site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
क्रियाशील सदस्यता ‘ब्रिफिङ’बारे गगन– ०७९ मा फारम पठाएको अहिलेसम्म विवरण अपडेट भएन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणसम्बन्धी प्रगति विवरण पेस गरेका छन् । सोमबार (असार १६)देखि सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्री तथा सदस्यता व्यवस्थापन समितिको संयोजक रहेका थापाले नवीकरणमा भएको प्रगतिको अवस्था ‘पावरपोइन्ट’मा प्रस्तुत गरे । 

१४औँ महाधिवेशनमा आठ लाख ७० हजार ८८४ क्रियाशील सदस्यता कायम रहेको भन्दै उक्त सदस्यता नवीकरण भएको विवरण नआएको बताए । “क्रियाशील सदस्यता नवीकरण फारम ०७९ चैत २२ गतेदेखि नै जिल्लामा पठाउन सुरु गरिएको हो,” थापाले बैठकमा भने, “कार्यतालिकासहित नवीकरण अवधि तोकी सिस्टममा इन्ट्री गर्न भनिएकोमा जिल्लाबाट विवरण आउने क्रममा रहेको छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

थापाले यसअघि पटक पटक परिपत्र जारी गरी क्रियाशील सदस्यताको फारम निर्वाचन क्षेत्र र स्थानीय तहमा पठाउन आग्रह गरेका थिए । उनको आग्रह अनुरुप काम नभएपछि केन्द्रीय समितिबाटै निर्णय गरेर क्रियाशील सदस्यता नवीकरण गरी विवरण अपडेट गर्न भनिएको थियो । 

गत माघमा चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरी सिस्टममा अपडेट गर्न र सदस्यता शूल्क विधानले तोकेअनुरुप जिल्ला, प्रदेश र केन्द्रमा पठाउन भनिएको थियो । तर, कार्यान्वयन नभएपछि चैत मसान्तमा १५ दिन म्याद थपेर अर्को परिपत्र भयो । त्यस अवधिमा पनि काम नभएपछि असार मसान्तको म्याद तोकेर अर्को परिपत्र गरिएको छ । 

महामन्त्री थापाले नवीकरणको विवरण आइसकेपछि नयाँ क्रियाशील सदस्यता वितरणका लागि साउन १ मा परिपत्र जारी गर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १८:२६
प्रतिक्रिया दिनुहोस्