site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिस्पर्धामा फेरि पृथ्वीसुब्बा र खगराज

पोखरा । नेकपा (एमाले) कास्की जिल्ला अधिवेशन शनिबार हुँदै छ । नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा हुने ११औँ जिल्ला अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने र त्यसका लागि सकेसम्म सर्वसम्मतको प्रयास रहने जिल्ला अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए ।

अध्यक्ष गुरुङले सकेसम्म सर्वसम्मत भनिएता पनि कास्की एमालेलाई दुई नेताले प्रतिष्ठाको विषय बनाउने निश्चित छ । गुटबन्दी गर्दैनौँ भनेर भनिरहेता पनि कास्की एमालेभित्र दुईवटा गुटको प्रतिस्पर्धा हुने विषय ‘ओपन सेक्रेट’ नै हो । दुवै गुट अध्यक्ष केपी शर्मा ओलीनिकटकै हुन् ।

एउटा गुटको नेतृत्व एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गर्छन् भने अर्को समूहको नेतृत्वकर्ता चाहिँ संगठन विभागका पूर्वप्रमुख खगराज अधिकारीले गर्छन् । अर्को रोचक संयोग के छ भने यी दुवैजना गण्डकीका पूर्वमुख्यमन्त्री हुन् ।

कास्कीका अधिकारी र लमजुङका गुरुङ बीचको तिक्तता पछिल्लो समय झनै झाँगिएको छ । गत असोजमा भएको प्रदेश कमिटी अधिवेशनलाई दुवै समूहले प्रतिष्ठाको विषय बनाए । यतिसम्म कि अधिकारी पक्षबाट अध्यक्षका उमेदवार भनिएका मायानाथ अधिकारीलाई सघाउन भित्री रूपले एमाले महासचिव शंकर पोखरेल नै लागेका थिए । गोप्य तरिकाले पोखरा आएका उनले मायानाथलाई अध्यक्ष बनाउनका लागि एमाले नेता किरण गुरुङ लगायतलाई फकाउने काम समेत गरेका थिए ।

तर, निर्वाचनपछिको परिणाम सार्वजनिक हुँदा उपमहासचिव पृथ्वीसुब्बा पक्षले लगभग क्लिन स्विप नै गर्‍यो । अध्यक्ष लडेका नवराज शर्मासहित पदाधिकारीदेखि धेरै सदस्यहरूमा गुरुङ पक्षले जित हासिल गर्‍यो ।

Global Ime bank

गुरुङ र अधिकारीको प्रतिस्पर्धा त्योभन्दा अझै अगाडिको हो । जतिबेला पृथ्वीसुब्बा गण्डकीको मुख्यमन्त्री बने, अधिकारी चाहिँ प्रतिनिधीसभा सदस्य जितेर काठमाडौैमा थिए । प्रदेश राजधानी पोखरामा गुरुङले मुख्यमन्त्री भएको बेलामा निकै सक्रियता देखाए । चाहे त्यो महानगर कमिटीको चुनाव होस् वा जिल्लाको । उनको सक्रियताले काम पनि गर्‍यो ।

केही दिन अड्किएपछि २०७८ साल पुस २८ गते मतपरिणाम सार्वजनिक हुँदा कास्की जिल्ला अध्यक्षमा गुरुङ पक्षधर उमेदवार मनबहादुर गुरुङले चुनाव जिते । त्यतिबेला एमालेले चुनाव नगर्न र सहमतिका माध्यमबाट नेतृत्व चुन्न सर्कुलर नै गरेको थियो । उक्त सर्कुलर विपरीत भएको चुनावमा गुरुङ पक्षले अध्यक्ष र उपाध्यक्ष जित्दा अधिकारी पक्षबाट सचिव र उपसचिव निर्वाचित भएका थिए ।

दुई वर्ष अगाडि गृहजिल्लामा पाएको अप्रत्यासित नतिजा यसपटक कुनै हालतमा फर्काउने तयारीमा अधिकारी पक्ष छ । सबै पदाधिकारीको टुंगो नलागेता पनि अध्यक्षमा वर्तमान सचिव बैनबहादुर क्षेत्री यो समूहबाट अध्यक्षको उमेदवार बन्ने पक्का छ । उपसचिव दर्शन लामा सचिवका निर्विरोध उमेदवार हुन् । कुल ९३५ जना प्रतिनिधिले भाग लिने यस चुनावमा जितका लागि कम्तीमा ४६८ मत चाहिन्छ । अधिकारी समूहले यही हप्ता छानिएका ९३५ प्रतिनिधिमध्ये ७० प्रतिशत आफ्ना रहेको दाबी गरेको छ ।

“प्रदेशको चुनावमा हाम्रो क्यालुकेलसनमा प्राविधिक कमजोरी देखिए, हामीले त्यसबाट पाठ सिकेका छौँ । निकै सूक्ष्म तरिकाले प्रतिनिधिहरू आएका छन् । हाम्रो पक्षमा खुलेरै लाग्ने प्रतिनिधि ७० प्रतिशत छन् । चुनाव जितिन्छ, सहमति भए ठिकै छ, होइन भने त हाम्रो प्राथमिकता चुनाव नै हो,” अधिकारी पक्षमा खुलेका एक सदस्यले भने ।

केन्द्रीय सदस्य कृष्णबहादुर थापादेखि बैनबहादुर क्षेत्री, दर्शन लामाले यो समूह अगाडि बढाइरहेका छन् । एमाले गण्डकी संसदीय दलका नेता समेत रहेका अधिकारी भने शुक्रबार काठमाडौं पुगेर पोखरा फर्किएका छन् ।

उपमहासचिव गुरुङ गण्डकीको राजधानी समेत रहेको कास्कीको अधिवेशनमा नआउने कुरै भएन । योे समूहलाई एमाले नेता जगत विश्वकर्मादेखि केन्द्रीय सदस्य भीम कार्की, मीनाकुमारी गुरुङले हाँकिरहेका छन् । दुईवर्ष अगाडि अध्यक्ष र उपाध्यक्ष जितेको यो समूहले अहिले पदाधिकारीदेखि सबै सदस्यलाई जिताउन लागिपरेको छ ।

यो समूहले भने दुईवटा रणनीति अख्तियार गरेको छ, एउटा सर्वसम्मतिमा जाने र आफ्ना मान्छेलाई नेतृत्वमा ल्याउने, दोश्रो चाहिँ निर्वाचनमा जाने आफ्नै मान्छे जिताउने । गुरुङ समूहले यी दुइैवटा रणनीतिलाई म्याग्दी मोडेल र गोरखा मोडेल भन्न रुचाउँछ ।

माघको दोश्रो हप्ता म्याग्दी एमालेको अध्यक्षमा बालकृष्ण सुवेदी सर्वसम्मत भए । म्याग्दीमा गुरुङ निकटका अध्यक्ष मात्र होइन सदस्यमा पनि सबै आफ्नै मान्छे राखे ।

फागुन अन्तिम हप्ता गोरखामा निर्वाचन भयो । तुलनात्मक रूपमा एमाले कमजोर मानिएको गोरखामा अधिकारी पक्षले सर्वसम्मतिमा जाने विषयलाई प्राथमिकतामा राखेका थिए । तर, प्यानल नै बनाएर निर्वाचन भयो । गोरखामा निर्वाचन गराउनुको अर्को पनि कारण छ । पृथ्वीसुब्बा मुख्यमन्त्री हुँदा उनको क्याबिनेटमा भौतिकमन्त्री थिए, गोरखाका रामशरण बस्नेत । आफ्नै क्याबिनेट सदस्यले प्रदेश कमिटीको निर्वाचनसम्म आइपुग्दा भने गुट फेरे, अधिकारी कित्तामा उभिए । त्यसको रिस फेर्न भए पनि र गृहजिल्लामा नै बस्नेतलाई आफ्नो पावर देखाउन पृथ्वीसुब्बा समूह प्यानल बनाएर निर्वाचनमा होमियो ।

अन्ततः के थियो र, अध्यक्ष सुरेन्द्रबहादुर थापादेखि उपाध्यक्षसहित पदाधिकारी र सदस्य सबै गुरुङ समूहले नै क्लिन स्विप गर्‍यो । यी दुईवटा मोडालिटी मध्ये जुनसुकैमा जान आफूहरू तयार रहेको गुरुङपक्षीय नेता बताउँछन् ।

यो समूहबाट एमाले कास्कीका उपाध्यक्ष तेजनाराज अधिकारी र माधव बास्तोला अध्यक्षको लाइनमा छन् । बास्तोला अध्यक्षमा उठेको खण्डमा अधिकारीलाई तत्कालका लागि प्रदेश कमिटीको कार्यालय सचिवदेखि लिएर अर्को निर्वाचनमा प्रदेशसभा सदस्य बनाउनेसम्मका विकल्पबारे छलफल भइरहेका छन् ।

“सकेसम्म सर्वसम्मतिको प्रयास गर्ने हो, नभए चुनावमा नै जाने हो । यस अगाडिका निर्वाचनमा हाम्रो तथ्यांक सटिक थियो । अहिले पनि प्रतिनिधि संख्या हामीले नजिकबाट हेरेका छौँ,” एक नेताले भने ।

अधिकारी समूह अहिलेदेखि नै हतोत्साहित बनिसकेको ती नेताले बताए । एक दृष्टान्त दिँदै उनले भने, “केही दिन अगाडि पोखराका वडाध्यक्षहरूको स्वस्फूर्त भेटघाट थियो । उहाँसँग (खगराज) १७ वडाध्यक्षहरू मात्र उपस्थित भए, अरु आएनन् । पृथ्वीसुब्बालाई चाहिँ रुची थिएन । तर, वडाध्यक्षहरूले बोलाएपछि उहाँ काठमाडौंबाट आउनुभयो, त्यो भेलामा २६ जना वडाध्यक्ष उपस्थित थिए, २÷३ जनाले कामका कारण र स्वास्थ्य कारणले भेट्न नसेकेको बताउनुभयो । यहीँबाट नै प्रष्ट हुन्छ नि ।”

यो मात्र नभएर पालिकादेखि जनसंगठन सबैमा आफ्नो पकड रहेको उनले बताए । अधिकारीको भनिएको रुपादेखि, मादी, पोखरा सबैमा आफ्नै प्रतिनिधि बढी आएको यो समूहको दाबी छ । “अहिलेको जिल्ला कमिटीमा हामी नै बढी छौँ, मजदुर संगठनमा हाम्रै बाहुल्य छ, विद्यार्थीमा चाहिँ अलिकति हाम्रो कम छ,” उनले भने, “प्राकृतिक न्यायको सिद्धान्तअनुसार तेजनारायण अधिकारी पनि बलियो उमेदवार हो, तर वर्तमान परिस्थितिसँग सामना गर्नको लागि माधव बास्तोला पनि उत्तिकै क्षमतावान उमेदवार हो । बन्दसत्र सुरु हुनासाथ हामीले टुंगो लगाउनेछौँ ।”

अधिवेशनमा कास्कीका ७२ वडा, जनसंगठन, सल्लाहकार परिषद्, तीन इलाका कमिटीका शाखा कमिटी, आयोजक कमिटी गरी कुल ९३५ जना प्रतिनिधिको सहभागिता रहने अध्यक्ष मनबहादुरले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  २१:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu