site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीमा माओवादी प्रस्ताव– आलोपालो मुख्यमन्त्री, लेनदेनमा आङ्बोको अडान
Tiktok banner adTiktok banner ad

विराटनगर । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै कोसी प्रदेशमा सरकार परिवर्तनको प्रयास थालिएको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहितका दल सम्मिलित नयाँ गठबन्धनसँगै प्रदेशमा पनि सरकार फेरबदल सुरु भइसकेको छ ।

कोसीमा नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री छन् । यो सरकार प्रतिस्थापन गर्न नयाँ गठबन्धन दल औपचारिक छलफलमा अग्रसर भएका छन् । पुरानो गठबन्धनमा आबद्ध माओवादी र एकीकृत समाजवादी अहिले पनि कार्की नेतृत्वको सरकारमा छन् ।

ती दलबाट सरकारमा सामेल मन्त्रीहरू फिर्ता भएपछि कार्की नेतृत्वको सरकार ढाल्ने प्रयास औपचारिक रूपमा सुरु हुने कोसी प्रदेशसभामा एमालेका प्रमुख सचेतक रहेका रेवतीरमण भण्डारीले बताए । “हामी गठबन्धन दलले नयाँ सरकार गठन गर्ने प्रक्रियाको विषयमा छलफल सुरु गरेका छौँ,” उनले भने, “अब चाँडै सरकारलाई हामीले दिएको समर्थन फिर्ता लिन्छौँ, संसद् बैठक आह्वान गर्न निवेदन दर्ता गराउँछौँ ।”

नयाँ गठबन्धनबाट कोसीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ । तर, माओवादी केन्द्रले नयाँ सत्तासमीकरणमा लिनेदिने विषय पहिल्यै तय हुनुपर्ने अडान लिएको छ । कोसी प्रदेशको राजधानी विराटनगरमा बसेको गठबन्धन दलको बैठकमा माओवादीले आफ्नो प्रस्ताव प्रस्तुत गरेको हो । अघिल्लो गठबन्धनमा मुख्यमन्त्री प्रस्तावित एवं कोसी प्रदेशसभामा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले नयाँ सरकार गठन हुँदा लिनेदिने विषय टुंगो लगाएर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

पुरानो गठबन्धनबाट कोसीमा आङ्बो मुख्यमन्त्री प्रस्तवित भए पनि उपधारा ५ बमोजिम सरकार गठन गरिँदा एमालेले केदार कार्कीलाई समर्थन गरेको थियो । पछि कार्कीलाई माओवादी केन्द्रसहितका दलले विश्वासको मत दिएका थिए । एमालेकै कारण त्यति बेला आङ्बो मुख्यमन्त्री हुनबाट वञ्चित भएका थिए ।

नयाँ गठबन्धनबाट पहिले प्रदेश प्रमुखलाई सांसदको हस्ताक्षरसहितको पत्र बुझाएर कार्कीलाई दिएको समर्थन फिर्ता लिने, सँगै सरकार गठनका निम्ति दाबी पेस गर्ने, प्रदेशसभाको विशेष अधिवेशन डाक्न निवेदन दर्ता गराउने र कार्की सरकारमा सामेल मन्त्रीहरूले राजीनामा दिने तयारी गरिएको छ । गठबन्धन दलबीच छलफलपछि सोमबार नै माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै छ ।

गठबन्धनमा भएको छलफलबारे समीक्षा गर्दै अबको कार्यदिशा तय गर्ने विषयमा बैठक केन्द्रित हुने माओवादीका एक सांसदले बताए । “हामी अहिले पनि सरकारमा छौँ, नयाँ गठबन्धन बनेको छ । अब के कसरी अघि बढ्ने भन्ने विषयमा नै छलफल केन्द्रित हुनेछ,” उनले भने, “माओवादी दलको बैठकपछि फेरि गठबन्धनका प्रदेशस्थित शीर्षस्थ नेता सम्मिलित बैठक बस्नेछ ।”

माओवादीले आलोपालो मुख्यमन्त्री, संसदीय समितिका सभापति चयनको विषय र अरू प्रमुख पदहरूको टुंगोबारे सहमति खोजेको ती सांसदले बताए ।

यता, मुख्यमन्त्री कार्कीले उपधारा ५ बमोजिम सरकार गठन भएकाले आफूले राजीनामा नदिने र विश्वासको मत समेत नलिने बताउँदै आएका छन् । कार्कीले ‘जोर जबर्जस्ती भए कोसी प्रदेश मध्यावधि निर्वाचनमा जान सक्ने’ चेतावनी दिँदै आएका छन् । सरकार गठनको अन्तिम धारा समेत प्रयोग भएकाले अब कोसीमा मध्यावधि निर्वाचन हुन सक्ने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro