पोखरा । नेकपा (एमाले)का नेता खगराज अधिकारीले दुई वर्षअघि पुसमा भएको कास्की जिल्ला अधिवेशनमा उठाएका अध्यक्ष र उपाध्यक्ष दुवै पराजित भए । गत असोज १५ र १६ मा भएको एमाले गण्डकी प्रदेश अधिवेशनमा पनि उनको समूहले नराम्रोसँग माथ खायो ।
त्यसबाहेक स्थानीय तहको निर्वाचनमा पोखरा महानगरमा आफू निकटका उमेदवारलाई अर्को समूहको नामबाट हराउन खोजिएको भन्ने खालको अडियो सार्वजनिक भएको थियो ।
गृह जिल्लामा पकड गुमेको र प्रदेशमा त उठ्नै नसक्ने गरी अर्को समूहको दबदबा बनिरहेको अवस्थामा बुधबार कास्की अधिवेशनबाट खगराज अधिकारी समूहले लगभग 'क्लिन स्विप' गरेको छ ।
पाँचदिनको अन्त्यपछि बुधबार कास्की एमाले ११औँ अधिवेशनको मत परिणाम सार्वजनिक हुनासाथ अधिकारी निकट कार्यकर्ताले भने, ‘सावाँ ब्याज चुक्ता ।’
अधिवेशनबाट बैनबहादुर क्षेत्री अध्यक्ष बने । तर, यसलाई अधिकारीले आफ्नो जित भन्न रत्तिभर हिचकिचाउने छैनन् ।
संसदीय राजनीतिमा कास्की १ (क) बाट जित हासिल गरे पनि गृहजिल्लाकै राजनीतिमा पछिल्ला तीन वर्षयता उनको पकड थिएन ।
०७४ को निर्वाचनमा अधिकारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । पृथ्वीसुब्बा गुरुङ प्रदेशसभा सदस्य बनेर पोखरा आए ।
हाल उपमहासचिव रहेका गुरुङ तत्कालीन नेकपाको तर्फबाट संस्थापक मुख्यमन्त्री बने । मुख्यमन्त्री बनिसकेपछि प्रदेश राजधानी पोखरा बस्ने नै भए । अर्कातर्फ प्रतिनिधिसभा सदस्य अधिकारीको बसाइ काठमाडौंमै बढी भयो ।
०७४ को त्यही चुनाव हो, जहाँ अधिकारी काठमाडौंमा व्यस्त हुँदा पोखरामा गुरुङले सरकार चलाइरहेका थिए । यही राजनीतिक शक्तिबाट मुख्यमन्त्री गुरुङले गण्डकीका अन्य जिल्लामा पनि आफ्नो प्रभाव विस्तार गर्न थाले । कास्की त झनै महत्त्वपूर्ण हुने नै भयो ।
यही सन्दर्भमा ०७८ मा एमालेको १०औँ जिल्ला अधिवेशन भयो । प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका गुरुङले यहाँ सक्रियता देखाए । त्यसबाट अधिकारी झस्किए । यी दुईबीच सतहमा देखिएको राजनीतिक टकराबमध्येको एक यही जिल्ला अधिवेशन पनि थियो ।
प्रतिनिधिसभा सदस्य भएका कारण काठमाडौंमा नै व्यस्त भइरहेका अधिकारीलाई आफ्नै गृह जिल्लामा प्रतिष्पर्धाबाट अधिवेशन टुंग्याउनुपर्ने स्थिति आयो ।
मुख्यमन्त्री भएयता लगातार सम्पर्क बढाइरहेका गुरुङ पनि पछि हटेनन् । उनले एउटा उमेदवारको नाममा सर्वसम्मत गराउन खोजे, अधिकारीले मानेनन् । अधिकारीले भनेको उमेदवार गुरुङलाई मन परेन ।
त्यतिबेला एमालेले निर्वाचन नगरी सर्वसम्मत तरिकाले अधिवेशन सम्पन्न गर्न भनेको थियो । तर, दुई नेताबिचको टकराब अन्तत: २०७८ पुसमा भएको निर्वाचनमा पोखियो ।
त्यतिबेला गुरुङले तत्कालीन प्रदेशसभा सदस्य तथा एमाले कास्कीका कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङलाई च्यापे । अधिकारीले चाहिँ दामोदर बैरागीलाई रोजे ।
चुनाव भयो । गृह जिल्लामा अधिकारीले आफ्ना उमेदवारलाई जिताउन सकेनन् । गुरुङपक्षीय उमेदवारमध्ये अध्यक्ष र उपाध्यक्षले चुनाव जिते । अधिकारी समूहले सचिव र उपसचिवमा चित्त बुझाउनुपर्यो ।
०७९ मंसिरमा प्रदेश तथा प्रतिनिधिसभाको अर्को निर्वाचन भयो । यो निर्वाचनबाट गुरुङ प्रतिनिधिसभा सदस्य छन्, अधिकारी चाहिँ प्रदेशसभा सदस्य ।
गएको असोज १५ र १६ गते एमालेको गण्डकी प्रदेश अधिवेशन भयो । जिल्लाको हार प्रदेशबाट लिने भनेर अधिकारी सक्रिय भएर लागे । प्रदेश अधिवेशनमा थप केन्द्रीय नेताहरूको समेत नजर पर्यो । अधिकारी समूहलाई महासचिव शंकर पोखरेलले साथ दिए । गुरुङ समूहलाई चाहिँ उपाध्यक्ष विष्णु पौडेलले । एमालेको उर्वरभूमि मानिने गण्डकीको अधिवेशनमा सबैको चासो थियो ।
तर, मतपरिणाम सार्वजनिक हुँदा यहाँ पनि अधिकारीले जित्न सकेनन् । अर्थात्, उनको समूहले नराम्रोसँग हार खान पुग्यो ।
प्रदेश अध्यक्षमा उपाध्यक्ष पौडेल र उपमहासचिव गुरुङ समूहका नवराज शर्मा दोहोरिए । पोखरेल र अधिकारी पक्षका मायानाथ अधिकारीको प्यानलले नराम्रो हार बेहोरेको छ ।
पदाधिकारीदेखि अधिकांश सदस्यमा गुरुङ समूह नै हाबी भयो । लगातार आफ्नो समूहका उमेदवारले हार बेहोर्दा अधिकारी समूह कमजोर बन्दै गएको आँकलन भयो भने गुरुङले शक्ति देखाएको चर्चासमेत भयो ।
अधिकारी र गुरुङबीच यो अधिवेशनले झनै दुरी बढाउने काम गर्यो । गुरुङ समूहले लगातार जित्दैगर्दा कास्कीबाट नै अधिकारी समूहका रहेका सदस्यहरू गुरुङसँग नजिकिन पुगे ।
तर, प्रदेश अधिवेशनमा यसअगाडि गुरुङ पक्षधर भनिएका केही नेताहरू अवसर नपाएको भन्दै अधिकारीसँग नजिकिन पुगेका थिए ।
सात महिना अगाडिको प्रदेश अधिवेशनको हारको पीडा ताजै थियो, एमाले कास्कीको ११औँ जिल्ला अधिवेशन चैतको १० र ११ गतेलाई डाकियो । अघिल्लो अधिवेशनमा उनै गुरुङ पक्षधर मनबहादुर गुरुङले अध्यक्ष जितेका थिए । ११औँ अधिवेशन सफल बनाउनुपर्ने जिम्मेवारी पनि थियो ।
अधिकारी समूहले यसलाई चाहिँ प्रतिष्ठाकै लडाइँ बनायो । दुई वर्ष अगाडि गृह जिल्लामा गुमेको पकड फिर्ता ल्याउनेदेखि प्रदेशमा भोगेको नमिठो हारको बदला लिएरै छाड्ने तयारीमा अधिकारी समूह लाग्यो । एमाले संसदीय दलको नेता तथा प्रदेशसभा सदस्य पनि भएका कारण अधिकारी जिल्लातिरै व्यस्त भए । जिल्लाभन्दा पनि गुमेको साख फिर्ता ल्याउने कसरतमा लागे ।
यस समूहले सबैभन्दा पहिले आफ्ना तर्फका अध्यक्ष र सचिवका उम्मेदवार निश्चित गर्यो ।
अध्यक्षमा बैनबहादुर क्षेत्री र सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा) अधिकारी पक्षका कार्यकर्ताहरूले महिनौँदेखि प्रचार गर्दै आइरहेका थिए ।
यसअगाडिको जिल्ला कमिटीमा सचिव रहेका बैनबहादुर र उपसचिव रहेका दर्शन लामालाई नै आउँदो अधिवेशनमा अध्यक्ष र सचिवमा यस समूहले अगाडि सार्यो । चिनिएका र पार्टी राजनीतिमा निरन्तर लागेका दुवै उमेदवारलाई अध्यक्ष र सचिवमा अगाडि बढाउँदा यो समूहले सकारात्मक प्रतिक्रिया पायो ।
महिनौँ अगाडि नै अध्यक्ष र सचिव तय गर्दा यो समूहले आफ्ना उमेदवारलाई प्रतिनिधिमा चिनाउन रणनीतिक रूपमा काम गर्यो । तर, निर्वाचनमा सबैभन्दा ठुलो हात छनोट भएर आएका प्रतिनिधिको नै हुन्छ ।
अधिकारी समूहले अघिल्ला अधिवेशनबाट सिकेर यसपटक नगरेको गल्ती भनेको नै प्रतिनिधि छनोट हो ।
“प्रदेशको चुनावमा हाम्रो क्यालुकेलसनमा प्राविधिक कमजोरी देखिए, हामीले त्यसबाट पाठ सिकेका छौँ । निकै सुक्ष्म तरिकाले प्रतिनिधिहरू आएका छन् । हाम्रो पक्षमा खुलेरै लाग्ने प्रतिनिधि ७० प्रतिशत छन् । चुनाव जितिन्छ,” अधिवेशनकै सन्दर्भमा अधिकारी पक्षका एक सदस्यले भनेका थिए ।
आफ्नो समूहमा खुलेरै लाग्ने कट्टर समर्थकलाई सकेसम्म धेरै प्रतिनिधि बनाउने रणनीति यो समूहले अख्तियार गर्यो ।
कुल ९२६ प्रतिनिधि आउने निश्चित हुँदा अधिकारी समूहले झन्डै २०० मतान्तरले जितिने आँकडा निकाल्यो ।
निकै गोप्यरूपमा छनोट भएका प्रतिनिधिको व्यवस्थापन पनि यस समूहको अर्को रणनीति थियो । केन्द्रीय सदस्य कृष्णबहादुर थापादेखि अधिकारी समूहका नेताहरूले सचिवालय नै बनाएर खटिए । आफ्ना भनिएका हरेक प्रतिनिधिहरूसँग कुनै न कुनै माध्यमबाट सम्पर्कमा रही नै रहे । प्रतिनिधिहरूलाई अर्को समूहसम्म भेट्न दिएनन् ।
अर्कातर्फ गुरुङ समूह भने यसपटक अघिल्ला निर्वाचनमा जस्तो 'स्मार्ट' देखिएन । यतिसम्म कि मतदानको दिन मंगलबार बिहानसम्म यो समूहको उमेदवार नै निश्चित भएका थिएनन् । अध्यक्षमा पनि दोधार नै थियो । सचिवमा त मान्छे अभाव भएकै कारण राजनीतिक उचाइ पुगिनसकेको व्यक्तिलाई उमेदवार बनाएको भनेर आलोचना समेत भएको थियो ।
जिल्ला अध्यक्षमा गुरुङ पक्षीय मनबहादुर गुरुङ नै थिए । सुरुमा उनले ४० जनामा १ प्रतिनिधि र त्यसपछि प्रत्येक २१ जनामा थप एक प्रतिनिधि ल्याउने गरी सर्कुलर जारी गरे । स्थायी कमिटी सदस्य तथा कास्की इन्चार्ज थममाया थापा पहिलो आधार ४० मान्ने र त्यसपछि पनि थप ४० जनामै अर्को प्रतिनिधि ल्याउने गरी गरेको निर्णय विपरीत भएको भन्दै केन्द्रमै उजुरी दिइन् ।
प्रतिनिधि छनोटमा बखेडा झिक्न खोजेको भन्दै विरोध समेत हुन पुग्यो ।
अधिकारी समूहले हरेक क्लस्टरका प्रतिनिधिलाई सुक्ष्म रूपले हेरिरहँदा गुरुङ समूहले भने पोखरा निर्णायक रहेको र पोखराका बहुसंख्यक प्रतिनिधि आफ्ना हुँदा जितिन्छ भनेर ढुक्कले बस्यो । तर, उपमहासचिव गुरुङ भने चुनाव हारिने बुझेरै केही दिन अघि नै काठमाडौं लागिसकेका थिए ।
यी दुई समूहबीचका आ–आफ्नै दाबीबीच बुधबार साँझ पाँचदिने अधिवेशनको नतिजा निस्केको छ । १६ वटा विद्युतीय मेसिनमार्फत ९१५ जना मतदाताले २० घण्टा लगाएर मतदान गरे ।
अन्तिममा मत परिणाम सार्वजनिक भयो । अध्यक्ष सचिवदेखि पदाधिकारी सबै र सदस्यहरू सबैमा अधिकारी समूहका उमेदवार बैनबहादुर क्षेत्रीको टिमले बाजी मार्यो ।
क्षेत्री ५५१ मत ल्याएर विजयी भए । अर्का नेता गुरुङ निकट उमेदवार माधव बास्तोलाले ३४७ मत ल्याए । क्षेत्री २०४ मतको फराकिलो अन्तरका साथ विजयी भएका हुन् ।
उपाध्यक्षमा भेषराज बराल ५२७ मत, सचिवमा दर्शन लामा ५९५ मत, उपसचिवमा लालबहादुर परियार ५८१ मत र सन्तु सुवेदी ५१० मत ल्याएर विजयी भएका छन् । यी सबै अधिकारी समूहका उमेदवार हुन् ।
गुरुङ समूहबाट उपाध्यक्षका उमेदवार शिव आचार्यले ३८८ मत, सचिव सुरेन्द्र गुरुङले ३२० मत, उपसचिवद्वय राधिका शाही योगी ३४४ र गीता विश्वकर्माले ३३४ मत प्राप्त गरे ।
फराकिलो मत अन्तरसहितको जित र पृथ्वीसुब्बा समूहका उमेदवार निल बन्दा कास्की एमालेमा फेरि अधिकारी फर्किएका छन् । जित्नैपर्ने चुनाव र प्रतिष्ठाको लडाइँ बनेको अधिवेशनले अधिकारीलाई पार्टीको राजनीतिक शक्तिमा पुनरागमन गराएको छ ।