site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गृहसचिव भन्छन्– ‘भिजिट भिसा गिरोहलाई संरक्षण गर्ने नेताको नाम बताउन सक्छु’
Sarbottam CementSarbottam Cement

काठमाडौं । भिजिट भिसामा विदेश गएर अलपत्र परेको गुनासो सधैँ सुनिन्छ । एजेन्टले देखाएको राम्रो आम्दानीको प्रलोभनमा परेर नेपालबाट ठूलो संख्यामा भिजिट भिसामा विदेश जाने गरेको पाइन्छ । तर, विदेश पुगेपछि उनीहरू आफू ठगिएको थाहा पाउँछन्, उद्धारका लागि सरकारदेखि संसस्थासम्म गुहार्न थाल्छन् ।

भिजिट भिसामार्फत अनधिकृत रूपमा विदेश पठाउने गिरोहलाई राजनीतिक संरक्षण रहेको निष्कर्ष गृह मन्त्रालयले सुनाएको छ । बुधबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदका प्रश्नमा जवाफ दिने क्रममा गृहसचिव एकनारायण अर्यालले भने, ‘‘भिजिट भिसामा राजनीतिक ब्याक सपोर्ट छ । भिजिट भिसाका गिरोहका संरक्षक राजनीतिज्ञको नाम पनि बताउन सक्छु ।’’

अर्यालले नाम चाहिँ खुलाएनन् । उनले भने, “क–कसको छ, त्यो म पछि भनौँला, व्यक्ति पनि भनौँला । यहाँबाट कोलम्बो लैजाने, दिल्ली लैजाने, दुबई पठाउने र त्यहाँबाट तेस्रो मुलुक पठाउने काम भइरहेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

Rajya-Byabastha-1711548730.jpg
 

यतिमात्र होइन, उनले मानव तस्करको सञ्जाल तोड्ने हो भने नियन्त्रणको निकाय दुबईमा खोल्नुपर्ने बताए । यसका लागि आवश्यक पहल गरिदिन पनि उनले अनुरोध गरे ।

Global Ime bank

समितिमा गृहमन्त्री रवि लामिछाने, गृहसचिव, प्रहरी प्रमुखले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए । दोस्रोपटक गृहमन्त्री भएपछि गृहमन्त्री लामिछाने पहिलोपटक संसदीय समितिमा उपस्थित भएका हुन् । 

रात्रिकालीन व्यवसाय सञ्चालन गर्न काठमाडौंको ठमेल क्षेत्रमा तयारी भइरहेको जानकारी गृह मन्त्रालयले दियो । प्रमुख जिल्ला अधिकारीले सुरक्षा चुनौती र यसका समाधानबारे छलफल चलाइरहेका छन् । पोखरामा भने रात्रिकालीन व्यवसाय सञ्चालनको काम सुरु भइसकेको छ ।

सांसद कृष्णगोपाल श्रेष्ठले रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा आउने चुनौतीका विषयमा प्रश्न उठाएका थिए ।

 

प्रसाईंले आधुनिक हतियार राखेको भन्दै चासो

बैठकमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग भएको हतियार लाइसेन्स र आधुनिक हतियारको विषयमा पनि छलफल भयो । सांसदहरूको प्रश्न थियो, ‘यो प्रकरणले समग्र शान्ति सुरक्षा कता जान्छ ?’

एमालेका सांसद रघुजी पन्तले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियार भेटिनु कत्तिको स्वाभाविक हो भन्दै प्रश्न गरे । उनले अदालत परिसरमा व्यवसायी प्रसाईंको सुरक्षा गार्डबाट हतियार भेटिएको विषय उठाउँदै उपत्यकाको समग्र सुरक्षा संरचनाका बारेमा प्रश्न उठेको बताए ।

उनले यस्ता हतियार कति दिइएको हो त्यसको तथ्यांक सार्वजनिक गर्न पनि माग गरे । “समग्र उपत्यकाको सुरक्षा संरचना र अवस्था कस्तो छ ? अदालतमा दुर्गा प्रसाईंबाट अत्याधुनिक हतियार भेटियो, यो कतिको स्वाभाविक हो ? गलत मान्छेले बोक्दा के हुन्छ ? यो नीतिको समीक्षा हुनुपर्छ,” उनले भने ।
 
उनीबाहेक अन्य सांसदहरूले पनि यो विषयमा प्रश्न उठाए । सांसद कृष्णगोपाल श्रेष्ठले प्रश्न गरे, "दुर्गा प्रसाईंलाई स्वचालित हतियारको सुरक्षा किन चाहियो ?"

उनले रुसको मस्कोमा भएको आतंकवादी हमलाको स्मरण गराउँदै यसलाई सामान्य रूपमा नलिन गृहमन्त्री लामिछानेसँग आग्रह गरे ।

“यो देशमा दुर्गा प्रसाईंजस्तो व्यक्तिलाई स्वचालित हतियारको सुरक्षा किन चाहियो ? राष्ट्रपतिको सुरक्षामा कस्ता हतियार छन् ? स्वयं गृहमन्त्रीको सुरक्षामा त्यस्ता हतियारको प्रयोग भएको छ कि छैन ?,” उनको प्रश्न थियो । 

Raghuji-Panta-1711548728.jpg
 

सांसद श्रेष्ठले प्रसाईंको सुरक्षा गार्डका कारण हतियारको विषय बाहिर आएकाले उनलाई धन्यवाद दिनुपर्ने बताए ।

‘‘व्यक्तिगत सुरक्षाका लागि यस्तो हतियार आवश्यक छ कि छैन ?’’ उनले भने, “गृहमन्त्रीजी, रुसको मस्कोमा भएको हमला सम्झेर यस विषयमा ध्यान दिनुहोला । यो हतियार सर्वाेच्चमा देखिनुको साटो कुनै अप्रिय घटना भएको भए के हुन्थ्यो ?”

जवाफमा गृहसचिव अर्यालले यस्ता हतियार बोक्न नपाइने बताए । हतियार प्रयोगको सन्दर्भमा सरकार गम्भीर रहेको भन्दै उनले सर्वोच्च अदालत परिसरमा हतियार भेटिएको घटना राम्रो नभएको स्वीकार गरे ।

“लाइसेन्स झापाबाट दिइएको छ । एउटा ढंगबाट नवीकरण भएको छ, अर्को ढंगबाट हतियार छ । व्यक्तिको सुरक्षाका लागि अत्याधुनिक हतियार बोक्न पाइँदैन,” उनले भने ।

गृहमन्त्री लामिछानेले पनि प्रसाईंले कानुनले दिएको भन्दा बढी अधिकार प्रयोग गरेको भन्दै यसबारे अध्ययन सुरु गरिसकेको जानकारी दिए ।

‘‘प्रारम्भिक रूपमा कानुनले दिएको भन्दा बढी अधिकार प्रयोग भएको पाइएको छ । हतियारको मालिक एउटा चलाउने अर्काे व्यक्ति भएको पाइएको छ,” उनले भने । 

कांग्रेसको गृहमन्त्रीलाई प्रश्न– सहकारी जोडिएको रवि लामिछाने तपाईं नै हो ?

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्षरूपमा छानबिन गर्न गृहमन्त्री लामिछानेले राजीनामा दिनु राम्रो हुने बताए । उनले ग्यालेक्सी टीभीमा सहकारीको पैसा लगानी भएको र लामिछानेको नाम जोडिएको उल्लेख गर्दै प्रश्न गरे, “हामी त चिन्दैनौँ, हाम्रो गृहमन्त्रीको पनि नाम रवि लामिछाने हो । त्यहाँ लेखिएको नाम पनि तपाईंकै हो ?”

उनले यो विषयमा कांग्रेसले सदनमा पनि कुरा उठाइरहेको भन्दै निष्पक्ष छानबिन निम्ति पद छाड्नु उपयुक्त हुने सुझाव दिए ।

सांसद बडूले सहकारी प्रकरणमा समातिएका आरोपित, छानबिन प्रक्रियाबारे पनि स्पष्ट पार्न माग गरेका थिए ।

Basanta-1711548728.jpg
 

जवाफमा प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले पनि सहकारीसँग जोडिएका गृहमन्त्री लामिछानेको नाम जोडिए पनि कुनै प्रमाण फेला नपरेको र ठाडो उजुरीमात्र परेको जानकारी दिए । 

गृहमन्त्री लामिछानेले पनि आफ्नो  नामबाहेक केही उल्लेख नभएको दाबी गरे । “उजुरीमा मेरो नामबाहेक केही छैन । न हस्ताक्षर, न ल्याप्चे छ । न सामान्य फर्म भरिएको छ । मेरो नामबाहेक केही छैन । अदालतमा दर्ता भएको मुद्दामा म प्रतिवादी छैन । बयानमा पनि मेरो नाम उल्लेख भएको छैन,” उनले भने । 

उनले आफू सरकारमा सहभागी हुनुभन्दा पहिला नै सहकारी प्रकरणमा नाम उल्लेख गरिएको बताउँदै प्रभावित हुने काम नहुने जिकिर लिए ।

जीबी राईको खोजी जारी

समितिको बैठकमा सहकारी प्रकरणमा जोडिएका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गितेन्द्र राई (जीबी राई)को पनि खोजी भयो । 

सांसद पृथ्वी सुब्बा गुरुङले प्रश्न गरे, ‘‘जीबी राई खोइ ? भनी हामीले अघिल्लोपटक सोधेका थियौँ, इन्टर पोलबाट समात्छौँ भनेर अघिल्लो बैठकमा भन्नुभएको थियो, त्यो के भयो ?”

जवाफमा नेपाल प्रहरी प्रमुख आईजीपी कुँवरले जीबी राई मलेसियामा रहेको जानकारी दिए । उनले सहकारी ठगीको मुख्य आरोपित नै जीबी भएको खुलेको जानकारी दिए ।

कुँवरले प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टर पोलमार्फत ‘रेड नोटिस’ जारी हुँदा पनि मलेसिया सरकारको असहयोगका कारण पक्राउ गर्न नसकिएको तर्क गरे ।

Prithvi-Subba-1711548727.jpg
 

विनोद चौधरी सार्वजनिक जग्गा प्रकरणमा पनि बहस 

बैठकमा कांग्रेसका सांसदहरूले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा कांग्रेस सांसद विनोद चौधरीमाथि छानबिनका लागि सभामुखलाई प्रहरीले पत्र लेखेको विषयमा असन्तुष्टि जनाए । उनीहरूले संविधानको कुन व्यवस्थाअनुरूप सांसदको छानबिन गरिँदै छ भनेर पत्र लेखिएको हो भन्नेबारे स्पष्ट पार्न माग गरे ।

सांसद बुद्धिमान तामाङले सांसद विनोद चौधरीको पासपोर्ट किन सिज गर्न लागिएको भन्दै प्रश्न गरे । उनले बालुवाटार प्रकरणमा जग्गा विष्णु पौडेलका छोराले जग्गा फिर्ता गरेको प्रसंग निकाल्दै बाँसबारी जग्गा प्रकरणमा पनि जग्गा फिर्ता भएकाले मुद्दा लाग्छ कि लाग्दैन भनेर प्रश्न गरे । 

“विनोद चौधरीको विषयमा उहाँको पासपोर्ट सिज गर्न भनिएको थियो रे ! कस्तो व्यक्तिको सिज गर्ने ? उहाँ भाग्न सक्ने व्यक्ति हो र ? को कुन लेभल र हैसियतको मान्छे हो भन्ने थाहा छैन सरकारलाई ? कानुनअनुसार कारबाही गर्दा हुँदैन ? किन बेइज्जत गर्न लागिएको हो ?,” तामाङको प्रश्न थियो ।

सांसद दुर्गा राईले पनि जग्गा सरकारको मातहत आएको हो भने विनोद चौधरी कारबाहीको भागिदार हुन्छन् कि हुँदैनन् भनेर प्रश्न गरिन् ।

जवाफमा गृहमन्त्री लामिछानेले ‘पहिला मान्छे थुन्ने र पछि कुरा सुन्ने’ सवाल अन्त्य गरिएको बताए । विनोद चौधरीलाई पनि प्रतिशोध साँध्ने र कानुनभन्दा बाहिर गएर प्रक्रिया अघि बढाउने कुरा सत्य नभएको दाबी गरे ।

Rabi-Lami-1711548730.jpg

'एजेन्डाविहीन' बैठकमा एमालेको आपत्ति 

समितिको बैठक गृहमन्त्रालय र समसामयिक विषयमा छलफल गर्न बोलाइएको थियो । बैठकमा धेरै विषयवस्तु प्रश्नका रूपमा उठे । तर, बैठक एजेन्डाविमुख भएको भन्दै सत्ता साझेदार दल एमाले  सांसदहरूले सभापति रामहरि खतिवडामाथि प्रश्न उठाए ।

उनीहरूले बैठक एजेन्डाविहीन बनाएर बोलाएको भन्दै बैठक राख्ने तरिकामै आपत्ति जनाए । बैठक कसैको रिस पोख्ने थलो नभएको भन्दै एमाले सांसदहरूले अबदेखि समितिको बैठक बोलाउने भए एजेन्डा ‘क्लियर’ गरेर बैठक बोलाउन सभापति खतिवडाको ध्यानाकर्षण गराए । 

एमालेकै अर्का सांसद कृष्णगोपाल श्रेष्ठले समितिको आफ्नै इज्जत र गरिमा हुने उल्लेख गर्दै हलुका तरिकाले बैठक बोलाउने प्रचलन गलत भएको तर्क गरे ।

“समितिको इज्जत र गरिमा हुन्छ यस्तो हलुका भएर नजाऔँ । यसमा सभापतिको ध्यानाकर्षण गराउँछु,” उनले भने ।

‘राष्ट्रसेवक भाँडा माझ्ने काममा लगाउन सकिन्न’

गृहमन्त्री लामिछानेले पूर्व भीआईपीलाई पीएसओ दिन नहुने धारणा व्यक्त गरे । उनले आवश्यक परेमात्र सुरक्षा व्यवस्था गर्न सकिने बताए ।

“सुविधाका नाममा हाम्रा राष्ट्रसेवकलाई भाडा मझाउने, कसैको लुगा धुवाउने र प्रतिष्ठाका लागि अघि पछि हिँडाउने गरी दुरुपयोग हुन दिइन्न,” उनले भने ।

बैठकमा उनले कञ्चनपुरमा पाँच वर्षअघि बलात्कारपछि हत्या भएको निर्मला पन्तको घटनाको अनुसन्धान अझै जारी रहेको जानकारी दिएका छन् । सुरुआती अनुसन्धानमा केही समस्या भएका कारण अनुसन्धान ‘ट्रयाक’बाहिर जाँदा केही समस्या आएको उनको भनाइ छ ।

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC