भिन्न उद्देश्य लिएर बनाउन लागेको ‘द रेड सुटकेस’मा नगर्ने कुरै भएन ।

पहिला त भूपू गोर्खा सैनिक भन्नेबित्तिकै गोर्खा सैनिकले लगाउने ड्रेस नै चाहिन्थ्यो । प्रोडक्सन त्यसको खोजीमा जुट्ने तयारी गर्दै थियो । त्यही बेला विपीनले प्रोडक्सनलाई भने– मेरो कस्ट्युमको चिन्ता गर्नु पर्दैन, म आफैँ जोहो गर्छु ।

कसरी ? 

“मेरो बुवा भारतीय भूपू गोर्खा सैनिक हो । बुवा आर्मी भएकाले हामी आर्मीको कठोर अनुशासनमा हुर्किएका हौँ । बेलुका ६ बजे बत्ती बलिसक्नुपर्ने र बिहान ७ बजे निभिसक्नुपर्छ भनेजस्तो अनुशासनमा हुर्किएका हौँ,” विपीन भन्छन्, “घरमै त्यो वातावरणमा हुर्किएकाले पनि होला, मलाई यो सिनेमाको क्यारेक्टर गर्न केही सहज भयो, मात्रै पुराना कुरा रि–कल गरेँ । आफ्नै अनुभूति यसमा मिसाएको छु ।” 

विपीनका बुवा लोकबहादुर कार्की ०४७ सालका रिटायर्ड गोर्खा आर्मी हुन् । आर्मीले हरेक वर्ष ड्रेस उपलब्ध गराउँथ्यो । फाटेका फाटिगए, बचेका घरमा ल्याउँथे । छोरो इन्डियन आर्मी, विपीनका हजुरबुवा छोराले ल्याएको आर्मीको ह्याट लगाएर हिँड्थे । गाउँको उनको पहिचान नै ‘ह्याट बाजे’ भन्ने थियो ।

विपीन इन्डियन आर्मीको छोरो । बुवाले कमब्याट लगाएको देखेका उनलाई पनि रहर लाग्थ्यो । ह्याट लगाएर स्कुल जान्थे । “म सानै थिएँ, बुवाको आर्मीको ह्याट लगाएर स्कुल जाँदा त्यो लगाउन दिने कि नदिने विवाद भयो,” विपीन पुराना कुरा स्मरण गर्छन्, “त्यसपछि मलाई अबदेखि यस्तो ह्याट लगाएर स्कुल नआउनू ल, यस्तो ह्याट स्कुलमा लगाउन पाइँदैन भन्नुभयो ।”

बुवाले लगाएको देखेर होला, उनलाई कमब्याट मन पर्थ्यो । जाडो महिनामा उनी बुवाका कमब्याट ज्याकेट र स्वीटर लगाउँथे । सायद त्यही बालमनोविज्ञानको असर हुनसक्छ, अहिले पनि उनको रोजाइमा कमब्याट पर्छ । त्यस्तै देखिने लुगा अहिले पनि लगाइरहेका हुन्छन् ।

सिनेमाको क्यारेक्टरका निम्ति बुवाको लुगा लिन विपीन घर पुगे । सिनेमाको क्यारेक्टरका लागि लुगा लिन आएको बुवालाई बताए । विपीनलाई एकसरो लुगा मात्र होइन, गोर्खाले प्रयोग गर्ने सबै सामग्री चाहिएको थियो ।

p6-1712576150.jpg
“मैले बुवासँग उहाँसँग भएको उहाँले प्रयोग गर्ने सबै कुरा मागेँ । उहाँले दिनु पनि भयो,” विपीन सुनाउँछन्, “तर, उहाँले एउटा कुरा दिनु भएन । र, मैले पनि जबरजस्ती गरिनँ ।” 

के हो त्यो ? 

“एकखालको विशेष मेडल हुँदो रहेछ, जुन इन्डियन आर्मीमा निकै सेक्रेट हुँदो रहेछ । त्यो कसैलाई पनि दिनु हुँदैन र दिन्नँ भनेर हामीले पल्टनमा कसम खाएका हुन्छौँ, योचाहिँ पाउँदैनस् भन्नुभयो,” विपीन करिब पाँच वर्षअगाडि फर्किए ।

सिनेमा रिलिज भइसकेको छैन, तर ट्रेलरमा विपीन र उनको कस्ट्युम जति देखिएको छ, त्यो विपीनको बुवाको हो । “मैले लगाएका सबै लुगा बुवाकै हुन्, यतिसम्म कि मेडल पनि । टोपी भने मुसाले काटेकाले त्यसमा रहेको क्रस खुकुरी निकालेर अर्को टोपीमा टाँसेर प्रयोग गर्‍यौैँ,” उनी भन्छन्, “वेडिङ बिस्तरा, ट्यांका, खुकुरी र मग पनि बुवाकै ल्याएको हुँ ।”

लोकबहादुर रिटायर्ड भएको ३३ वर्ष बितिसक्यो । विपीनलाई अझै पनि बुवाको गोर्खा आर्मी नम्बर कण्ठै छ– १३ लाख १४ हजार ६७५, एलबी कार्की । उनका सामानमा यो नम्बर हुन्छ । त्यही बेला याद भएको नम्बर विपीनको मस्तिष्कबाट अझै मेटिएको छैन ।

“मेरो बुवाको इमोसन पनि जोडिएको सिनेमा हो । उहाँले लगाएका लुगा, पाएका तक्मा, ओढ्ने र ओछ्याएका लुगा तथा प्रयोग गरेको ट्यांका पनि सिनेमामा प्रयोग भएका छन्,” उनी भन्छन्, “बुवाका लागि उहाँले प्रयोग गरेका सामग्री र मेरा लागि बच्चा बेलाको इमोसन जोडिएको छ ।”

सिनेमालाई विश्वसनीय र जीवन्त बनाउन चरित्रको नजिक पुग्नैपर्छ । त्यसका निम्ति अध्ययन होस् वा संगतले चरित्रलाई नजिक पुगेर बुझ्नुपर्छ । यसका लागि विपीन बाल्यकालमा फर्किए । आफ्नो बुवालाई सम्झिए । बुवाको आनीबानी र मिजासलाई रि–कल गरे ।

“हरेक सिनेमामा एउटै चरित्र हुँदैन । मैले गर्ने रोलमा मेरो प्रभाव देखिनैपर्छ,” उनी भन्छन्, “विपीनत्व देखिनका लागि पनि मेरो बुवाको गोर्खाज् लबज र आनीबानी चाहिन्थ्यो । त्यसका लागि मैले आफूलाई बुवाको सामीप्यमा रहँदाको बाल्यकालमा पुर्‍याएँ ।” 

सैनिक अनुशासनमा बस्दा कहिलेकाहीँ विपीनलाई आफू नै आर्मी क्याडेट हुँ कि क्या हो भन्ने लाग्थ्यो । सानोसानो विषयमा पनि स्पष्टीकरण दिनुपर्ने र झमेलामा परेको उनलाई आजैजस्तो लाग्छ । “कडा मिजास र अनुशासन र अग्लो ज्यान भएकैले होला, उहाँको आफ्नो पूरै जागिरे जीवन नै इन्डिया–चाइना सीमामा बित्यो,” विपीन भन्छन्, “सायद मेरो बुवा भूपू गोर्खा हुनु हुन्नथ्यो भने पनि मलाई यो क्यारेक्टर गर्न त्यति सहज हुने थिएन होला । अलि बढी मिहिनेत गर्नुपर्थ्यो होला ।”

‘द रेड सुटकेस’को ट्रेलरमा सौगात मल्लसँग विपीन कडा मिजासमा प्रस्तुत भएका छन् । “घरमा बुवा मसँग कडा मिजासमा प्रस्तुत हुनुहुन्थ्यो, सिनेमाको चारित्रमा म सौगातसँग त्यसैगरी प्रस्तुत भएको छु,” उनी भन्छन्, “चरित्रमा म मेरो बुवा भएर बाँच्ने प्रयास गरेको छु । त्यसैले यो मेरा लागि इमोसनल छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ११:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro