site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रोमाञ्चक खेलमा आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल तीन रनले विजयी 

काठमाडौं । नाटकीय अन्तिम ओभरमा खेल आफ्नो पक्षमा पार्दै नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्धको अन्तिम ट्वान्टी–२० खेलमा तीन रनको साँधुरो जित निकालेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याउने क्रममा वुल्भ्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१० रनमात्र बनाउन सक्यो । नेपालको यो जितसँगै तीन खेलको ट्वान्टी–२० शृंखला आयरल्यान्ड वुल्भ्सले २–१ ले आफ्नो पक्षमा पारेको छ ।

अन्तिम ओभरमा वुल्भ्सलाई जितका लागि २० रन आवश्यक थियो । नेपालबाट बलिङमा आएका राशिद खानलाई वुल्भ्सका फियोन ह्यान्डले छक्का प्रहार गरे । दोस्रो बलमा ह्यान्डले दुई रन लिए । तेस्रो बलमा पनि ह्यान्डले दुई रन नै लिए । चौथो बलमा ह्यान्डले चौका प्रहार गरेपछि वुल्भ्सलाई जितका निम्ति दुई बलमा ६ रनमात्रै आवश्यक बनेको थियो । 

Dabur Nepal
NIC Asia

पाँचौँ बलमा ह्यान्ड दुई रनका लागि दौडिए पनि आरिफको ‘थ्रो’ मा विकेटकिपर विनोद भण्डारीबाट रनआउट भए । जितका लागि अन्तिम बलमा पाँच रन आवश्यक हुँदा क्रिजमा नयाँ आएका लियम म्याकार्थीले एक रनमात्र लिएपछि नेपाल तीन रनले विजयी भएको हो । अन्तिम बल ‘फुट टस’ भएकाले वुल्भ्सका खेलाडीले ‘नो बल’को माग गरे पनि अम्पायर अधिप प्रधान र बासु कर्णले उक्त मागलाई खारेज गरिदिएका थिए । 

आयरल्यान्डका ग्यारेथ डेलानीले ६८ रन बनाए पनि टिमको हार टार्न सकेनन् । ५२–४ को नाजुक अवस्थाबाट डेलानीले मोर्गन टोपिङसँग १२९ रनको शतकीय साझेदारी गर्दै वुल्भ्सको इनिङ सम्हालेका थिए । टोपिङले ३७ बलमा चार चौका र चार छक्कासहित ६० रन जोडे । यसबाहेक, ओपनर रस अडायरले ३१ रन बनाउँदा फियोन ह्यान्डले २२ रन थपे । 

नेपालका विपीन खत्रीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका विपीनले एक मेडन राख्दै २३ रन खर्चिए । कमलसिंह ऐरी, नारायण जोशी र राशिदले समान एक विकेट हात पारे । त्यसअघि आरिफ सेखको आक्रामक ब्याटिङमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१३ रनको योगफल खडा गरेको थियो । नेपालबाट आक्रामक रूपमा प्रस्तुत भएका आरिफले अविजित ९३ रन बनाए । उनले ४८ बलमा सात चौका र ६ छक्का प्रहार गरे । 

आरिफले ३३–३ को स्थितिबाट बसिर अहमेदसँग चौथो विकेटका लागि ४७ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासे । बसिरले स्कोरबोर्डमा १९ रन थपे । नवौँ नम्बरमा ब्याटिङमा लागि आएका कमलसिंह ऐरीले आरिफसँग अन्तिममा आठौँ विकेटका लागि ४६ रनको साझेदारी गरेपछि नेपालले २०० रनको आँकडा पार गरेको हो । 

आरिफसँगै अविजित रहेका कमलले सात बलमा दुई चौका र एक छक्कासहित १९ रन जोडे । यसबाहेक, राशिदले २४, पवन सर्राफले १३, र कप्तान विनोद भण्डारीले ११ रन बनाए । 

आयरल्यान्डका फियोन ह्यान्डले दुई विकेट लिए । गाभिन होइ, म्याथ्यु फोस्टर, ग्यारेथ डेलानी र लियन म्याकार्थीले समान एक विकेट लिए । 

यसअघिका दुई खेलमा घरेलु टिमविरुद्ध जित निकालेको वुल्भ्सले शृंखलाको उपाधि अन्तिम खेलअगावै जितिसकेको थियो । यसअघि वुल्भ्सले नेपाल ‘ए’लाई पहिलो खेलमा २१ र दोस्रो खेलमा ४० रनले हराएको थियो । अब यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् । एकदिवसीय शृंखला बुधबारदेखि सुरु हुनेछ । एकदिवसीय शृंखलाको दोस्रो खेल शुक्रबार र तेस्रो आइतबार हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro