काठमाडौं । प्राकृतिक कला केन्द्र दाङले दर्शकको अभावमा स्टेज कार्यक्रम रद्द गरेको छ । होलीको पूर्वसन्ध्यामा केन्द्रले अरनिको मैदानमा चैत १० गते कन्सर्ट आयोजना गरेको थियो ।
उक्त कन्सर्टमा अहिले स्टेजमा रुचाइएकी मध्येकी एक कलाकार समीक्षा अधिकारीलाई गाउन बोलाइएको थियो । तर दर्शकको अभावमा आयोजकले उक्त कार्यक्रम नै रद्ध गरेको हो ।
प्राकृतिक कला केन्द्र दाङका अध्यक्ष चोभार पौडेलले बाह्रखरीसँग भने, “हामीले समीक्षा अधिकारीलाई कार्यक्रममा बोलाएका थियौँ । तर दर्शक नआएपछि हामीले कामर्यक्रम रद्ध गर्यौं ।”
के कारणले दर्शक आएनन् त्यो भने आफूलाई जानकारी नभएको उनले बताए । “हामीले कार्यक्रमको प्रचारप्रसार पनि राम्रै गरेका थियौँ । तर किन र के कारणले दर्शक आउनु भएन त्यो त हामीलाई थाहा भएन,” पौडेलले भने ।
उनका अनुसार सय रुपैयाँ कन्टसर्टको प्रवेश शुल्क तोकिएको थियो । “एक सय रुपैयाँ मात्रै टिकट शुल्क रहे पनि २३/२४ वटाभन्दा धेरै टिकट बिक्री भएन । त्यसैले कार्यक्रम गर्न सकिएन ।”