काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको अन्तिम ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ले बसिर अहमेदलाई चौथो विकेटको रूपमा गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले १०.२ ओभरमा अहमेदलाई गुमाएको हो । उनले नेपाली टिमको खातामा १९ रन थपे । जारी खेलको ११ ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर ८६ रन बनाएको छ ।
यसअघिका दुई खेलमा घरेलु टिमलाई हराउँदै वुल्भ्सले शृंखलाको उपाधि जितिसकेको छ । आजको खेलमा पनि जित निकाले वुल्भ्सले नेपाल ‘ए’विरुद्धको ट्वान्टी–२० शृंखलामा ‘क्लिन स्वीप’ गर्नेछ । विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ भने जितसहित शृंखलाको सुखद अन्त्य गर्ने लक्ष्यमा छ ।
ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् । एकदिवसीय शृंखला आउँदो बुधबारदेखि सुरु हुनेछ । एकदिवसीय शृंखलाको दोस्रो खेल शुक्रबार र तेस्रो म्याच आइतबार हुनेछ ।