site stats
बाह्रखरी :: Baahrakhari
कला
क्यूएफएक्समा ‘द रेड सुटकेस’ रिलिज नहुने भएपछि के भन्छन् विपीन कार्की ?

काठमाडौं । नेपाली कथानक चलचित्र ‘द रेड सुटकेस’ क्यूएफएक्स चेनमा रिलिज नहुने भएको छ । रिलिज डेट एक हप्ता पछाडि सार्न आग्रह गरिएको भन्दै निर्माण पक्षले सो सिनेमा क्यूएफएक्स चेनमा नलगाउने घोषणा गरेको छ । विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलको फन्को लगाएर नेपालमा रिलिज हुन लागेको यो चलचित्र देशकै ठूलो मल्टिप्लेक्समा भने नलाग्ने भएको हो ।

अभिनेता विपीन कार्की यसमा कमजोरी कसको भन्नेबारे आफूले विस्तृतमा बुझिनसकेको तर विश्वले ‘रिकगनाइज’ गरेको सिनेमाले स्थान भने पाउनुपर्ने बताउँछन् । “क्यूएफएक्सले अरू चलचित्रले राम्रो व्यापार गरिरहेका छन्, त्यसैले एक शो पनि दिन्नौँ भनेको भए त्यो उसको गल्ती हो । यस्तो हो भने सम्बन्धित पक्ष कारबाहीको भागीदार हुनुपर्छ,” विपीन बाह्रखरीसँग भन्छन्, “तर होइन, आइफल प्रोडक्सनले अरू सिनेमाकै हाराहारीमा मेरो सिनेमाले पनि शो पाउनुपर्छ भनेको हो भने त्यो पनि गल्ती हो । त्यसैले यसमा म यही पक्षकै कमजोरी हो भन्न सक्तिनँ ।”

Argakhachi Cement Island Ad

सिनेमा रिलिज हुनुअगाडि नै यो चल्दैन भनेर क्रिटिक्स बनेर हल सञ्चालकले आफैँ लगाउँदिनँ भनेको भए त्यो गलत हुने उनको धारणा छ । “कुन सिनेमालाई कति शो दिने भन्ने मापदण्ड के हो मलाई थाहा छैन,” उनी भन्छन्, “तर, हलमा लागेपछि नै दर्शक कति आउने वा नआउनेबारे थाहा हुन्छ ।”

भेनिस फिल्म फेस्टिभल र विश्वका अरू महोत्सवमा पनि यो चलचित्र पुगेको विपीन स्मरण गर्छन् । “विश्वले रिकगनाइज गरिसकेको चलचित्रलाई राज्य र हल सञ्चालकले प्राथमिकता दिनुपर्छ भन्ने लाग्छ,” उनी भन्छन्, “भेनिस हरेक चलचित्रकर्मीका लागि एउटा सपना हुन्छ, त्यहाँ पुगेको चलचित्र हो । यसले त झन् आफ्नै बजारमा प्राथमिकता पाउनुपर्ने हो ।”

नेपालबाट ठूलो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुग्ने सिनेमामा प्रायः कुनै न कुनै रूपमा विदेशी चलचित्रकर्मी जोडिएका हुन्छन् । यो सिनेमामा विदेशी जोडिएका छैनन् । “हामी धेरैलाई थाहै छ, इन्टरनेसनल फेस्टिभलमा पुग्ने प्रायः हरेक चलचित्रमा लगानी, सिनेमेटोग्राफर वा अन्य प्राविधिक काममा विदेशी जोडिएका हुन्छन्,” विपीन भन्छन्, “तर, यो सिनेमामा कोही विदेशी जोडिएका छैनन् । हामी नेपाली आफैँले गरेको काम पहिलोपटक भेनिसमा पुगेको छ । यसले प्राथमिकता नै पाउनुपर्ने हो ।”

‘द रेड सुटकेस’मा विपीनसँगै सौगात मल्ल, प्रविण खतिवडा र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । रामकृष्ण पोखरेलले निर्माण गरेको सिनेमामा फिडेल देवकोटाको लेखन तथा निर्देशन छ ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्