site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकीमा पाँचौँपटक मन्त्री बनेर रेकर्ड बनाएका मनाङे
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

पोखरा । सदाबहार कोट, पाइन्ट र चस्मामा देखिने दीपक मनाङे (राजीव गुरुङ) आइतबार ढाकाटोपीमा पनि देखिए । तर, उनले भन्न चाहिँ छुटाएनन्, “मैले त्यतिबेलै पनि भनेको थिएँ, ३० जना पुर्‍याउनुपर्‍यो । एक त म त्यसै हालिदिन्छु ।”

उनले सरकार जोगाउने विषयमा त्यतिबेला मात्र बोल्छन्, जतिबेला उनी मन्त्री बन्ने पक्का हुन्छ ।

आइतबार पनि त्यही प्रकरणमा मनाङेले अघिल्लो सरकारबारे धारणा राखे । उनले अहिले प्रतिपक्षमा पुगेको सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई आलोचना केही गरेनन् । नरम नै भएर फेरि मन्त्री हुने ठाउँ खुला राखेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पाण्डे नेतृत्वको सरकारबारे उनले भने, “कांग्रेसको समस्या के भयो भने राप्रपा चैत २७ गतेसम्म कुरै गर्न नमिल्ने । तर, उनीहरूको वक्तव्य आइरहेको छ, कसैलाई सहयोग नगर्ने भनिरहेका छन् । त्यही भएर उहाँहरू २७ भन्दा नटिक्ने भयो, मैले मात्र हालेर पनि बहुमत नपुग्ने भयो । त्यो भनेको मध्यावधिमा जाने हो । म एकजनाले मात्रै चाहेर नसक्ने भएँ । सबैभन्दा ठुलो त भोट नै हो, सांसद नै नपुगेपछि...। खास त्यही हो कुरा ।”

आइतबार मनाङे गण्डकीमा पाँचौँपटक मन्त्री बनेका छन् । आजै शपथ लिए पनि उनले मन्त्रालयको जिम्मेवारी पाइसकेका छैनन् ।

Global Ime bank

“मन्त्रालय जुनै भए पनि केही फरक पर्दैन, निरन्तर पाएको (भौतिक पूर्वाधार तथा यातायात व्यवस्था) मा गर्ने कि भन्ने छ । यो मन्त्रालयमा बजेट एकदमै धेरै छ । तर, एकदमै बदनाम मन्त्रालय छ । ठेकेदार भनेका बिजनेस म्यान हुन् । बिजनेस म्यानलाई सबैभन्दा धेरै दु:ख दिने मन्त्रालय यही रहेछ,” उनले भने ।

उनले यतिमात्र भनेनन्, आफू चलाख बनेको पनि खुलाए । “अब म चलाख पनि भएको छु, कुनै पार्टीमा म नछिर्ने । मलाई स्वतन्त्र भएर जिताएका हुन् । पार्टीमा जाँदाबित्तिकै के थाहा भोलि केन्द्रमा केही होला, म त सेफ बसेको छु । हामीले बजेट लैजाने हो, जिल्लाको विकास गर्ने हो ।”

चलाखीबारे उनले सभामुखको बारेमा पनि बोल्न छुटाएनन् । उनले भने, “यहाँ दलको संख्या मागेको हो, दलको संख्या माग्दा त ठिकै हो नि ।”

पाँचौँपटक मन्त्री बन्दैगर्दा मनाङे गण्डकीको राजनीतिमा यस्तो मोडमा छन् कि दलहरूले नचाहेर पनि उनलाई सरकार बनाउन लिनैपर्ने बाध्यता छ ।

सुरुमा मन्त्री बनाउँदा पृथ्वीसुब्बा गुरुङले जे गरेका थिए, अहिले खगराज अधिकारीले पनि त्यही गरेका हुन् । कृष्णचन्द्र नेपाली पोखरेलले मनाङेलाई च्याप्दा सुरेन्द्रराज पाण्डेले नचाहेर पनि छुटाएका थिएनन् ।

उनी प्रदेशसभा छिरेको पाँच वर्षमा (शपथ ग्रहण लिएको समयका आधारमा) पाँचौँपटक मन्त्री बन्ने रेकर्ड उनै मनाङेले बनाएका छन् ।

प्रदेशसभामा प्रवेश पाउनका लागि झेल्नुपरेको कानुनी झमेलादेखि त्यो बीचमा उनले गरेका हातपात, भारतीय गाडी प्रयोगदेखि उनको 'असंसदीय बोली'ले मनाङे जहिले चर्चामा रहे । चर्चाले उनी राजनीतिको केन्द्रमा रहिरहे, मन्त्री बनिरहे ।

सुरेन्द्रराज पाण्डेले चैत ५ गते चौथोपटक मन्त्री बनाउँदा मनाङेले भनेका थिए, “अब म ४ वर्ष पोलिटिक्स गर्छु ।”

उनले २० दिन पछाडि नै पोलिटिक्स गर्दै विपक्षी गठबन्धनबाट मन्त्री बनेका छन् ।

०७४ मा स्वतन्त्र निर्वाचित

०७४ को निर्वाचनमा मनाङको प्रदेश (ख) बाट प्रदेशसभामा एक हजार ४१० मत ल्याएर स्वतन्त्र उमेदवारमा उनी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कर्म गुरुङले एक हजार २० मत ल्याएका थिए । त्यतिबेला मनाङेलाई पृष्ठभूमिमा एमालेले सहयोग गरेको थियो ।

०५०/०५१ सालतिर ठमेलमा मनाङका मानिसले होटल तथा रेस्टुरेन्ट खोल्न थालेपछि ठमेल भनेकै मनाङेहरूको हो भन्ने अफवाह फैलाउँदै मनाङेले हप्ता एवं मासिक असुली गर्न थालेका थिए । धम्क्याउँदै पैसा असुल्दै आएका उनको आपराधिक यात्राको बाधक बने केही समय चक्रे मिलन । राप्रपामा खासै उपलब्धि नभएपछि उनी लक्ष्मण चौधरीको संघीय समाजवादी पार्टीमा प्रवेश गरे । ०६८ मा उक्त पार्टीमा प्रवेश गरेका उनी केही समय भूमिगतजस्तै बने ।

ठमेलमा रेस्टुरेन्ट व्यवसायीबाट सलामी (कमिसन) उठाउने मनाङे पटक–पटक पक्राउ पर्दै जेल परेर छुटेका अभियुक्त थिए । अकूत सम्पत्तिमा सम्पत्ति शुद्धीकरण विभागले मनाङेविरुद्ध विशेष अदालतमा मुद्दासमेत चलाएको थियो । तर उनले सफाइ पाए ।

गुन्डागर्दीसँगै ठेक्कापट्टा, होटल, डान्सबार र रेस्टुरेन्ट सञ्चालकसमेत बने । राजनीति गरे, प्रहरी चंगुलबाट बच्न सकिन्छ भन्ने अभिप्रायले विभिन्न दलमा प्रवेश गरे ।

०६० साल पुस ११ गते चक्रे मिलनलाई धारिलो हतियार प्रयोग गरेको अभियोगमा उनी पक्राउ परेका थिए । जेल बसेर छुटेका उनी त्यसपछि ०६५ साल फागुन र ०७० साल फागुनमा पक्राउ परे । सेनाका मेजरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका मनाङेलाई तत्कालीन काठमाडौंका सीडीओले ६ महिना कैद सुनाएपछि पछि अदालतले एक वर्ष कैद सजाय सुनाएको थिए ।

उनी महानगरीय प्रहरी वृत्त लैनचौर, हनुमानढोका परिसर, टेकु परिसरसँगै काठमाडौंका धेरै प्रहरी कार्यालयका थुनामा बसिसकेका छन् । ०७३ पुस २८ गते राप्रपा प्रवेश गरेका उनी ०७४ असोजमा एकाएक एमालेमा पुगे । तर, एमालेबाट टिकट नपाएपछि उनी स्वतन्त्रबाट सांसद बनेका थिए ।

सांसद बने पनि उनले तत्काल शपथ खान भने पाएनन् । पुरानो मुद्दामा उनलाई पुनरावेदन अदालत पाटनले पाँच वर्ष जेल सजाय सुनाएको थियो । तर, लामो समय गोप्य राखिएको फैसला पाँच वर्षपछि २०७४ साल माघ २ गते सार्वजनिक भयो । त्यसपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

अन्ततः २०७५ वैशाख ६ गते उनी पक्राउ परे, जतिबेला उनी चुनाव जितेर गण्डकी प्रदेशसभाको सांसद बनिसकेका थिए । उनलाई स्वयम्भूको तीनधारा क्षेत्रबाट पक्राउ गरिएको थियो । ०७५ साल पुस ५ गते सर्वोच्चको आदेशमा उनी रिहा भए । 

सर्वोच्चको आदेशमा पुसको पहिलो साता थुनामुक्त भएपछि प्रदेशसभा सचिवालयमा प्रतिनिधिमार्फत पुस ११ गते मनाङेले शपथ ग्रहणका लागि निवेदन दिएका थिए । १५ माघ ०७५ मा शपथ लिएपछि प्रदेशसभा सदस्य बनेका उनी गण्डकी सरकारको हेरफेरमा पनि तानातानमा परे ।

त्यही प्रकरणमा उनी पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा २०७८ वैशाख १६ गते पहिलोपटक मन्त्री बने ।

तर, नेकपा विभाजनको फुटले एमाले–माओवादी ब्युँतिए । नेकपा (एकीकृत समाजवादी) जन्मियो ।
केन्द्रको बाछिटा प्रदेशमा पनि आइपर्‍यो । तत्कालीन गुरुङ सरकार अल्पमतमा पर्‍यो । सरकार जोगिने आशमा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई खेलकुदमन्त्री बनाए । पृथ्वीसुब्बा ठूलो दलका हिसाबले दोस्रोपटक मुख्यमन्त्री बने र मनाङे पनि दोस्रोपटक खेलकुदमन्त्री ।

त्यतिबेलाको निर्णायक राष्ट्रिय जनमोर्चा टुंगोमा पुगेको थिएन । कतापट्टि लाग्ने टुंगो नभएका कारण मनाङे गुरुङकै सरकारमा अल्पमतको मन्त्री बनिरहे ।

तर, जनमोर्चाले ओली सरकारको विपक्षमा बस्ने निर्णय गर्‍यो । कांग्रेससहितको गठबन्धनको पक्षमा उभियो । त्यसपछि अल्पमतमा परेको सरकारसँग मनाङेपनि टाढिए ।

उनलाई त्यसपछि बनेको कांग्रेस–माओवादी गठबन्धनले सहयोग माग्यो । मनाङेले त्यही भने, ‘तिमी ३० लिएर आउ, ३१ म पुर्‍याइदिन्छु ।’

माओवादीले समर्थन फिर्ता लिँदा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार संकटमा पर्दा उनले मन्त्री बनाउनुपर्ने सर्त राखे ।

यस गठबन्धनलाई मनाङे नल्याउनुको धरै थिएन । अन्ततः २०७८ जेठ १९ गते कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वको सरकार बन्यो र तेस्रोपटक खेलकुदमन्त्री भए । प्रदेशसभाको पहिलो कार्यकालमा तीनपटक मन्त्री बन्ने रेकर्ड उनको नाममा रह्यो ।

फेरि निर्विरोध

अघिल्लोपटक एमालेको समर्थनमा चुनाव जितेका मनाङे मंसिरको चुनावमा निर्विरोध निर्वाचित भएर प्रदेशसभा छिरे । चुनाव जितेलगत्तै पाँच दलीय गठबन्धनको सरकार बन्ने र फेरि मन्त्री बन्ने योजनाका साथ मनाङे १९ मंसिरमा एकीकृत समाजवादी छिरे ।

तर, केन्द्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नै प्रधानमन्त्री बन्न एमालेलगायतका दलसँग समीकरण गरेपछि गण्डकीममा खगराज अधिकारी २०७९ पुस २५ गते मुख्यमन्त्री बने ।

खगराज सरकारमै मन्त्री हुने योजनासहित केन्द्रमा जे गठबन्धन भए पनि गण्डकीमा ‘खगराज दाइ’लाई नै समर्थन गर्ने बताए र नियुक्तिमा समर्थन पनि गरे । तर, खगराजले मन्त्री नबनाउने देखेपछि विश्वासको मत भने दिनै गएनन् ।

तर, १०५ दिनमा नै खगराज अधिकारीको सरकार ढल्यो । पुरानो कांग्रेससहितको गठबन्धन ब्युँतियो । मनाङे गण्डकीमा चौथोपटक मन्त्री बन्ने सम्भावना खोज्न थाले ।

उनी निर्विरोध निर्वाचित भए पनि त्यतिबेलाको गठबन्धनमा आबद्ध दल एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए । स्वार्थ चाहिँ मन्त्री बन्नु नै थियो । एकीकृत समाजवादीले केन्द्रको गठबन्धनमा अर्थ राख्ने भएकाले गण्डकीमा मनाङेलाई मन्त्री बनाउन दबाद पनि दिए ।

कांग्रेस–माओवादीको सहज बहुमत पुगेको हुँदा २०८० वैशाख १४ गते मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले विवादित छविका मनाङेलाई इग्नोर गरिदिए । स्वयं माधवकुमार नेपालले नै भन्दापछि पाण्डेले मानेनन् ।

तर, मन्त्री बन्नका लागि मनाङेसँग एक भोट थियो । केन्द्रमा फागुन २१ गतेपछि राजनीतिक उपक्रम फेरिएपछि त्यतिबेला बेवास्ता गरेका सुरेन्द्रराज पाण्डेले मनाङेलाई आफ्नो पक्षमा ल्याउन वार्ता गरे, मन्त्री बनाउन तयार भए ।

अन्ततः चैत ५ गते भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीको रूपमा गण्डकी सरकारमा चौथोपटक मन्त्री बने । पाण्डेको नेतृत्वमा उनी जम्मा २० दिन मात्र मन्त्री बने । सुरेन्द्रराज पाण्डेले अल्पमतमा पर्ने देखेपछि उनले स्वाभाविकरूपमा यसअगाडि झैँ कित्ता बदले ।

त्यही बदलिएको कित्ताका कारण आइतबार उनी पाँचौँपटक मन्त्री बनेका छन् । गण्डकीमा पाँचौँपटक मन्त्री बन्ने रेकर्ड पनि उनकै नाममा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  २१:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय