site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यसरी पक्राउ परे १६ वर्षदेखि फरार रहेका पूर्वलडाकु कालीबहादुर, यस्तो छ उनीमाथिको आरोप

काठमाडौं । माओवादी पूर्वलडाकु कालीबहादुर खाम ‘विविध’ घटनाको १६ वर्षपछि पक्राउ परे । काठमाडौं प्रहरी परिसरको विशेष टोलीले पूर्वी रुकुमका खामलाई ठमेलबाट मंगलबार पक्राउ गरेको हो । उनलाई आजै जिल्ला प्रहरी कार्यालय चितवन लैजाने तयारी भइरहेको परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए ।

वर्षौंसम्म प्रहरीलाई छक्काउँदै आएका खाम अन्ततः प्रहरीको फन्दामा परिछाडे । काठमाडौंको टोखामा बस्दै आएका खामबारे पछिल्लो समय प्रहरीले सूचना संकलन गरिरहेको थियो । उनी दिउँसोको समयमा भने ठमेल आसपासमा जाने गर्थे । त्यही सूचनाको प्रहरीले पछ्याइरहेको थियो । ठमेलमा आउने भरपर्दो सूचना पाएको काठमाडौं प्रहरीको टोली मंगलबार बिहानदेखि नै खाम आउने गरेको ठमेलस्थित सञ्चयकोष भवनको एक चिया पसलमा गएर बसेका थिए ।

प्रहरीको टोली पुगेको दुई घण्टासम्म पनि खाम चिया पसलमा पुगेनन् । फर्किने तयारी गरेकै बेलो खाम जस्तै देखिने मान्छे चिया पसल भित्र छिरे । प्रहरीको टोली खामको पुरानो फोटो लिएर बसेको थियो । उनीहरूले खामनजिकै बसेको टेबलमै पुगेर फोटो र उनीबारे भेरिफाइ गरे । उनको पर्खाइले पट्यार लागेका प्रहरी जब खाम नै हो भन्ने अवस्थामा पुगे त्यसपछि भने हौसिए । प्रहरी आफ्नो पर्खाइमा बसेकोबारे खामले भने कुनै भेउ पाउन सकेनन् । चिया पिउँदै गर्दा प्रहरीको टोली समेत उनी बसेको टेबलमै पुगेर बसे ।

सादा पोसाकमा खटिएका उनीहरूले आफूहरू प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोली भएको भन्दै कार्यालय जान आग्रह गरे । तर, उनी सामान्य अवस्थामा देखिए ।

जवाफमा खामले भनेको कुरा उद्धृत गर्दै पक्राउ गर्न पुगेका प्रहरी अधिकारीले भने, “मैले पनि पुरानो केस सल्टाउन चाहेको छु । त्यो केसले मलाई पनि जहिले सतायो । त्यो बेलाको कमान्डरको हैसियतले मैले जिम्मा लिएको मात्रै हो । म प्रत्यक्ष संलग्न छैन ।” काठमाडौं प्रहरीका एसएसपी भूपेन्द्र खत्रीले पनि लामो समयको सूचना भेरिफाई गर्दा खाम पक्राउ परेको बताए ।

यस्तो छ घटनाको पृष्ठभूमि
माओवादी शान्ति प्रक्रियामा आएपछि चितवनको शक्तिखोरमा राखिएको थियो– तेस्रो डिभिजन कार्यालय । उक्त डिभिजनको जनसम्पर्क कार्यालय भनेर व्यवसायी रामहरि श्रेष्ठको घर कोटेश्वरमा राखेका थिए । श्रेष्ठकै घरबाट २०६४ चैत १४ गते जनमुक्ति सेनाले संकलन गरेर राखेको १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरी भयो ।

त्यही घटनाको अनुसन्धान गर्ने भन्दै अर्का माओवादी कमान्डर गोविन्दबहादुर बटालासहितको टोलीले श्रेष्ठ र कार्यालयको सुरक्षामा खटिएका माओवादी लडाकु केशव अधिकारी, गंगाराम थापा र घरधनी श्रेष्ठलाई अपहरणकै शैलीमा चितवनको शक्तिखोर पुर्‍याए ।
श्रेष्ठसहित तीनजनामाथि नै डिभिजन कार्यालयभित्र यातनासहित सोधपुछ थाले माओवादी लडाकुहरूले । त्यही बेला श्रेष्ठले आफूसँगै नियन्त्रणमा रहेका माओवादी लडाकुहरूले नै चोरी गरेको बताए ।

तर, अधिकारी र थापाले आफ्नो ‘नाम पोलेको’ भन्दै श्रेष्ठलाई ०६५ वैशाख ३१ गते बिहान कुटपिट गरेर घाइते बनाएका थिए । उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो तर, नारायणी नदीमा फालेको विवरण शक्तिखोर डिभिजनले ०६५ जेठ ३ गते चितवन प्रहरीमा नै निवेदन पठाएको थियो ।

चोरीको रकम र पेस्तोल भने पछि श्रेष्ठको घरको भर्‍याङमुनी भेटिएको थियो । तर, माओवादी पटक–पटक सत्तामा हुँदा श्रेष्ठ हत्या प्रकरणको अनुसन्धान हुन सकेको थिएन ।यस बीचमा बटालासहित अधिकारी र थापा पक्राउ परेर पनि छुटिसकेका छन् । उनीहरूले सफाई पाएर छुटेका हुन् । तर, खाममाथि भने हत्याको १६ वर्षपछि अनुसन्धान सुरु हुने भएको हो ।

लुटपाटमा पनि संलग्न
श्रेष्ठको हत्यादेखि नै खाम प्रहरीको फरार सूचीमा थिए । तर, शक्तिको आडमा प्रहरीले उनलाई पक्रिन सकेन । खामले भने आपराधिक गतिविधि बढाउँदै गए । फरार खामलाई माओवादीले एक समय राष्ट्रिय सुरक्षा विभागको जिम्मेवारी नै दिएको थियो ।

तर, प्रहरी अधिकारीका अनुुसार २०६७ असारमा चिनियाँ व्यापारी लुटपाटमा समेत खामको संलग्नता देखिएको थियो । खामसहितको समूहले गोगंबुस्थित नवमित्र गेष्ट हाउसमा यार्सागुम्बा किन्न आएका चिनियाँलाई लुटेका थिए । उक्त घटनामा काठमाडौं प्रहरीले दर्जन आरोपीलाई पक्राउ गरे पनि खाम भने पक्राउ पर्नबाट जोगिएका थिए ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  २०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro