site stats
बाह्रखरी :: Baahrakhari
देश
रुसी सेनामा भर्ती भएका ११ नेपालीले दिए राहदानीका लागि आवेदन
फाइल तस्बिर ।

काठमाडौं । रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानले शुक्रबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । रुसी सेनामा आबद्ध नेपालीहरूको जीवनरक्षा तथा उद्धार गरी सकुशल नेपाल फिर्ताका लागि पहल गरिदिन अभियानले गृहमन्त्रीको ध्यानाकर्षण गरेको हो ।

गृहमन्त्रीलाई बुझाइएको ध्यानकर्षणपत्रमा हालसम्म रुसी सेनामा भर्ती भएका ६२० नेपालीको विवरण संकलन गरिएको जनाइएको छ । “जसमध्ये ३९ जना मृतक, १८ जना मृत्यु भयो भनिएका तर, पुष्टि हुन बाँकी, पाँचजना युक्रेनको कब्जामा, ११७ जना घाइते, २७२ जना सम्पर्कविहिन, ९ जना करार सम्झौता रद्द गरेका व्यक्तिहरू, ११ जना रुसी राहदानीका लागि आवेदन दिएका र १९ जना रुसी राहदानी नलिने कागजातमा हस्ताक्षर गरेका र बाँकी व्यक्तिहरू हाम्रो सम्पर्कमा हुनुहुन्छ,” ध्यानकर्षणपत्रमा भनिएको छ । 

अभियानसँग ह्वाट्सएप ग्रुपमा जोडिएका ४२० जना रुसी सेनामा आबद्ध नेपालीले प्रत्येक दिन युद्ध मैदानबाट त्यहाँको विवरण, वस्तुस्थिति, श्रव्यदृष्य सामग्रीहरू पठाउने गरेको जनाइएको छ । “ती सामग्रीहरू देख्दा त्यहाँको अवस्था भयावह रहेको सहजै अनुमान लगाउन सकिन्छ । यस पृष्ठभूमिमा रुसबाट नेपाली दाजुभाइहरूले निरन्तर हामीलाई सम्पर्क गरी जीवनरक्षा गरिदिन अनुरोध गरिरहनुभएको छ,” गृहमन्त्रीलाई बुझाइएको ध्यानाकर्षणपत्रमा उल्लेख छ । 

रुसी सेनामा कार्यरत रही फर्किएका नेपाली युवाहरूले १४ हजार ७०० नेपाली रहेको दाबी गरिरहँदा त्यहाँको अवस्था निकै भयावह रहेको अनुमान गर्न सकिने अभियानले जनाएको छ । ध्यानाकर्षणपत्रमा भनिएको छ, “भाडाका सिपाहीको रूपमा रुसी सेनामा नेपाली नागरिकको भर्ती र त्यसले सिर्जना गरेको जनधनको क्षतिको विषय नेपाल सरकार, राजनीतिक दल, गैरसरकारी संस्था र सम्पूर्ण नेपालीको चिन्ता र सरोकारको विषय बन्नै पर्दछ ।”

नेपालीहरू रूसी राष्ट्रपतिले कानुन नै संशोधन गरेर एक वर्ष काम गरेका सैनिकलाई रूसी नागरिक भएर परिवारकासाथ रूसमै बस्ने सुविधा दिइने भनी गरेका घोषणा र छोटो समय काम गर्दा रुसी राहदानी प्राप्त गर्ने अवसरको लोभमा विचौलियाको प्रलोभनमा परी रुसी सेनामा भर्ना हुन पुगेको जनाइएको छ ।

Global Ime bank

महिनामा चार लाखभन्दा बढी कमाई हुने बिचौलियाहरूको आश्वासन, सेनामा भर्ना हुन तोकिएको उमेरको सीमा २५ वर्षबाट बढाएर ४५ वर्ष पुर्‍याएको स्थिति, दलाललाई प्रतिव्यक्ति ६ देखि १८ लाख रुपैयाँसम्म कमिसनको व्यवस्था र रुसले सेनामा सर्वसाधारण मानिसलाई आकर्षित गर्न विभिन्न प्रचारमूलक सामग्री समेत उत्पादन गरी प्रचार गरेको लगायतका घटनासँग आकर्षित भएर नेपाली युवा रुसी सेनामा भर्ना भएको दाबी अभियानको छ ।  

“मानव तस्करको प्रलोभनमा झुठ्ठा विवरण घोषणा गरी रुस गएका युवा, खाडी मुलुक तथा मलेसियामा रोजगारीमा रही थप तलबको प्रलोभनमा पारिएका, विभिन्न पेसा व्यवसाय तथा अध्ययनको सिलसिलामा रुसमै रहेका नेपाली युवा तथा नेपाली सुरक्षा क्षेत्रमा कार्यरत युवा समेत गरी चार प्रकारका युवा विभिन्न माध्यमबाट रुसी सेनामा भर्ना भएको देखिन्छ,” ध्यानाकर्षणपत्रमा उल्लेख छ ।  

पीडित परिवार तथा रुसी सेनाबाट फर्किएर आएका नेपाली युवाका अनुसार विचौलियाहरू अहिले पनि नेपालमै सक्रिय छन् । उनीहरूले पीडित परिवारलाई उद्दार गरिदिन्छु भन्दै रकम मोलमोलाई गरिरहेको जनाइएको छ । दोषीलाई कारबाही गर्न अभियानले गृहमन्त्रीसँग माग गरेको छ । 

रुसी सेनामा भर्ना हुन पुगेका नेपालीहरूलाई सुरक्षा कवचको रूपमा प्रयोग गर्ने, सेना छोड्न चाहने नेपालीलाई पक्रिएर पुनः युद्धभूमिमा फर्काउने, घाइतेको राम्रो उपचार नहुने, आदेश मान्न अटेर गरेको अभियोगमा नेपालीहरूमाथि कुटपिट लगायतका दुव्र्यवहार गरिनेजस्ता घटनाले परिवारजनलाई थप चिन्तित बनाएको पनि अभियानले जनाएको छ । “यो हामी सबैका लागि चिन्ताको विषय हो । रुस र युक्रनको युद्धमा कुनै साइनो सम्बन्ध नभएका नेपाली युवाहरूको ज्यान गुम्ने परिस्थिति अनि मृतकको शवसम्म पाउन नसक्ने अवस्थाका कारण परिवारका सदस्यहरू विक्षिप्त छन्,” अभियानले बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ ।

महिनौँदेखि सम्पर्क नभएका परिवारका सदस्यको अवस्था अज्ञात हुँदा एकातिर परिवारजन प्रताडित छन् भने अर्कोतिर, परिवारको सम्पर्कमा भएकाहरू पनि सकुशल घर फर्किने वातावरण निर्माणको पर्खाइमा रहेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu