
विराटनगर । त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश कोसी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा जारी प्रतियोगिताको सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशको चुनौतीलाई पाँच विकेटले पन्छाउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको हो ।
आर्मीले यस सिजनमा पिएम कप र केपी आली कप गरी दुईपटक फाइनल खेलिसकेको छ । आर्मी पीएम कपमा पुलिससँग र केपी ओली कपमा मधेस प्रदेशसँग फाइनलमा पराजित भएको थियो ।
टस हारेर ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १६३ रनको योगफल तयार पारेको थियो । सुदूरका नारायण जोशीले आक्रमक ब्याटिङ गर्दै २२ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दै ५९ रन बनाए । उनले १७ बलमा हाफ सेन्चुरी बनाएका छन् । त्यस्तै, किरण ठगुन्नाले ४३ रन बनाए ।
आर्मीका बसिर अहमदले ४ ओभरमा २३ रन दिएर ४ विकेट लिँदा नितेश पटेल ३ विकेट लिए ।
जवाफमा १ ६४ रनको लक्ष्य पछ्याएको आर्मीले बसिर अहमदको अर्ध सतकले १९ दशमलव १ बलमा ५ विकेटको सो विजयी लक्ष्य पार गरेको थियो । आर्मीको जितमा प्लेयर अफ द म्याच वसिर अहमदले २८ बलमा २ छक्का र पाँच चौका प्रहार गरी अविजित ५० रनमा बनाउँदा तृतराज दासले ३८ रन र सन्तोष कार्कीले ३१ रन बनाए ।
सुदूरका दिपक बोहोराले २ विकेट लिँदा हेमन्त धामी र नरेन साउदले १–१ विकेट लिए ।
दोस्रो खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा १८ दशमलव २ बलमा सबै विकेट गुमाएर १५१ रनको स्कोर बनाएको थियो ।
लुम्बिनीका लागि आकाश त्रिपाठीले ३९ बलमा एक छक्का र १० चौका प्रहार गरी ६५ रन बनाउँदा मृनल गुरुङले २२ रन, दिलसाद अलीले १४ रन र कप्तान देव खनालले १२ रनको योगदान दिए ।
कर्णालीका प्लेयर अफ म्याच दिपेन्द्र रावतले ४ ओभरमा ३१ रन दिएर ४ विकेट लिँदा प्रकाश जैसीले ३ विकेट दिवान पुनले २ विकेट लिए ।
जवाफमा १५२ रनको लक्ष्य पाएको कर्णालीले १८ दशमलव ५ बलमा ५ विकेट सो विजयी लक्ष्य भेट्टाएको थियो । कर्णालीका अर्जुन घर्तीले २७ बलमा १ छक्का र ५ चौका प्रहार गरी अविजित ४३ रनको पारी खेले भने दिनेश अधिकारीले २० बलमा ३ छक्का र २ चौका प्रहार गर्दै अविजित ३६ रनको योगदान दिए ।
एक समयमा ११ दशमलव ५ बलमा ७८ रनमा पाँचौँ विकेट गएको थियो । घर्ती र अधिकारीले छैटो विकेटका लागि ४२ बलमा अविजित ७४ रनको सानदार साझेदारी गरे । त्यस्तै, रविन्द्र शाहीले २४ रन र विपिन राउतले १९ रनको योगदान दिए ।
लुम्बिनीका विर मगर, निर्मल गुरुङ, देव खनाल नर सार्की र कृष्ण कार्कीले समान १–१ विकेट लिए ।
फाइनल खेल शनिबार दिउँसो १२ बजे हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।