site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ईयूले युक्रेनलाई सैन्य सहायताका निम्ति पाँच अर्ब युरो दिने
फाइल तस्बिर ।

ब्रसेल्स । युरोपेली संघ (ईयू) युक्रेनलाई सैन्य सहयोगका निम्ति पाँच अर्ब युरो (पाँच अर्ब ४८ करोड अमेरिकी डलर) प्रदान गर्न सहमत भएको अलजजिराले जनाएको छ । यो ईयूले सञ्चालन गरेको सहायता कोषको सुधारको भाग हो ।

युक्रेनको सेना रुसको आक्रमणविरुद्ध लडिरहेकाले सैन्य सहयोग गर्ने कदममा ईयूले युक्रेनलाई विजयी बनाउन हरसम्भव सहयोग गर्ने जनाइएको छ ।

Argakhachi Cement Island Ad

ईयूका विदेश मामिला तथा सुरक्षा नीतिका वरिष्ठ प्रतिनिधि जोसेप बोरेलले भने, “हामी युक्रेन असिस्टेन्स फन्डमा सहमत भएका छौँ । यो फन्डले युक्रेनलाई थप पाँच अर्ब युरोसँगै सैन्य समर्थन बढाउन हामीलाई अनुमति दिन्छ, सन्देश स्पष्ट छ– हामी युक्रेनलाई हरसम्भव सहयोग गर्नेछौँ ।”

अलजजिराका अनुसार, ईयूका २७ सदस्य मुलुकका राजदूतले महिनौँको तर्कवितर्कपछि बुधबार ब्रसेल्समा भएको एक बैठकमा युरोपेली शान्ति सुविधा (ईपीएफ) कोषको समग्र सुधारमा सहमति व्यक्त गरेका छन् । यसमा ईयूका ठूला मुलुक फ्रान्स र जर्मनी बहसको केन्द्रमा थिए ।

ठूलो नगद–फिर्ता योजनाका रूपमा सञ्चालित उक्त कोषले ईयूका सदस्य र अरू मुलुकमा युद्ध सामग्री पठाउन ‘रिफन्ड’ दिनेछ ।

जर्मनी अहिलेसम्म युरोपमा युक्रेनलाई सैन्य सहायता दिने सबैभन्दा ठूलो द्विपक्षीय दाता रहेको छ ।

“यो हाम्रो साझा विजय हासिल गर्न युरोपेली एकता र दृढ संकल्पको अर्को शक्तिशाली र समयसापेक्ष प्रदर्शन हो,” युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले भने, “हामी अर्को ईयू विदेश मामिलाको परिषद् बैठकमा स्वीकृत हुने अन्तिम निर्णयको प्रतीक्षामा छौँ ।” रासस/एएनआई

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्